मधेशले दिएको माया र मत खेर जाँदैन: सभापति लामिछाने

जीवछ यादव / लहान, कात्तिक ३० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले मधेशले दिएको माया र मत खेर नजाने बताउनुभएको छ । छठ पर्व मनाउन जनकपुर आउनुभएका सभापति लामिछानेले सिरहाको बरियारपट्टीमा छोटो सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

मधेश जहिले पनि परिवर्तनको पक्षमा रहँदै आएको बताउँदै उहाँले सुशासन र समृद्धिका लागि रास्वपाको पक्षमा गरिएको मत खेर जान नदिन सचेत रहेको बताउनुभयो । “मधेशको समस्या पनि भ्रष्टाचार र कुरीति हो । यसको अन्त्यका लागि सरकारले काम थालिसकेको छ । केन्द्र सरकारका हातखुट्टा भनेका स्थानीय र प्रदेश सरकार हुन् । स्थानीय र प्रदेश सरकार बनाउन पनि साथ चाहिएको छ,” उहाँले भन्नुभयो, “पार्टीमा कुनै मनमुटाव छैन । पार्टी र सरकार सन्तुलित रूपमा अघि बढिरहेका छन् ।”

स्थानीय चुनावमा नेताको वरिपरि रहेर उम्मेदवार बनाइदिने सोच त्यागेर जनताको साथमा काम गर्ने इमानदार र काम गर्न सक्ने क्षमता भएका उम्मेदवार चयनका लागि ‘क्यान्डिडेट क्लब’ खोलिएको उहाँले बताउनुभयो ।

मधेशमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र सामाजिक न्यायका लागि सरकारले काम गर्नुपर्ने विषयमा सचेत भएर काम गरिरहेको सभापति लामिछानेले जोड दिनुभयो । उहाँले थप्नुभयो, “गफ गरेर समय बर्बाद गर्नुभन्दा काम गरेर देखाउने समय आएको छ । रास्वपाबाट चुनिने जनप्रतिनिधिहरूलाई मालिक बन्नका लागि होइन, सेवक बनेर काम गर्न पार्टीबाट निर्देशन जारी भइरहेको छ ।”

थोरै समयमा विकास गर्न सम्भव भए पनि मधेश विकासमा पछि पर्नुको कारण भ्रष्टाचार र बेथिति रहेको उहाँले बताउनुभयो । रास्वपालाई विश्वास गरेर पुराना दलको साथ छाडेको उल्लेख गर्दै उहाँले जनताको विश्वासमा घात भए अर्को चुनावमा कुन मुख देखाएर आउने भन्ने विषयमा रास्वपा गम्भीर रहेको तर्क गर्नुभयो ।

जनकपुरको ढल्केवर हुँदै सिरहाको बन्दीपुर, चोहर्वा र सिरहाबाट हुलाकी मार्ग भएर सप्तरीको शक्तिपीठ छिन्नमस्ता दर्शन गरी फेरि लहानको राजदेवी मन्दिर दर्शन गरेर जनकपुर फर्किने कार्यक्रम रहेको रास्वपा सहमहामन्त्री पुरुषोत्तम यादवले जानकारी गराउनुभयो ।

सिरहामा रास्वपा केन्द्रीय सदस्य तथा सिरहा–१ का सांसद बब्लु गुप्ता, मधेश प्रदेशका सभापति तथा सिरहा–४ का सांसद तपेश्वर यादव, जिल्ला सभापति हरि मैनाली र १७ वटै पालिकाका सभापति, नेता तथा कार्यकर्ताले सिरहा प्रवेशका क्रममा बन्दीपुरमा सभापति लामिछानेको स्वागत गरेका थिए । सभापति लामिछानेले सिरहाको सलहेश मन्दिर पुगेर पनि दर्शन गर्नुभएको थियो ।

छठ पर्व मधेश प्रदेशको राजधानी जनकपुरमा मनाएर सिरहा र सप्तरी आउने क्रममा सभापति लामिछानेको मेची–महाकाली यात्रा सुरु भएको प्रदेश अध्यक्ष तथा सांसद तपेश्वर यादवले जानकारी गराउनुभयो ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter