सन्चो उत्पादन ठप्प, फैसला कार्यान्वयनमा विवाद

शोभा शर्मा / काठमाडौँ, असोज १५ गते । चिसो मौसममा रुघाखोकी, टाउको तथा शरीर दुख्दा प्रयोग गरिने नेपाली उत्पादन ‘सन्चो’ बजारमा परिचित जडीबुटीजन्य उत्पादन हो । सन्चोको माग चौतर्फी राम्रो रहे पनि उत्पादन गर्ने जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड अहिले श्रमिकको सेवा–सुविधासम्बन्धी विवादको चपेटामा छ ।

श्रम अदालतको फैसला कार्यान्वयन, सामाजिक सुरक्षा, चाडपर्व भत्तालगायत सेवा–सुविधाको माग गर्दै मासिक ज्यालादारी श्रमिक आन्दोलनमा उत्रिएपछि असोज ५ गतेदेखि सन्चोको उत्पादन ठप्प भएको हो ।

एकातिर २०८१ चैत १५ गते भएको तत्कालीन राजाबादी आन्दोलनका कारण आगलागीबाट क्षतिग्रस्त संरचना र मेसिन पूर्ण रूपमा पुनःस्थापना भइनसकेको अवस्था छ । अर्कोतिर उत्पादनको मुख्य आधार मानिने श्रमिक नै सेवा–सुविधाको माग लिएर धर्नामा बसेपछि कम्पनीले उत्पादन निरन्तरताको अर्को चुनौती सामना गर्नुपरेको छ ।

नेपाल सरकारको स्वामित्वमा रहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले जडीबुटी तथा सुगन्धित वनस्पतिको उत्पादन, सङ्कलन र प्रशोधन गरी विभिन्न वस्तु बजारमा पठाउँदैआएको छ । सन्चोसहित सन्चो बाम, हिमालयन मसाज आयल, जटा केश तेल, शिलाजितलगायत उत्पादन कम्पनीका प्रमुख उत्पादनमा पर्छन् । सन्चो कम्पनीको सबैभन्दा चिनिएको उत्पादनमध्ये यो एक हो ।

फैसला कार्यान्वयनमा विवाद

आन्दोलनरत श्रमिक सजना नेपालका अनुसार अहिलेको विवाद एकाएक सिर्जना भएको होइन । सेवा–सुविधाको विषयमा लामो समयदेखि कम्पनी व्यवस्थापनसँग छलफल तथा पत्राचार हुँदैआएको र अन्ततः श्रम कार्यालय तथा श्रम अदालतसम्म पुगेको बताउनुभएको छ ।

श्रमिकले पाउनुपर्ने सेवा–सुविधाको विषयमा श्रम तथा रोजगार कार्यालयमा उजुरी गरेपछि २०८० जेठ ४ गते श्रमिकको पक्षमा निर्णय भएको थियो । त्यसविरुद्ध व्यवस्थापन श्रम अदालत पुगेको र श्रम अदालतले पनि २०८१ जेठमा श्रमिककै पक्षमा फैसला गरेको नेपालको भनाइ छ ।

“हाम्रो माग आजबाट उठेको होइन, २०७७ सालदेखि नै सेवा–सुविधाको विषय उठाउँदै आएका छौँ । श्रम कार्यालय हुँदै अदालतसम्म पुग्यौँ । अदालतबाट पनि हाम्रो पक्षमा फैसला भयो । तर सबै सुविधा कार्यान्वयन भएन” सजना नेपालले भन्नुभयो ।

जीवनको लामो समय यही कम्पनीमा श्रम र पसिना बगाएका फरक क्षमता भएका जानुका नेपाल र हेमा घिमिरे पनि अहिले सेवा–सुविधाको माग लिएर आन्दोलनमा हुनुहुन्छ । वर्षौदेखि कम्पनीको उत्पादनमा योगदान गर्दैआएका उहाँहरूले आफूले दिएको श्रमअनुसार पाउनुपर्ने अधिकार र सुविधा सुनिश्चित हुनुपर्ने माग राख्नुभएको छ ।

श्रमिक मुकुन्द अर्यालका अनुसार न्यूनतम पारिश्रमिकसम्बन्धी केही विषय कार्यान्वयन भए पनि सामाजिक सुरक्षा, सञ्चय कोष, उपदान, बिरामी तथा प्रसूति बिदा, चाडपर्व भत्तालगायत विषय बाँकी छन् ।

कालोपट्टीदेखि धर्नासम्म

माग सम्बोधन नभएपछि श्रमिकले आन्दोलनको चरण बढाउँदै लगेका छन् । भदौ २४ गतेदेखि कालोपट्टी बाँधेर विरोध सुरु गरेका उनीहरूले माग पूरा नभएपछि असोज ५ गतेदेखि श्रमिक धर्नामा बस्दैआएको अर्यालले जानकारी दिनुभयो ।

