भारतीय विदेश सचिव मिश्री नेपाल आउनुहुँदै

काठमाडौँ, कात्तिक १६ गते । छिमेकी मित्रराष्ट्र भारतका विदेश सचिव विक्रम मिश्री दुई दिने औपचारिक भ्रमणमा नेपाल आउनु हुने भएको छ ।
परराष्ट्रसचिव अमृत बहादुर राईको निमन्त्रणामा भारतीय विदेश सचिव मिश्री यही कात्तिक १८ र १९ गते नेपालको औपचारिक भ्रमणमा आउनु हुने तय भएको हो ।
परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको प्रेस वक्तव्य अनुसार नेपाल भ्रमणको क्रममा नेपालका परराष्ट्रसचिव र भारतका विदेश सचिवबिच द्विपक्षीय छलफल हुनेछ । उक्त बैठकमा दुवै पक्षले नेपाल–भारत सम्बन्धको सबै पक्षको समीक्षा गर्ने जनाइएको छ ।
दुई देशबिचको लामो समयदेखिको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ पार्ने उद्देश्यले पारस्परिक हितका विषयमासमेत द्विपक्षीय धारणा आदानप्रदान उहाँहरुले गर्नुहुने मन्त्रालयले प्रष्ट पारेको छ ।
नेपालमा रहनुहुँदा भारतका विदेश सचिव मिश्रीले नेपालका उच्च नेतृत्व तथा विशिष्ट व्यक्तिसँग शिष्टाचार भेट गर्नुहुने कार्यसूची रहेको छ । उहाँ कात्तिक १९ गते साँझ नै दिल्ली प्रस्थान गर्नुहुने जनाइएको छ ।