भोटेकोशी र कालीगण्डकी विपद् : वडास्तरको राहत र क्षतिको विस्तृत विवरण मागिने

काठमाडौँ / कात्तिक १० गते । राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी कोरिडोर विपद्‌सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले सरकारसँग विपद् प्रभावित वडास्तरमा पुगेको राहत र भएको क्षतिको विस्तृत विवरण माग गर्ने भएको छ।

समितिको मङ्गलबार बसेको बैठकमा सभापति कृष्णप्रसाद पौडेलले सरकारले वडागत रूपमा राहत वितरण र भएको क्षतिको विस्तृत विवरण समितिलाई उपलब्ध गराउनुपर्ने बताएका हुन्।

सरकारले राहत वितरणको समग्र तथ्याङ्क मात्र दिएर नपुग्ने स्पष्ट पार्दै उनले प्रभावित पालिका र वडागत रूपमा राहत तथा क्षतिको विवरण अनिवार्य रूपमा दिनुपर्ने दोहोर्‍याए।

समितिले प्रभावित प्रत्येक वडामा पुगेको नगद राहत, खाद्यान्न र अन्य सहायताको विवरण सरकारसँग माग्न लागेको छ। त्यसका लागि सम्बन्धित मन्त्रालयसँग समन्वय गरी तथ्याङ्क व्यवस्थित रूपमा उपलब्ध गराउन सचिवालयलाई आग्रह गरिएको छ। खोज, उद्धार र राहत वितरणको प्रारम्भिक चरण लगभग सकिएको उल्लेख गर्दै अब प्रभावित नागरिकका गुनासा सम्बोधन गर्न र सरकारी तथ्याङ्कको वास्तविकता जाँच्न केन्द्रित हुनुपर्नेमा जोड दिइएको छ।

बैठकमा सभापति पौडेलले सरकारले समग्र राहतको आँकडा मात्र प्रस्तुत गरेर नपुग्ने बताए। उनले भने, ‘नेपाल सरकारले यति अर्ब र यति करोड राहत दिएको भनेर पुग्दैन। प्रभावित पालिका र वडामा कति राहत पुग्यो भन्ने विवरण चाहिन्छ। करिब ४९ वडा प्रभावित भएको जानकारी आएको छ। ती वडामा नगद र खाद्यान्न कति पुग्यो भन्ने अप-टु-डेट विवरण सरकारले दिनुपर्छ।’ सरकारको तथ्याङ्क सही नभएमा गरिने निर्णय गलत हुने उनको तर्क छ।

समितिले प्रभावित वडाको क्षतिको वैज्ञानिक अभिलेखीकरणलाई पहिलो प्राथमिकतामा राखेको छ। प्रत्येक वडाका अध्यक्ष र प्राविधिकको हस्ताक्षरसहित क्षतिको विवरण तयार पार्ने योजना छ। त्यस्तो विवरणमा बेपत्ता र मृतकको सङ्ख्या, बालबालिकाको अवस्था, पशुपन्छीमा भएको क्षति, खेतीपातीको नोक्सानी तथा प्रभावित परिवारको सामाजिक र आर्थिक अवस्था समेटिनेछ। साथै रोजगारी, उद्योग–व्यवसाय र विद्यालय सञ्चालनको अवस्थासमेत अभिलेखमा समेट्नुपर्नेमा जोड दिइएको छ। सरकारले उपलब्ध गराएको विवरण र प्रभावित क्षेत्रका नागरिकले दिएको जानकारीबीच भिन्नता पाइएमा सम्बन्धित सरकारी निकायलाई समितिमा बोलाएर स्पष्टीकरण लिइनेछ।

उनले भने, ‘सरकारले दिएको तथ्याङ्क र स्थानीय नागरिकले बताएको विवरणबीच फरक आएमा सरकारलाई पुनः स्पष्टीकरणका लागि बोलाइन्छ। नागरिकले यसबारे असन्तुष्टि जनाएमा यसलाई गम्भीर रूपमा लिइन्छ। कुन वडामा कति बेपत्ता भए, बालबालिकाको अवस्था र रोजगारी तथा उद्योग व्यवसायको स्थिति कस्तो छ भन्ने विस्तृत विवरण हुनैपर्छ।’

समितिले सरकारी विवरण र स्थानीय तहबाट प्राप्त तथ्याङ्क प्रमाणीकरण गरेपश्चात् मात्र स्थलगत अनुगमनमा जाने जनाएको छ। प्रस्तावित कार्ययोजनाअनुसार कात्तिक १७ देखि २१ गतेसम्म रसुवा, नुवाकोट र धादिङका विपद्‌प्रभावित क्षेत्रको अनुगमन हुनेछ। अनुगमनका क्रममा सम्बन्धित जिल्लाका सङ्घीय तथा प्रदेश सांसद, प्रभावित स्थानीय तहका प्रतिनिधि र सरोकारवालासँग अन्तरक्रिया गरिनेछ। प्रस्तावित कार्यक्रमअनुसार धादिङको गल्छी क्षेत्र, नुवाकोटको विदुर र रसुवाको धुञ्चेमा छलफलको तयारी गरिएको छ। बैठकमा अन्य सांसदहरूले भोटेकोशी र कालीगण्डकी करिडोरका साथै गोरखा तथा बुढीगण्डकी करिडोरमा समेत अनुगमन गर्नुपर्ने माग गरेका छन्। बाढीपीडितको दैनिक जीवनयापन, मानसिक स्वास्थ्य, रोजगारी र कृषिका विषयमा जानकारी लिन विज्ञ तथा मन्त्रालयका प्रतिनिधिहरूलाई पनि अनुगमनमा समावेश गर्नुपर्ने सुझाव दिइएको छ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter