महासंघको नेतृत्वमा छवटा प्रदेशमा सीप तथा रोजगार मेला हुने

काठमाडौँ, मङ्सिर ४ गते । नेपाल सरकार र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा छवटा प्रदेशमा ‘सीप तथा रोजगार मेला, २०८३’ सञ्चालन हुने भएको छ । मेला सञ्चालनका लागि युवा, श्रम तथा रोजगार मन्त्रालय र महासंघबीच सम्झौता भएको छ ।
रोजगार खोजकर्ता र रोजगारदाताबीच प्रत्यक्ष सम्पर्क स्थापित गरी रोजगारीका अवसर सिर्जना गर्ने तथा उद्योग व्यवसायको वास्तविक जनशक्ति आवश्यकताअनुसार दक्ष जनशक्ति विकास गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो ।
बिहीबार मन्त्रालयमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव, मन्त्रालयका सचिव डा. दीपक काफ्ले र महासंघका अध्यक्ष अञ्जन श्रेष्ठको रोहवरमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतापत्रमा मन्त्रालयका तर्फबाट सहसचिव तथा युवा महाशाखा प्रमुख हेमराज तामाङ र महासंघका तर्फबाट उपाध्यक्ष तथा रोजगार परिषद्का उपाध्यक्ष प्रबलजंग पाण्डेले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार मन्त्रालयले मेलाको नीतिगत नेतृत्व, सरकारी निकायसँगको समन्वय, सहजीकरण तथा रोजगारसम्बन्धी डिजिटल प्रणाली सञ्चालन गर्नेछ । महासंघले भने मेलाको समग्र व्यवस्थापन, सञ्चालन तथा कार्यान्वयनको नेतृत्व गर्नेछ । यसका लागि महासंघले सचिवालय स्थापना गरी रोजगारदाता परिचालन, भौतिक तथा प्राविधिक पूर्वाधार, कार्यक्रम व्यवस्थापन र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्नेछ ।
नेपाल सरकारले आर्थिक वर्ष २०८३/०८४ देखि २०९२/०९३ सम्मको अवधिलाई रोजगार प्रवर्द्धन दशकका रूपमा अघि बढाएको सन्दर्भमा आन्तरिक रोजगारीका अवसर विस्तार गर्ने, श्रम बजारको मागअनुसार दक्ष जनशक्ति विकास गर्ने र सीपयुक्त जनशक्तिलाई रोजगारीमा आबद्ध गराउने उद्देश्य रहेको महासंघका उपाध्यक्ष तथा रोजगार परिषद्का सभापति प्रबलजंग पाण्डेले जानकारी दिए ।
मेलामा उद्योग, व्यवसाय तथा प्रतिष्ठानका रोजगारदातालाई सहभागी गराई उनीहरूका वास्तविक रिक्त पद र आवश्यक जनशक्तिको विवरण संकलन गरिनेछ । रोजगारदाताले उपलब्ध गराएका रिक्त पदका आधारमा रोजगार खोजकर्ताबाट आवेदन संकलन गरी मेलास्थलमै प्रत्यक्ष अन्तर्वार्ता, प्रारम्भिक छनोट तथा रोजगार मिलानको व्यवस्था गरिनेछ ।
त्यस्तै, रोजगारदाताको माग र श्रम बजारको आवश्यकताका आधारमा प्राविधिक तथा व्यावसायिक तालिम प्रदायक निकायको नेतृत्वमा प्रत्येक प्रदेशमा विभिन्न विधाका १० वटा तालिम सञ्चालन गरिनेछ । तालिमलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न महासंघले थप सहकार्य गर्नेछ भने आवश्यक पूर्वाधार तथा व्यवस्थापकीय सहयोगसमेत उपलब्ध गराउनेछ ।
मेलालाई व्यवस्थित बनाउन मन्त्रालयले रोजगारसम्बन्धी डिजिटल प्रणाली सञ्चालनमा ल्याउनेछ । मेलाबाट सिर्जना भएका रोजगारीका अवसरलाई कार्यक्रम सम्पन्न भएपछि पनि निरन्तरता दिइनेछ । यसका लागि महासंघ, मन्त्रालय, श्रम तथा रोजगार कार्यालय, स्थानीय तहका रोजगार, सीप तथा उद्यमशीलता केन्द्र र रोजगारदाताबीच समन्वय गरिनेछ ।
प्रदेश सरकार, स्थानीय तह, उद्योग वाणिज्य संघ, निजी क्षेत्र, तालिम प्रदायक संस्था तथा विकास साझेदारको सहभागिता र सहकार्यमा मेला सञ्चालन हुनेछ । सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई प्रभावकारी बनाउँदै सीपयुक्त जनशक्ति विकास, आन्तरिक रोजगारी प्रवर्द्धन तथा उद्योग व्यवसायको जनशक्ति आवश्यकता सम्बोधन गर्न मेला महत्वपूर्ण हुने महासंघले विश्वास लिएको छ ।