सुदूरपश्चिम बन्यो एनपिएल तेस्रो संस्करण च्याम्पियन; ‘सबै क्लबसँग फ्लडलाइटसहितका रंगशाला, एनपीएलको छैटौं संस्करणदेखि होम एन्ड अवे खेल’

काठमाडौँ, मङ्सिर ५ गते । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधि जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बनेको हो ।
लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै कुनै विकेट नगुमाई पूरा गर्यो । सुदूरपश्चिमको जितमा जर्ज मन्सेले अविजित १२५ रनको शतकीय पारी खेल्नुभयो । उहाँले ५४ बलमा १२ छक्का र आठ चौका प्रहार गर्नुभयो ।
अर्का ओपनर विनोद भण्डारी २७ बलमा ३० रन बनाएर अविजित रहनुभयो ।
यससँगै सुदूरपश्चिमले लगातार तेस्रो पटक फाइनल खेलेर पहिलो पटक उपाधि उचालेको छ । उपाधिसँगै सुदूरपश्चिमले एक करोड ५० लाख रुपियाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता लुम्बिनीले ८० लाख रुपियाँ पाएको छ ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १५५ रन बनाएको थियो । लुम्बिनीका लागि दिलिप नाथले अविजित ३९, कप्तान रोहित पौडेलले ३०, निरोशन डिकवेलाले २८ तथा अलि शेखले २४ रन बनाउनुभयो । डार्सी शर्टले २१ रन जोड्नुभयो ।
सुदूरपश्चिमका स्कट कुगलेइनले चार ओभरमा २५ रन खर्चेर दुई विकेट लिनुभयो । हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र थरिन्दु रत्नायकेले एक–एक विकेट लिनुभयो ।
लिग चरणमा शीर्ष स्थानमा रहेको लुम्बिनीले पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई छ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । सुदूरपश्चिमले दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।
‘सबै क्लबसँग फ्लडलाइटसहितका रंगशाला, एनपीएलको छैटौं संस्करणदेखि होम एन्ड अवे खेल’
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका छन् ।
प्रधानमन्त्री शाहले शनिबार साँझ फेसबुकमार्फत यस्तो घोषणा गरेका हुन् ।
प्रधानमन्त्री शाहले एनपीएलको छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्नेगरी रंगशाला निर्माण गरिने बताएका छन् ।
उनका अनुसार क्रिकेट रंगशालाहरू नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयले निर्माण गर्नेछ ।
सुदूरपश्चिममा फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको र आगामी तीन महिनाभित्र सबै रंगशालाको निर्माण प्रक्रिया अघि बढाइने उनले बताएका छन् ।
यस्तै, विराटनगर किंग्सका लागि बैजनाथपुर क्रिकेट रंगशाला, लुम्बिनी लायन्सका लागि सिद्धार्थ क्रिकेट रंगशाला, कर्णाली याक्सका लागि सुर्खेत क्रिकेट रंगशाला र काठमाडौं गुर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदान घरेलु मैदान हुने प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् ।
यस्तै, पोखरा एभेन्जर्सका लागि पोखरा क्रिकेट रंगशाला, जनकपुर बोल्ट्सका लागि रामजानकी क्रिकेट रंगशाला र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण गरिने उनले बताएका छन् ।
प्रधानमन्त्री शाहले एनपीएलको विजेता सुदूरपश्चिम रोयल्सलाई बधाई दिँदै क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकार तयार रहेको बताएका छन् ।