अर्यालका अनुसार आन्दोलन सुरु गर्नुअघि कम्पनी व्यवस्थापनलाई माग पूरा गर्न पत्रसमेत दिएको जनाउनुभयो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सम्बन्धित मन्त्रालय र श्रम तथा रोजगार कार्यालयलाई समेत विषयबारे जानकारी गराएका थियांै, अर्यालले भन्नुभयो ।

आन्दोलनमा करिब ३० देखि ३२ जना मासिक ज्यालादारी श्रमिक अधिकांश महिला हुनुहुन्छ । धेरैले लामो समयदेखि कम्पनीमा काम गर्दैआएको बताउनुभएको छ ।

पहिले चाडपर्व खर्च

आफूहरूको उद्देश्य कम्पनीको उत्पादन बन्द गराउनु नभएको उहाँहरुको भनाइ छ । उनीहरूले तत्काल सबै माग एकै पटक पूरा गर्न कठिन भए पनि चाडपर्वको खर्च उपलब्ध गराएर आफूहरूलाई काममा फर्काउने वातावरण बनाउनुपर्ने प्रस्ताव राखेका छन् ।

“सबै कुरा तत्काल कार्यान्वयन गर्न गाह्रो छ भने पनि चाडपर्व खर्च दिएर हामीलाई काममा फर्काउने वातावरण बनाइदिनुस् भनेका छौँ । बाँकी सेवा–सुविधाका विषयमा छलफल गर्दै जान सकिन्छ” नेपालले भन्नुभयो ।

कम्पनी जलेपछि पनि काम रोकेनौं

आन्दोलनको समयमा कम्पनीमा भएको आगलागीबाट भवन, सवारीसाधन, मेसिन तथा उत्पादन सामग्रीमा ठुलो क्षति पुगेपछि कम्पनी पुनः स्थापनाको चरणमा छ ।

आगलागीपछि कम्पनीले सीमित संरचना र उपलब्ध स्रोत प्रयोग गरेर सन्चो उत्पादन पुनः सुरु गरेको थियो । क्षतिग्रस्त स्वचालित मेसिनका कारण केही समय हाते प्रविधिबाट सन्चो भर्ने र प्याकिङ गर्ने कामसमेत गरेको बिदुर पोख्रेलले बताउनुभयो ।

“कम्पनी जलेपछि हामीले काम छाडेका होइनौँ । सीमित ठाउँमा बसेर पनि उत्पादनमा सहयोग गरेका छौं । अहिलेको माग भने त्यसअघि देखिकै हो” पोख्रलले भन्नुभयो ।

‘सन्चो’ बन्ने प्रक्रिया

सन्चोको बजार परिचय यसको उत्पादन प्रक्रियासँग पनि जोडिएको छ । कम्पनीका सूचना अधिकारी धर्मलाल नेपालका अनुसार सन्चो उत्पादनमा पुदिना, सिताफूल, बाबरी फूल, कागती घाँस, सिट्रोनेला र पाल्मारोजालगायत सुगन्धित तथा जडीबुटीजन्य वनस्पतिबाट प्राप्त तेल प्रयोग हुन्छ ।

सूचना अधिकारी नेपालका अनुसार नेपालमा सन्चो उत्पादन सुरु हुनुअघि यस्तै प्रकृतिको चिनियाँ उत्पादन ‘सुई चो याओ’ बजारमा प्रयोग हुनेगरेको थियो । नेपालमै उपलब्ध जडीबुटीबाट त्यस्तो उत्पादन गर्न सकिने सम्भावनालाई आधार बनाएर स्वदेशी उत्पादन विकास गरिएको उहाँको भनाइ छ ।

कम्पनीको उत्पादन प्रक्रियामा जडीबुटीको खेतीदेखि तेल निकाल्ने, मिश्रण तयार गर्ने, बोतलमा भर्ने र बजारमा पठाउनेसम्मका विभिन्न चरण छन् । सन्चोको सानो प्याकमा निश्चित मात्रा भर्नुपर्ने भएकाले त्यसका लागि विशेष फिलिङ उपकरण आवश्यक पर्ने नेपालले बताउनुभयो ।

कम्पनीले अहिले ५ मिलिलिटर र १० मिलिलिटरका सन्चो बजारमा पठाउँदै आएको छ । आधुनिक स्वचालित प्रविधिबाट उत्पादन तथा प्याकिङ विस्तार गर्ने तयारी भइरहेको अवस्थामा आगलागीले मेसिनमा क्षति पुगेपछि उत्पादन प्रक्रियामा पुनः पुरानो प्रविधिको भर पर्नुपरेको नेपालको भनाइ छ ।

कारखानासम्मको शृङ्खला

सन्चो उत्पादनको कच्चा पदार्थ कम्पनीको आफ्नै फार्म, खेती तथा किसानबाट प्राप्त हुने गरेको कम्पनीले जनाएको छ । बारा तामागढीमा कम्पनीको ठुलो कृषि क्षेत्र रहेको छ । कैलाली लगायतका क्षेत्रमा किसानसँग सहकार्य गरेर जडीबुटी उत्पादन गरिँदैआएको सूचना अधिकारी नेपालले बताउनुभयो ।

