दुई महिनामा सवा तीन खर्ब नाघ्यो व्यापार घाटा; दुई महिनामा २३ प्रतिशतले बढ्यो रेमिट्यान्स, ४ खर्ब ३६ अर्ब पुग्यो; बढ्यो महँगी

काठमाडौं, असोज २८ गते । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको वैदेशिक व्यापारमा आयात र निर्यात दुवैतर्फ उल्लेख्य वृद्धि देखिएको छ। निर्यातमा उच्च वृद्धि भए पनि आयातको परिमाण निकै ठूलो हुँदा व्यापार घाटा २६ प्रतिशतले बढेर रु. ३ खर्ब २४ अर्ब ९३ करोड पुगेको छ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको दुई महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा ८.६ प्रतिशतले मात्र बढेको थियो।

समीक्षा अवधिमा नेपालको कुल वस्तु निर्यात ६१.९ प्रतिशतले वृद्धि भई रु. ७६ अर्ब ५९ करोड पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यात ८८.६ प्रतिशतले बढेको थियो। गन्तव्यका आधारमा भारततर्फको निर्यात ७०.६ प्रतिशत, चीनतर्फको १३७.६ प्रतिशत र अन्य मुलुकतर्फको निर्यात २२.७ प्रतिशतले वृद्धि भएको छ।

वस्तुगत रूपमा भटमासको तेल, पोलिष्टर धागो, पाम तेल, जिंक सिट र पार्टिकल बोर्डलगायतका वस्तुको निर्यात बढेको छ भने आयुर्वेदिक औषधि, प्रशोधित छाला, दाल, नेपाली कागज तथा जडीबुटीको निर्यातमा गिरावट आएको छ।

निर्यातसँगै मुलुकमा हुने वस्तु आयात पनि ३१.६ प्रतिशतले वृद्धि भई रु. ४ खर्ब १ अर्ब ५२ करोड पुगेको छ। गत वर्षको सोही अवधिमा आयात १६.२ प्रतिशतले मात्र बढेको थियो। मुलुकगत आधारमा भारतबाट हुने आयात २७.४ प्रतिशत, चीनबाट १७.२ प्रतिशत र अन्य मुलुकबाट ५६.६ प्रतिशतले बढेको छ।

यस अवधिमा पेट्रोलियम पदार्थ, रासायनिक मल, कच्चा भटमासको तेल, खाने तेल र सवारी साधन तथा स्पेयर पार्टपुर्जाको आयात बढेको छ भने सुन, धान-चामल, हवाइजहाजका पार्टपुर्जा तथा मेडिकल सामानको आयात घटेको छ।

दुई महिनामा २३ प्रतिशतले बढ्यो रेमिट्यान्स, ४ खर्ब ३६ अर्ब पुग्यो

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पठाउने विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनअनुसार भदौ मसान्तसम्ममा विप्रेषण आप्रवाह २३.९ प्रतिशतले बढेर रु. ४ खर्ब ३६ अर्ब ३६ करोड पुगेको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भएको थियो। मासिक आधारमा हेर्दा चालु आर्थिक वर्षको भदौ महिनामा मात्रै रु. २ खर्ब २१ अर्ब ३१ करोड बराबरको रेमिट्यान्स भित्रिएको छ। गत आर्थिक वर्षको भदौ महिनामा रु. १ खर्ब ७४ अर्ब ६७ करोड रेमिट्यान्स मुलुकमा आएको थियो।

अमेरिकी डलरमा समेत रेमिट्यान्स आप्रवाहमा राम्रो सुधार देखिएको छ। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.५ प्रतिशतले बढेर २ अर्ब ८५ करोड डलर पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह २७.६ प्रतिशतले बढेको थियो। विप्रेषणमा भएको वृद्धिसँगै समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु. ४ खर्ब ६९ अर्ब ४४ करोड पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा रु. ३ खर्ब ८४ अर्ब ८८ करोड रहेको थियो।

यसैबीच, वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्यामा भने केही गिरावट आएको छ । तर पुनः श्रम स्वीकृति लिनेको संख्या बढेको छ। राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको दुई महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ७८ हजार ३२० रहेको छ, जुन गत वर्षको सोही अवधिमा ९० हजार १९८ थियो।

त्यस्तै, सोही अवधिमा पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या भने बढेर ५२ हजार १६३ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४५ हजार ८८४ रहेको थियो।

बढ्यो महँगी

चालु आर्थिक वर्षको भदौमा महँगी दर (उपभोक्ता मुद्रास्फीति ) ६.३४ प्रतिशत कायम भएको छ । साउन महिनामा यस्तो मूल्यवृद्धि ५.९६ प्रतिशत थियो । गत आर्थिक वर्षको भदौ महिनामा उपभोक्ता मुद्रास्फीति जम्मा १.८७ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन र भदौमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.५४ प्रतिशत रहेको छ भने गैरखाद्य तथा सेवा समूहको ५.६९ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि १.३४ प्रतिशतले ऋणात्मक रहेको थियो भने गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ३.७० प्रतिशत थियो ।

चालु आर्थिक वर्षको भदौमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १६.६८ प्रतिशत, फलफूलको १५.९९ प्रतिशत, चिनी तथा चिनीजन्य पदार्थको १२.१४ प्रतिशत, माछा तथा मासुको ७.३४ प्रतिशत, तरकारीको ७.०७ प्रतिशत र मरमसलाको ६.७१ प्रतिशतले बढेको छ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter