कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना सुरु

काठमाडौँ, असोज २४ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदका उम्मेदवारको मतगणना शनिबार साँझदेखि सुरु भएको छ ।

निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार खुला उपसभापति र महामन्त्री पदका उम्मेदवारको मतगणना शनिबार बेलुकी साढे ७ बजेदेखि सुरु भएको हो ।

यसअघि निर्वाचन समितिले उपसभापति र महामन्त्री पदका उम्मेदवारहरूसँग छलफल गरेको थियो । छलफलपछि मतगणनाका लागि उम्मेदवारहरूकै रोहबरमा मतपेटिका खोलिएको थियो ।

निर्वाचन समिति सदस्य सचिव राजु कटुवालका अनुसार उपसभापति र महामन्त्री पदको मतगणना पार्टीको केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ । मतगणना स्थलमा सीसी क्यामेरा जडान गर्नुका साथै मतगणनामा सहभागी हुने प्रतिनिधिहरूको नाम सङ्कलन गरेपछि गणना सुरु गरिएको हो ।

यसअघि शुक्रबार राति मतदान सकिएलगत्तै सभापति पदको मतगणना गरिएको थियो । सभापतिमा गगनकुमार थापाले श्यामकृष्ण खड्गीलाई पराजित गर्नुभएको थियो । थापाले कुल मतको झण्डै ९४ प्रतिशत प्राप्त गर्नुभएको थियो ।

नवनिर्वाचित सभापति थापाले शनिबार पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै सभापति पदका प्रतिस्पर्धी खड्गीसहित आगामी मतगणनामा पराजित हुने सबै उम्मेदवारलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पार्टीभित्र धेरै जिम्मेवारी बहन गर्नुपर्ने भएकाले कोही पनि जिम्मेवारीबाट उम्कन नपाउने उल्लेख गर्दै उहाँले निर्वाचनको परिणामले क्षणिक रूपमा जित र हार देखाए पनि पार्टीप्रतिको जिम्मेवारी र भूमिकाका हिसाबले सबैको उत्तिकै महत्त्व हुने बताउनुभयो ।

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापति पुष्पा भुसाललाई साथमा राखेर उहाँले पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउन सबैको भूमिका महत्त्वपूर्ण हुने विश्वाससमेत दिलाउनुभएको थियो ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter