पार्टी र सरकारबिच कुनै मतभेद र खटपट छैन : सभापति लामिछाने

हेटौँडा, कात्तिक १९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र सरकार (मन्त्रिपरिषद्) बिच कुनै पनि किसिमको मतभेद र विवाद नरहेको बताएका छन् । उनले सरकार र पार्टीबिच निरन्तर संवाद र सहकार्य भइरहेको र समन्वयको कमी नरहेको उनले बताए ।
बिहीबार निर्वाचन क्षेत्र चितवन पुगेर पत्रकारहरूसँगको कुराकानीमा सभापति लामिछानेले पुराना राजनीतिक दलहरूको जस्तो सरकार नियन्त्रण गर्ने वा हस्तक्षेप गर्ने अभ्यासमा रास्वपा नरहेको बताए । सभापति लामिछानेले पार्टी र सरकारको कार्यक्षेत्र फरक रहने बताए ।
उनले पार्टी र मन्त्रीहरूबिच काम कारबाहीलाई लिएर कुनै प्रश्न वा जिज्ञासा उठेमा नियमित छलफल र संवादमार्फत स्पष्टता खोजिने गरेको बताए । बाहिर हल्ला चले जस्तो पार्टी र सरकारबिच कुनै खटपट नरहेको उनले बताए ।
‘हामी राजनीतिमा त्यो अभ्यासको पक्षमा छैनौँ । जहाँ सरकार टिकाउन वा पार्टी मिलाउन मन्त्री छेउमा अर्को मान्छे कुर्सी राखेर बस्नुपरोस् । सरकारले आफ्नो पूर्ण (एब्सोल्युट) काम गर्छ र पार्टीले आफ्नो काम गर्छ’ उनले भने– ‘हाम्रो नियमित भेटघाट र संवाद भइरहन्छ । समन्वयको कुनै कमी छैन । सरकारलाई पूर्ण रूपमा काम गर्न दिनुपर्छ भन्ने पार्टीको स्पष्ट धारणा हो ।’
पत्रकारहरूले सञ्चारगृह तथा पत्रकारमाथि भएका पछिल्ला प्रशासनिक कदमबारे सोधेको प्रश्नमा सभापति लामिछानेले लोकतान्त्रिक मूल्य–मान्यता र प्रेस स्वतन्त्रताप्रति रास्वपा सदैव स्पष्ट र अडिग रहेको धारणा राखे । कतै केही कमजोरी वा त्रुटि भए त्यसलाई सच्याउन राज्यका वैधानिक संस्थाहरु क्रियाशील रहेको उनको भनाइ छ ।
‘यदि कसैले गलत गर्यो भने त्यसलाई करेक्सन गर्ने हाम्रा संस्थाहरू छन् । प्रहरी प्रशासन, अदालत र प्रेस काउन्सिलजस्ता निकायहरूलाई हामीले विश्वास गर्नुपर्छ र थप बलियो बनाउनुपर्छ । कहीँ कतै ट्र्याक बाहिर गयो भने त्यसलाई ट्र्याकमा ल्याउने कोसिस पार्टीले गर्छ’ उनले भने ।
सभापति लामिछानेले पार्टी र सरकारबिच टसल वा आन्तरिक द्वन्द्व भएको भनी फैलाइएका सबैखाले भ्रम र हल्ला मात्र रहेको बताए । उनले पार्टी र सरकारबिच कुनै पनि किसिमको दूरी नरहेको बताए ।