राष्ट्र बैंकलाई नवप्रवर्तनसँगै आएका जोखिम व्यवस्थापन गर्ने चुनौती छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले राष्ट्र बैंकलाई वित्तीय स्थायित्व र नवप्रवर्तनसँगै आउने जोखिम व्यवस्थापन गर्ने चुनौती रहेको बताएका छन् ।
गभर्नर पौडेलले सुरक्षित भुक्तानीसँगै ग्राहक संरक्षण समेत सुनिश्चितता गर्नुपर्ने भएकाले प्रविधिका कारण आउने जोखिम व्यवस्थापन गर्नुपर्ने चुनौती केन्द्रीय बैंंकमा आएको बताए ।
प्रविधिमा आधारित वित्तीय सेवा प्रवर्द्धन र फिन्टेकमा आधारित उदीयमान नवप्रवर्तनलाई प्रदर्शन गर्ने उद्देश्यसाथ ‘एनआरबी फिनटेक इनोभेसन सोकेस इभेन्ट २०२६’ उद्घाटन गर्दै पौडेलले प्रविधिमा आधारित वित्तीय सेवा प्रवर्द्धनलाई राष्ट्र बैंकले उच्च प्राथमिकतामा राख्दै आएको बताए ।
नवप्रवर्तनमा आधारित नियामकीय र सुपरिवेक्षकीय प्रणाली विकासका लागि राष्ट्र बैंक प्रयासरत रहेको जानकारी समेत उनले दिए ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आयोजना गरेको इभेन्टमा गभर्नर पौडेलले फिन्टेक विस्तारसँगै यसबाट सिर्जित चुनौती व्यवस्थापनमा राष्ट्र बैंकको दोहोरो जिम्मेवारी रहेको धारणा राखेका थिए ।
वित्तीय स्थायित्व, सुरक्षित भुक्तानी तथा ग्राहक संरक्षण सुनिश्चित गर्नुपर्ने छ भने अर्कातर्पm वित्तीय प्रविधि र नवप्रवर्तन विकाससँगै जोडिएका नयाँ जोखिम तथा चुनौती व्यवस्थापन पनि गर्नुपर्ने जिम्मेवारी केन्द्रीय बैंकको रहेको पौडेलले बताए ।
फिन्टेक नवप्रवर्तन प्रवर्द्धन र विकासका निम्ति नेपाल सरकार, नियामक निकाय, बैंक तथा वित्तीय संस्था, प्रविधि कम्पनी र वित्तीय क्षेत्रमा क्रियाशील संस्थाबीच समन्वय र सहकार्य हुनुपर्ने आवश्यकतामा उनले जोड दिए ।
कार्यक्रममा डेपुटी गभर्नर किरण पण्डितले फिन्टेक प्रवर्द्धनका लागि राष्ट्र बैंकबाट भएका नीतिगत र संरचनागत प्रयासबारे बताए । भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक निश्चल अधिकारीले डिजिटल प्रविधिमा आधारित वित्तीय सेवाका सन्दर्भमा राष्ट्र बैंकले अवलम्बन गरेका व्यवस्थाबारे जानकारी दिए ।
इभेन्टमा वित्तीय संस्था र फिन्टेक कम्पनीका २७ स्टल राखिएको थियो । डिजिटल बैंकिङ, डिजिटल भुक्तानी, डिजिटल कर्जा प्रवाह, साइबर सुरक्षा प्रणाली, क्लाउड कम्प्युटिङ, वित्तीय ठगी र जोखिम व्यवस्थापन, प्रविधिमा आधारित नियमन फिन्टेक इकोसिस्टमका नवप्रवर्तक र अन्य सरोकारवालासँग समन्वय र सहकार्य गर्ने उद्देश्य छ ।
सोही रणनीति अन्तर्गत नै बैंकले डिजिटल फाइनान्स इनोभेसन हक र रेगुलेटरी स्यान्डबक्सलाई प्रभावकारी बनाउन एनआरबी फिनटेक नेक्सस संयन्त्र समेत तयार गरेको केन्द्रीय बैंकले जनाएको छ ।