पूजा कोठा एवं दसैँ घरमा भित्र्याइयो फूलपाती

काठमाडौँ, असोज ३१ गते । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न पूजाकोठा एवं दसैँ घरमा स्थापना गरिएको नवदुर्गा स्थलमा फूलपाती भित्र्याइएको छ ।

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको हो । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।

नवपत्रिकाको नामलेसमेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने समितिका अध्यक्ष सह प्रा डा पुरुषोत्तम भट्टराईले बताए ।

हनुमानढोकाको दसैँ घरमा भित्र्याइयो फूलपाती

यसैगरी राज्यका तर्फबाट नवदुर्गाको पूजा आराधना हुने हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दसैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले जानकारी दिइन् ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, नेपाली सेनाको गुर्जुको पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याइएको हो । यसवर्ष शार्दूलजङ्ग गुल्म, नागार्जुनबाट आएको सशस्त्र प्रहरीको समूह, मङ्गल धुन गाउने मङ्गलिनी समूहको पनि सहभागिता रहेको उनले बताइन् ।

हनुमानढोका दरबारको नासलचोकमा पूजा, मूल चोकमा बलिसहित पूजा गरेपछि दसैँ घरमा फूलपाती भित्र्याइएको हो । राजतन्त्र रहुञ्जेलसम्म हनुमानढोका दरबारको दसैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्रको स्थापनापछि भने कहिले संस्कृतिमन्त्री त कहिले सचिव उपस्थित हुने गरेकामा यसवर्ष मन्त्री र सचिव उपत्यका बाहिर रहेकाले मन्त्रालयको संस्कृति महाशाखा प्रमुख सौभाग्य प्रधानागङलगायत अधिकारीहरूको सहभागिता रहेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ ।

हनुमानढोकामा भित्र्याउन आज बिहानको साइतमा गोरखाबाट फूलपाती काठमाडौँ ल्याइएको थियो । नेपाल एकीकरणपछि पृथ्वीनारायण शाहले हनुमानढोका दरबारबाट राजकाज सुरु गरेपछि गोरखाबाट फूलपाती ल्याई भित्र्याउने गरिएको हो ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीको महान् चाड दसैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गरेको छ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा भएकाले विभिन्न पेसा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रुपमा टीका थाप्न आ–आफ्नो घर फर्कने क्रम अझ तीव्र भएको छ ।

फलस्वरुप नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटाहरूमा हालिने लिङ्गे पिङ र रोटेपिङले दसैँको रौनकतालाई अझ बढाउने गर्दछ । बजारमा आज पनि किनमेल गर्नेको भीड देखिन्छ । विशेषगरी खाद्यसामग्री र कपडा, जुत्ता, चप्पलका पसलमा मानिसको भीड छ । रासस

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter