मन्त्री श्रेष्ठ र विश्व बैंकका नेपाल प्रमुख सिस्लेनबिच भेट

काठमाडौँ, मङ्सिर २ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालको ऊर्जामा आधारित अर्थतन्त्र निर्माणका लागि विश्व बैंकसँग सहकार्य थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
विश्व बैंकका नेपाल प्रमुख डेभिड सिस्लेनसँग मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरुबीच विपद् उत्थानशील ऊर्जा पूर्वाधार, जलविद्युत् क्षेत्रको वित्तीय दिगोपन, प्रसारण तथा वितरण प्रणालीको विस्तार र नेपालको ऊर्जा क्षेत्रको दीर्घकालीन आर्थिक तथा सञ्चालनगत स्थायित्वलाई आगामी सहकार्यका प्राथमिकताका रूपमा अघि बढाउने समझदारी भएको छ ।
यसअघि मन्त्री श्रेष्ठले ऊर्जा पूर्वाधारको उत्थानशीलता, जलविद्युत् आयोजनाको वित्तीय दिगोपन, प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण र दीर्घकालीन ऊर्जा सुरक्षाका विषयलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताउनुभएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।
उहाँले जलविद्युत् आयोजना, प्रसारण लाइन तथा वितरण प्रणालीलाई सम्भावित विपद्बाट सुरक्षित राख्न जोखिममा आधारित पूर्वाधार योजना, संस्थागत समन्वय र प्रभावकारी पूर्वतयारी आवश्यक रहेको बताउनुभयो ।
मन्त्री श्रेष्ठले बहुप्रकोपीय पूर्वसूचना प्रणाली, जल तथा मौसमसम्बन्धी अनुगमन संयन्त्र, जलवायु जोखिम मूल्याङ्कन र विपद् व्यवस्थापन क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँहरुबीच नेपालको आगामी विद्युत् माग, औद्योगिक विकास, आन्तरिक खपत र क्षेत्रीय विद्युत् व्यापारलाई ध्यानमा राखेर दीर्घकालीन विद्युत् उत्पादन योजना बनाउनुपर्ने विषयमा पनि छलफल भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।
त्यस अवसरमा मन्त्री श्रेष्ठले प्रसारण तथा वितरण पूर्वाधारमा लगानी विस्तार गरी ग्रिडका अवरोध हटाउने, विद्युत् प्रसारण तथा निकासी क्षमता बढाउने र समग्र विद्युत् प्रणालीको विश्वसनीयता अभिवृद्धि गर्नुपर्ने बताउनुभयो ।
बढ्दो विद्युत् माग र औद्योगिक आवश्यकतालाई सम्बोधन गर्न उत्पादनसँगै प्रसारण तथा वितरण प्रणालीको विकासलाई पनि समान प्राथमिकता दिनुपर्ने उहाँको धारणा थियो ।
त्यस अवसरमा मन्त्री श्रेष्ठले विकास साझेदारसँगको सहकार्यलाई थप व्यवस्थित र परिणाममुखी बनाउने मन्त्रालयको योजनाबारे जानकारी गराउनुभएको सचिवालयले जनाएको छ ।
त्यस्तै नेपाल सरकार र विश्व बैंकबीचको सहकार्यलाई समयसीमा र उपलब्धिमा आधारित कार्ययोजनामार्फत अघि बढाउने विषयमा उहाँहरुबीच छलफल भएको थियो ।