पक्राउ परेका सबै पत्रकार रिहा भए : सञ्चारमन्त्री; पत्रकार पक्राउविरुद्ध रास्वपासहितका ठूला दलको एकस्वर

काठमाडौँ, कात्तिक १३ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आज पक्राउ परेका सबै पत्रकार रिहा भएको बताएका छन् । शुक्रबार साँझ फेसबुकमार्फत मन्त्री तिमिल्सिनाले सबै पत्रकार रिहा भएको जानकारी दिएका हुन् ।

‘पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन्,’ मन्त्री तिमिल्सिनाले लेखेका छन्, ‘सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ । प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन् ।’

प्रहरीले आज सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर धमाधम पत्रकारहरूलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले नेपालप्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत, मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यस्तै, नयाँ पत्रिकामा कार्यरत पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन सादा पोशाकमा खटिएका प्रहरीहरू पत्रिकाको कार्यालयमै प्रवेश गरेका थिए । उनीहरूले मैनालीलाई नलगी नजाने भन्दै दुई घण्टाभन्दा बढी समय त्यहाँ बसेका थिए ।

नयाँ पत्रिकाको कार्यालयबाट साँझ मात्रै पत्रकार मैनाली र सम्पादक खगेन्द्र पन्तलाई भोलि साइबर ब्युरोमा हाजिर हुन उर्दी दिँदै प्रहरी टोली त्यहाँबाट निस्किएको छ ।

पत्रकार पक्राउविरुद्ध रास्वपासहितका ठूला दलको एकस्वर

पत्रकारहरूलाई समाचार कक्षबाटै प्रहरीले नियन्त्रणमा लिएपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)सहितका ठूला दलले विरोध गरेका छन् ।

रास्वपाका प्रवक्ता जगदीश खरेलले पत्रकारलाई समाचारकै विषयमा पक्राउ गर्ने वा सोधपुछका नाममा धरपकड गर्ने कार्य संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता विपरीत रहेको बताएका छन् ।

‘पत्रकारलाई कुनै पनि बहानामा समाचारकै आधारमा पक्राउ गर्नु चाहिँ त्यो पार्टीको हाम्रो नीतिमा पनि छैन, सिद्धान्तमा पनि छैन’, खरेलले अनलाइनखबरसँग भने, ‘नेपालको संविधानले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई जुन मौलिक अधिकारका रूपमा ग्यारेन्टी गरेको छ, त्यसको स्पष्ट पक्षमा पार्टी छ ।’

रास्वपा सबैभन्दा ठूलो दल हो । दोस्रो ठूलो दल नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सञ्चारगृहहरूमाथिको हस्तक्षेप र निगरानी तुरुन्त बन्द गर्न सरकारलाई आग्रह गरेका छन् ।

‘समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै आधारमा प्रहरी परिचालन गरी पत्रकारहरू गिरफ्तार गर्ने दुष्कार्य सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो’, उनले फेसबुकमा लेखेका छन्, ‘सार्वजनिक पदधारण गरेका व्यक्तिका गतिविधि, न्यायिक शुद्धता र शक्ति दुरुपयोगका विषयमा खोजी–नीति गरी नागरिकलाई सुसूचित गराउनु प्रेसको संवैधानिक कर्तव्य हो ।’

तेस्रो ठूलो दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले बिनापूर्जी नागरिकलाई पक्राउ गर्नु सर्वसत्तावादी अभ्यास भएको बताएका छन् । बिनापूर्जी पक्राउ गर्नु नागरिकमाथि त्रास फैलाउने सर्वसत्तावादी अभ्यास हो,’ पोखरेलले लेखेका छन्, ‘शक्ति पृथकीकरणको सिद्धान्तविपरीत राज्यका सबै अंगलाई त्रासमा राखेर नियन्त्रणमा लिन खोज्नु फासीवादको स्पष्ट संकेत हो ।’

चौथो ठूलो दल नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका प्रमुख सचेतक युवराज दुलालले पत्रिकाका कार्यालयहरूमा सादा पोशाकमा गरिएको प्रहरीको छापा निन्दनीय र स्वतन्त्र पत्रकारितामाथिको राज्य आतंक भएको बताएका छन् ।

‘सरकार र अन्य सराकारी निकायका उच्च पदस्थका काला कर्तूत बाहिर ल्याएका कारण यो राज्य–आतंक सिर्जना गरिएकोमा नेपाली नागरिकमा कुनै भ्रम छैन’, उनले भनेका छन्, ‘हामी तत्काल गिरफ्तार पत्रकारको विना शर्त रिहाइको माग गर्दै सन्चारमाध्यम माथिको राज्य–आतंक बन्द गर्न खबरदारी गर्दछौं ।’

शुक्रबार प्रहरीले पत्रकारहरू विश्वमणी सुवेदी, शोभराज बराल र धीरज बस्नेतलाई समाचार कक्षमै प्रवेश गरेर नियन्त्रणमा लिएको थियो । यस्तै, अर्का पत्रकारको खोजी गर्दै प्रहरी टोली नयाँ पत्रिकाको कार्यालय पुगेको थियो ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter