बाढीपछि थलिएको नेपालको पर्यटन क्षेत्र बिस्तारै तङ्ग्रिदै

विवेक रेग्मी / काठमाडौँ, असोज २५ गते । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि थलिएको नेपालको पर्यटन क्षेत्र पछिल्लो केही साता यता केही हदसम्म सुधार देखिएको छ । बाढीपछि नेपाल नै असुरक्षित रहेको भन्ने गलत सन्देशका कारण पर्यटन क्षेत्र थला परेको थियो ।

पछिल्लो केही साता यता भने बाह्य पर्यटक पनि उल्लेख्य मात्रामा बढ्दैगएका छन् । यद्यपि, अपेक्षित गतिमा पर्यटकको सङ्ख्या बढ्न नसकेको पर्यटन व्यवसायीहरू बताउँछन् । खासगरी नेपालमा असोजदेखि मङ्सिर (सेप्टेम्बरदेखि नोभेम्बर) सम्म बाह्य पर्यटक आउने मुख्य सिजन हो ।

यस समयमा विशेषगरी बाह्य पर्यटकहरू हिमाल आरोहण, पदयात्रा र घुमघामका लागि रुचाउँछन् । सफा मौसम र उपयुक्त हावापानीका कारण यो समयमा पर्यटकको आकर्षण हुने गरेको छ । जसकारण बाह्य पर्यटकहरू नेपाल आउन रुचाउने भए पनि भोटेकोशी बाढीको प्रभावपछि पर्यटन क्षेत्र चलायमान बनाउन निकै सकस परेको पर्यटन व्यवसायी दीपक थापा बताउनुहुन्छ ।

भोटेकोशीमा आएको बाढीपछि सामाजिक सञ्जालमा फैलिएको नकारात्मक प्रचारले नेपालको पर्यटन क्षेत्र प्रभावित भएको उहाँले बताउनुभयो । उहाँका अनुसार बाढीका कारण सडक यातायात अवरुद्ध हुनुका साथै आन्तरिक हवाई उडानमा अत्यधिक हवाई भाडा वृद्धिले पर्यटकलाई थप आर्थिक भार पारेको छ ।

“अन्तर्राष्ट्रिय पर्यटक आगमनमा करिब ३० प्रतिशतले गिरावट आएको महसुस गरेका छौँ” उहाँले भन्नुभयो, “बाढीपछि नेपालको पर्यटन क्षेत्र असुरक्षित रहेको सन्देश फैलिँदा व्यवसायमा असर परेको छ । पुष्टि नभएका समाचार र अफवाहले समग्र पर्यटन क्षेत्रलाई नै नकारात्मक असर पार्ने गरेको छ ।”

बाढीपछि पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रभाव केही हदसम्म सुधार हुँदैगएको उल्लेख गर्दै उहाँले पर्यटन व्यवसायलाई पुनः चलायमान बनाउन सकारात्मक सन्देश प्रवाह र विश्वसनीय सूचना सम्प्रेषणमा जोड दिनुपर्ने बताउनुभयो । “बाढी आउनुअघि पर्यटन बजार राम्रो थियो । अहिले महँगीका कारण पनि व्यवसायमा समस्या भइरहेको छ” उहाँले भन्नुभयो, “बाढीपछि नेपालको पर्यटनबारे नकारात्मक छाप परेको छ । त्यसलाई चिर्न नेपाल सुरक्षित छ भन्ने सन्देशसहित सकारात्मक प्रचार-प्रसार आवश्यक छ ।”

पछिल्लो केही सातायता पर्यटन क्षेत्रमा केही चलायमान भए पनि अपेक्षित नरहेको उहाँको भनाइ छ। उहाँले थप्नुभयो, “बाढीपछि जसरी नकारात्मक छाप पर्‍यो, पछिल्लो समय केही हदसम्म भए पनि सुधार भएको छ ।”

पर्यटन व्यवसायी नारायण पौडेलले गत वर्षको तुलनामा यस वर्ष नेपालमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन करिब ४० प्रतिशतले घटेको बताउनुभयो । भोटेकोशीमा आएको बाढी, सडक यात्रा प्रभावित र नेपालको पर्यटनबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका नकारात्मक समाचारले पर्यटक आगमन प्रभावित भएको उहाँले बताउनुभयो ।

पौडेलका अनुसार घुमफिरका लागि आउने पर्यटकसँगै व्यावसायिक प्रयोजनले यात्रा गर्ने पर्यटकको सङ्ख्यामा समेत कमी आएको छ । काठमाडौं र पोखराजस्ता प्रमुख पर्यटकीय गन्तव्यमा पनि यसको प्रभाव देखिएको उहाँको भनाइ छ ।

“डिजिटल माध्यममा जे देखियो, पर्यटकले नेपाललाई त्यही रूपमा बुझ्ने अवस्था बन्यो । नेपाल सुरक्षित छ र घुम्न आउन सकिन्छ भन्ने सन्देश प्रभावकारी रूपमा प्रवाह गर्न आवश्यक देखिन्छ” उहाँले भन्नुभयो ।

खासगरी २०८२ चैत १३ गते वालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हालेपछि तीन महिना (वैशाख, जेठ र असार) मा चिनियाँ र भारतीय पर्यटकको आगमन बढेको उहाँले बताउनुभयो । तर, पछिल्लो समय नकारात्मक प्रचारका कारण पर्यटन क्षेत्र प्रभावित भएको पौडेलको भनाइ छ ।

“एउटा स्थानमा भएको विपद्लाई आधार बनाएर समग्र नेपाल नै असुरक्षित रहेको सन्देश फैलाउनु उचित हुँदैन” उहाँले भन्नुभयो, “पर्यटन प्रवर्धनका लागि सरकारले प्रभावकारी प्लेटफर्म निर्माण गरी पर्यटकीय गन्तव्यको प्रचार-प्रसार गर्नुपर्छ ।”

आन्तरिक तथा बाह्य पर्यटन व्यवसायीबिच सहकार्य बढाएर नेपाल सुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय स्तरसम्म पर्‍याउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “पर्यटकीय क्षेत्रको वास्तविक अवस्था प्रस्तुत गर्दै नकारात्मक प्रचारलाई चिर्न सके मात्रै पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउन सकिन्छ ।”

नेपालमा विशेष गरी वसन्त र शरद ऋतुमा पर्यटकको आगमन हुन्छ । नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक एवम् सूचना अधिकारी सन्तोष पन्तले गत वर्षको तुलनामा यस वर्ष सेप्टेम्बर महिनामा नेपाल भित्रिने पर्यटकको सङ्ख्या १० हजारले बढेको बताउनुभयो ।

“पर्यटन क्षेत्रको वास्तविक अवस्था विश्लेषण गर्न एक महिनाको समग्र तथ्याङ्कसँगै दैनिक पर्यटक आगमनको प्रवाहलाई समेत हेर्नुपर्ने हुन्छ,” पन्तले गोरखापत्रसँग भन्नुभयो, “दैनिक रूपमा पर्यटक आगमनको अवस्थाको विश्लेषण गर्दा पर्यटन बजारको उतारचढाव र प्रवृत्ति बुझ्न सकिन्छ । अघिल्लो वर्ष सेप्टेम्बर महिनाको तुलनामा यस वर्ष दश हजारभन्दा बढीले बाह्य पर्यटकको आगमन भएको छ ।”

कहिले कति पर्यटक आए ?

सन् २०२६ को सेप्टेम्बर महिनामा सार्क मुलुकबाट ३० हजार ८५, एसिया (सार्क बाहेक) बाट १९ हजार ८८८, युरोपबाट १५ हजार १४८, अमेरिकाबाट १० हजार १०७, ओसिनियाबाट ५ हजार ४२२, मध्य पूर्वबाट २ हजार ६०६, अफ्रिकाबाट ४२४ र अन्य देशहरूबाट ४ हजार ५६८ जना गरी कूल ८८ हजार २४८ जना बाह्य पर्यटक नेपाल भित्रिएका छन् ।

अघिल्लो वर्ष अर्थात् सन् २०२५ को सेप्टेम्बर महिनामा भने कूल ७८ हजार ७११ जना पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डको तथ्याङ्कमा उल्लेख छ । जसमध्ये सार्क मुलुकबाट २४ हजार २८५, एसिया (सार्क बाहेक) बाट १२ हजार ५९०, युरोपबाट १६ हजार ५९७, अमेरिकाबाट ११ हजार ५२३, ओसिनियाबाट ७ हजार ३१४, मध्य पूर्वबाट २ हजार ३२८, अफ्रिकाबाट ३४४ र अन्य देशहरूबाट ३ हजार ७३० जना पर्यटक नेपाल भित्रिएका छन् ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter