बुधबार हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ / कात्तिक १० गते । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । कात्तिक १२ गते बिहीबारदेखि देशमा बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को पनि प्रभाव रहने महाशाखाले जनाएको छ ।
बिहीबार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । कोशी र बागमती प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्म्को वर्षा, हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सो दिन कोशी, मधेस, बागमती प्रदेशको थोरै स्थानमा, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक, दुई स्थानमा मध्यमसम्म्को वर्षाको सम्भावना छ ।
शुक्रबार र शनिबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक, दुई स्थानमा भारी वर्षा, हिमपातको सम्भावना छ । उक्त दुई दिन कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको एक, दुई स्थानमा धेरै भारी वर्षा, हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।