छठ पर्व : मधेश प्रदेशमा अर्थतन्त्र चलायमान

धीरेन्द्रप्रसाद साह / सप्तरी, कात्तिक २८ गते । सप्तरीसहित मधेश प्रदेशभरि छठ पर्वको रौनक छाएको छ । सूर्यदेव र छठी माताको आराधनामा हजारौँ व्रतालु जुटिरहेका बेला पर्वले कृषि उत्पादनको बिक्री र स्थानीय व्यापारलाई गति दिएको छ । तर, छठको अवसरमा केरा, नरिवललगायत पूजासामग्रीको मूल्यमा मनपरी हुँदा बजार अनुगमन प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन ।

सप्तरीका विभिन्न पोखरी, तालतलैया, नदी तथा जलाशय गरी २६५ स्थानमा छठ पर्व मनाइँदै छ । व्रतालुहरू जलाशयमा उभिएर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठी माताको आराधना गर्ने तयारीमा छन् । पर्वका लागि जिल्लाका विभिन्न जलाशय तथा छठघाटमा सरसफाइ, सजावट र व्यवस्थापनको काम गरिएको छ ।

चार दिनसम्म चल्ने यस पर्वको पहिलो दिन शुक्रबार नहाय–खाय, दोस्रो दिन शनिबार खरना, तेस्रो दिन आइतबार अस्ताउँदो सूर्यलाई अर्घ र चौथो दिन सोमबार उदाउँदो सूर्यलाई अर्घ अर्पण गरिने छ ।

खरनाका दिन व्रतालुले दिनभरि उपवास बसेर साँझ शुद्धतापूर्वक तयार पारिएको खीर, रोटी र गुडको प्रसाद ग्रहण गर्छन् । त्यसपछि करिब ३६ घण्टासम्म निर्जल उपवास बसेर सूर्यदेव र छठी माताको उपासना गरिन्छ ।

भिक्षा मागेर पनि छठ मनाउने परम्परा

व्रतालु अञ्जना गिरीका अनुसार छठ पर्वमा व्रतालुले कठोर उपवास बसेर परिवारको सुख, शान्ति, समृद्धि तथा सन्तानको दीर्घायुको कामना गर्ने गर्छन् । पूजासामग्रीदेखि प्रसाद तयार पार्नेसम्मका सबै काममा शुद्धता र पवित्रताको विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

अर्की व्रतालु बाँबी झाका अनुसार छठ पर्वमा आर्थिक अवस्था कमजोर भएका कतिपय परिवारले भिक्षा मागेर तथा अरूको सहयोग जुटाएरसमेत छठ मनाउने गरेका छन् । छठमा धनी–गरिबबीच कुनै भेदभाव नरहने र सबैले आ–आफ्नो क्षमताअनुसार सूर्यदेवको आराधना गर्ने परम्परा रहेको उहाँले बताउनुभयो ।

पण्डित बद्रीनारायण झाका अनुसार छठ पर्वमा सूर्यदेवलाई प्रत्यक्ष देवताका रूपमा पूजा गर्ने परम्परा छ । सूर्यबाट प्राप्त हुने प्रकाश र ऊर्जाले पृथ्वीमा जीवन सम्भव भएको धार्मिक तथा प्राकृतिक मान्यता यस पर्वसँग जोडिएको छ । जलाशयमा उभिएर सूर्यलाई अर्घ अर्पण गर्नु, शुद्धतापूर्वक प्रसाद तयार पार्नु र निर्जल उपवास बस्नु छठका प्रमुख धार्मिक विधि हुन् ।

कृषि उत्पादनको बजार विस्तार, व्यापारमा चहलपहल

छठ पर्वले स्थानीय कृषि उत्पादनको खपत र बजारीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । पर्वमा केराको घरी, नरिवल, उखु, अदुवा, बेसार, स्याउ, सुन्तला तथा अन्य फलफूल र कृषिउपजको प्रयोग गरिन्छ ।

पूजाका लागि आवश्यक पर्ने बाँसका सुप, नाङ्लो, ढाकी, माटाका भाँडा तथा परम्परागत परिकारले स्थानीय उत्पादन र घरेलु व्यवसायलाई समेत प्रोत्साहन गर्छन् ।