कम्पनीले आफ्नै उत्पादनलाई प्राथमिकता दिने र आवश्यकताअनुसार मात्र किसानबाट कच्चा पदार्थ खरिद गर्ने गरेको उहाँको भनाइ छ । यसले सन्चोको उत्पादनलाई केवल कारखाना भित्रको गतिविधि नभइ किसान, कच्चा पदार्थ, प्रशोधन, श्रमिक र बजार जोडिएको विस्तृत शृङ्खलाका रूपमा देखाउने नेपालले बताउनुभयो ।

उत्पादन रोकिँदा जोखिम

सन्चोको बजार माग अहिले पनि धेरै राम्रो छ । पछिल्लो दुई महिनामा करिब चार करोड रुपियाँ बराबरको सन्चो बिक्री भएको छ ।

बिक्री तथा बजार व्यवस्थापनका सम्बन्धमा सूचना प्रविधि अधिकारी एवं बिक्री विभागका कार्यवाहक धनसिंह साउँदका अनुसार काठमाडौँ उपत्यका प्रमुख बजार हो । त्यसपछि कोशी, पोखरा तथा अन्य प्रमुख सहरमा सन्चोको बिक्री हुँदैआएको बताउनुभयो ।

साउँदका अनुसार बजारमा माग कायम रहेकाले उत्पादन नियमित हुनु आवश्यक छ । अहिले मौज्दातका कारण तत्काल अभाव नदेखिए पनि उत्पादन लामो समय रोकिए आपूर्ति व्यवस्थापनमा असर पर्न सक्छ ।

क्षमताभन्दा कम उत्पादन

कम्पनीका अनुसार सन्चोको वार्षिक उत्पादन क्षमता करिब ५५ लाख पिसको हाराहारीमा छ । तर वास्तविक उत्पादन लक्ष्यभन्दा कम रहँदैआएको छ । पछिल्लो आर्थिक वर्षमा करिब ३५ लाख पिस उत्पादन भएको कम्पनीका अधिकारीहरुको भनाइ छ ।

आगलागीबाट स्वचालित मेसिनमा क्षति पुगेपछि उत्पादन क्षमता झन् प्रभावित भएको र मेसिन पुनःस्थापनासँगै उत्पादन बढाउने तयारी भइरहेका बेला श्रमिक आन्दोलन सुरु भएपछि कम्पनीले अर्को अवरोध सामना गर्नुपरेको सूचना अधिकारी नेपालले बताउनुभयोे ।

अधिकार र उत्पादन दुवैको प्रश्न

“जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको अहिलेको अवस्था हेर्दा एउटा सरकारी संस्थाले एकै पटक सामना गरिरहेका धेरै तहका चुनौती देखिन्छन् । एकातिर आगलागीबाट भएको क्षति पुनःस्थापना गर्नुपर्ने अवस्था छ । अर्कोतिर बजारमा स्थापित ब्रान्ड सन्चोको मागअनुसार उत्पादन बढाउनुपर्ने दबाब छ ।

त्यसमाथि लामो समयदेखि रहेको श्रमिक सेवा–सुविधाको विवाद अदालतसम्म पुगेर पनि समाधान हुन नसक्दा उत्पादनमै असर परेको छ” सूचना अधिकारी नेपाले भन्नुभयो ।

साउदका अनुसार श्रमिकहरू आफ्नो कानुनी अधिकार कार्यान्वयनको मागमा छन् । व्यवस्थापन कम्पनीको कानुनी तथा संस्थागत सीमाभित्र समाधान खोज्नुपर्ने बताइरहेको छ । बिक्री विभाग भने उत्पादन रोकिँदा बजारमा दीर्घकालीन असर पर्नसक्ने अवस्थातर्फ संकेत गरिरहेको छ ।

यस अवस्थामा विवाद समाधानको प्रश्न केवल श्रमिकलाई काममा फर्काउने विषयमा मात्र सीमित छैन, अदालतको फैसला, श्रम कानुन, कम्पनीको संस्थागत व्यवस्था र सरकारी स्वामित्वको सार्वजनिक संस्थानको उत्पादन निरन्तरताबिच स्पष्ट निकास खोज्नु आवश्यक देखिएको साउदले बताउनुभयो ।

“उत्पादनको आधार मानिने श्रमिकको सेवा–सुविधासम्बन्धी विवाद समाधान नभएसम्म कम्पनीले पुरानो लय समात्न कठिन हुने देखिन्छ ।”

“अहिले जडीबुटी कम्पनीसामु प्रश्न केवल ‘सन्चो कहिले नियमित उत्पादन हुन्छ ?’ भन्ने मात्र छैन । दशकौँदेखि कम्पनीमा काम गरिरहेका श्रमिकको अधिकार र सरकारी कम्पनीको उत्पादन निरन्तरतालाई एउटै समाधानबाट कसरी सुनिश्चित गर्ने ? भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण बनेको छ” साउदले बताउनुभयो ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter