राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित; कात्तिक १७ र १८ गते सञ्चालन हुने

काठमाडौं, कात्तिक १ गते । नेपाल सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि वितरण कार्यक्रमअन्तर्गत यस वर्षको पहिलो चरणको कार्यक्रम आउँदो कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ।
विगतका वर्षहरूमा पहिलो चरणको कार्यक्रम कात्तिक २ र ३ गते सञ्चालन हुँदै आएको भए तापनि यस वर्ष सो समयमा बडादसैँको सार्वजनिक बिदा परेकाले कार्यक्रमको मिति परिवर्तन गरी कात्तिक १७ र १८ गते तोकिएको हो। सरकारले हरेक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ, जसअन्तर्गत दोस्रो चरणको औषधि वितरण भने वैशाख ६ र ७ गते हुने गरेको छ ।
यस कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ।
बालस्वास्थ्य रक्षा तथा कुपोषण र अन्य स्वास्थ्य जटिलताबाट बचाउन यो कार्यक्रम अत्यन्तै महत्त्वपूर्ण रहेकाले तोकिएको मितिमा आफ्ना बालबालिकालाई नजिकैको औषधि खुवाउने केन्द्र (वितरण केन्द्र) मा लगेर अनिवार्य रूपमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सम्पूर्ण अभिभावकहरूमा अनुरोध गरिएको छ।