किसान योगेन्द्रप्रसाद साहका अनुसार छठ पर्वका बेला कृषि उपजको माग बढ्ने भएकाले किसानले आफ्ना उत्पादन बिक्री गर्ने राम्रो अवसर पाउँछन् । विशेषगरी केरा, उखु, अदुवा, बेसार तथा अन्य फलफूलको कारोबार बढ्दा किसानको आम्दानीमा सहयोग पुग्ने गरेको उहाँले बताउनुभयो ।

छठका कारण सप्तरीसहित मधेश प्रदेशका अन्य जिल्लाका बजारमा पूजासामग्री किनमेल गर्नेको भीड बढेको छ । तर, माग बढेसँगै केरा, नरिवललगायतका सामग्रीको मूल्य महँगिएको छ । कतिपय व्यापारीले आफूखुसी मूल्य निर्धारण गर्दा उपभोक्ता मारमा परेको गुनासो गरेका छन् ।

सुरक्षा व्यवस्था कडा

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार सप्तरीका विभिन्न पोखरी, तालतलैया, नदी तथा जलाशय गरी २६५ स्थानमा छठ पर्व मनाइँदै छ । पर्वलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित बनाउन चाडपर्व लक्षित विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको उहाँले बताउनुभयो ।

चाडपर्वका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई आवश्यकताअनुसार परिचालन गरिएको छ । छठघाटमा श्रद्धालुको भीड व्यवस्थापन, जलाशयमा हुन सक्ने सम्भावित दुर्घटना तथा अन्य अप्रिय घटना रोक्न सुरक्षा व्यवस्था कडा पारिएको उहाँले जानकारी दिनुभयो ।

बजार अनुगमनका विषयमा प्रमुख जिल्ला अधिकारी थापाले कर्मचारी बिदामा रहेकाले नियमित बजार अनुगमन हुन नसकेको बताउनुभयो । यद्यपि, बजारमा अनुचित मूल्य असुली वा अन्य अनियमिततासम्बन्धी उजुरी आएमा आवश्यक छानबिन गरी कारबाही गरिने उहाँको भनाइ छ ।

जलाशय संरक्षणसँगै पर्यापर्यटनको सम्भावना

छठ पर्व धार्मिक अनुष्ठानमा मात्र सीमित नरही जलाशय संरक्षण र पर्यापर्यटनसँग समेत जोडिएको छ । सप्तरीमा राजविराजको भगवती पोखरी, कल्टु दास पोखरी, भारदहस्थित कोसी ब्यारेज आसपासको क्षेत्र, कञ्चनरूपका विभिन्न जलाशय, हनुमाननगर कंकालिनी क्षेत्र तथा जिल्लाका अन्य पोखरी र नदी किनारमा छठ मनाउने गरिन्छ ।

पर्वका अवसरमा जलाशयको सरसफाइ, सजावट र व्यवस्थापन गरिने भएकाले ती स्थानको सौन्दर्यसमेत बढ्ने गरेको छ । धार्मिक आस्थाका कारण विभिन्न स्थानबाट श्रद्धालु आउने हुँदा स्थानीय पर्यटन व्यवसाय र व्यापार विस्तारको सम्भावना पनि बढेको छ ।

तर, छठका बेला मात्र जलाशय सफा गर्ने प्रवृत्तिको अन्त्य गरी वर्षभरि नै पोखरी, तालतलैया र नदीको संरक्षण गर्नुपर्ने आवश्यकता देखिएको छ । स्थानीय तहले जलाशयको सौन्दर्यीकरण, फोहोर व्यवस्थापन, घाट निर्माण, प्रकाश र अन्य पूर्वाधार विकासमा ध्यान दिन सके धार्मिक पर्यटनसँगै पर्यापर्यटनको नयाँ सम्भावना खुल्न सक्छ ।

धार्मिक आस्था, कृषि उत्पादन, स्थानीय अर्थतन्त्र, सामाजिक सहयोग र पर्यावरण संरक्षणलाई एउटै कडीमा छठ पर्वले जोडेको छ । त्यसैले यस पर्वलाई व्यवस्थित र सुरक्षित रूपमा मनाउनुका साथै स्थानीय उत्पादनको प्रवर्द्धन, बजार मूल्य नियन्त्रण र जलाशय संरक्षणलाई पनि प्राथमिकता दिनुपर्ने आवश्यकता छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter