दुई खर्ब ४० अर्ब विकास सहायता, ऊर्जा र पूर्वाधारमा ऐतिहासिक सहकार्यको घोषणा; प्रधानमन्त्री शाह स्वदेश फिर्ता

काठमाडौँ, मङ्सिर ७ गते । भारतले नेपाललाई रु दुई खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच आज नयाँदिल्लीमा भएको उच्चस्तरीय वार्तापछि जारी संयुक्त प्रेस विज्ञप्तिमार्फत विकास, ऊर्जा, पूर्वाधार, रेलमार्ग, व्यापार तथा प्रविधिसहितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने घोषणा गरिएको हो ।

उक्त रकममध्ये रु ५६ अर्ब विपद्पछिको पुनःनिर्माण तथा नयाँ पूर्वाधार परियोजनाका लागि अनुदान स्वरूप र रु एक खर्ब ८४ अर्ब ऊर्जा क्षेत्रका परियोजनाका लागि ऋण सुविधाका रूपमा उपलब्ध गराइने छ । सहायताअन्तर्गत सञ्चालन हुने परियोजना र कार्यान्वयनको प्रक्रिया दुवै देशबिचको आपसी परामर्शबाट टुङ्गो लगाइने संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

भारतका प्रधानमन्त्री मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारत भ्रमणमा जानुभएका प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको थियो । नेपालमा हाल सञ्चालन भइरहेका विकास परियोजना, उच्च प्रभाव सामुदायिक विकास परियोजना तथा राष्ट्रिय प्रहरी प्रतिष्ठान निर्माणमा भएको प्रगतिप्रति दुवै प्रधानमन्त्रीले सन्तुष्टि व्यक्त गरेका छन् । भारतको अनुदान सहयोगमा चितवनमा कृषि–औद्योगिक पार्क स्थापना गर्ने घोषणा पनि गरिएको छ ।

‘विकसित भारत, समुन्नत नेपाल’ संयुक्त दृष्टिकोण

नेपाल र भारतले ‘विकसित भारत र समुन्नत नेपाल’ नामक संयुक्त दृष्टिकोणपत्र अङ्गीकार गरेका छन् । यसले दुई देशबिचको भविष्यउन्मुख साझेदारीका लागि नयाँ मार्गचित्र प्रस्तुत गर्नेछ । संयुक्त दृष्टिकोणमा आर्थिक तथा विकास साझेदारी, ऊर्जा, जलस्रोत, यातायात, सम्पर्क सञ्जाल, जलवायु परिवर्तन, विपद् व्यवस्थापन, खेलकुद, स्टार्टअप, डिजिटल सेवा, अन्तरिक्ष तथा नवप्रवर्तनलाई प्राथमिकतामा राखिएको छ ।

नेपालको पारवहन व्यापारलाई सहज बनाउन भारतले गुजरातस्थित दीनदयाल बन्दरगाह (काण्डला) प्रयोग गर्न नयाँ पहुँच मार्ग उपलब्ध गराउने घोषणा गरेको छ । आवश्यक पूर्वाधार निर्माण भएपछि ओडिशास्थित पारादीप बन्दरगाहसम्म पनि नेपालको पहुँच विस्तार गरिनेछ ।

यसले नेपालको तेस्रो मुलुकसँगको व्यापार तथा पारवहनका लागि थप विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्ग दुईतर्फी बनाइने

नेपाल र भारतबिचको हवाई सम्पर्क विस्तार गर्न हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको ‘बी ३४५’ काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति भएको छ । यसका लागि आवश्यक प्राविधिक परामर्श गरी कार्यविधि अन्तिम रूप दिइनेछ । नागरिक उड्डयनसम्बन्धी अन्य प्रस्तावमा पनि दुवै पक्षले छलफल जारी राख्ने भएका छन् ।

दुई देशबिच धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले अयोध्या–जनकपुरबिच सरयू–कमला एक्सप्रेस रेल सेवाको उद्घाटन गरिएको छ । यस रेल सेवाले रामायण सर्किटअन्तर्गत धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्नुका साथै भारत र नेपालबिचको ऐतिहासिक तथा सभ्यतागत सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ । बौद्ध तथा शिव–शक्ति धार्मिक पर्यटन सर्किट विकासका लागि पनि यस्तै सम्पर्क सेवाको सम्भावना खोजिने भएको छ ।

त्यसैगरी, प्रस्तावित रक्सौल–काठमाडौँ विद्युतीय ब्रोडगेज रेलमार्गको फिल्ड लोकेसन सर्भे अन्तिम रूप दिइएको छ । नेपालमा पूर्व–पश्चिम रेलमार्ग विकासका लागि पनि भारतले सहकार्य गर्ने भएको छ ।

सीमा पूर्वाधार र एकीकृत जाँच चौकी विस्तार

नेपाल र भारतबिच सीमापार व्यापार तथा आवागमन सहज बनाउन नयाँ रेलमार्ग, पुल, एकीकृत जाँच चौकी र पेट्रोलियम पाइपलाइन निर्माणलाई प्राथमिकता दिइने भएको छ ।

दुवै प्रधानमन्त्रीले बनबासामा नयाँ एकीकृत जाँच चौकी निर्माणको भर्चुअल शिलान्यास गरेका छन् । भैरहवा, सुनौली र दोधारा–चाँदनीमा निर्माणाधीन एकीकृत जाँच चौकीको प्रगतिप्रति पनि सन्तुष्टि व्यक्त गरिएको छ ।

यसैगरी, भारतको धार्चुला र नेपालको दार्चुलाबिच निर्माण गरिएको नयाँ सीमापार मोटर चल्ने पुल उद्घाटन गरिएको छ । यसले पश्चिमी नेपाल र भारतबिचको प्रत्यक्ष आवागमनलाई सहज बनाउनेछ ।

सीमा स्तम्भको मर्मत तथा सम्भारसम्बन्धी संयुक्त स्थलगत कामलाई निरन्तरता दिने र बाँकी सीमा समस्याहरू समाधान गर्न दुवै देशका परराष्ट्र सचिवले काम गर्ने सहमति भएको छ ।

पेट्रोलियम पाइपलाइन र झापामा नयाँ टर्मिनल

नेपाल–भारत ऊर्जा पूर्वाधार सहकार्यअन्तर्गत मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण नेपालका जनतालाई समर्पण गरिएको छ ।

त्यसैगरी, झापामा पेट्रोलियम टर्मिनल निर्माणका लागि भर्चुअल शिलान्यास गरिएको छ । सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइनको निर्माण शीघ्र सुरु गर्न दुवै पक्षले जोड दिएका छन् । नेपाल र भारतबिच ग्यास पाइपलाइन निर्माणमा समेत सहकार्यको सम्भावना खोजिने भएको छ ।

जलविद्युत् क्षेत्रमा सहकार्य विस्तार गर्दै नेपालमा भारतीय कम्पनीहरूको सहभागितामा निर्माण भइरहेका परियोजनालाई शीघ्र सम्पन्न गर्ने सहमति भएको छ । यसै अवसरमा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनाको भर्चुअल शिलान्यास गरिएको छ ।

त्यसैगरी, पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन शीघ्र अन्तिम रूप दिई कार्यान्वयन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको छ । सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय परियोजनाको निर्माण कार्यलाई पनि तीव्रता दिने सहमति भएको छ ।

नेपालको इनरुवा–भारतको न्यू पूर्णिया र नेपालको दोदोधारा–भारतको बरेलीबिच दुई उच्च क्षमताका सीमापार विद्युत् प्रसारण लाइन निर्माणका लागि संयुक्त उद्यम गठनसम्बन्धी प्रगतिप्रति पनि दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका छन् ।

यसैगरी नेपालको उच्च शिक्षा तथा प्रविधि क्षेत्रको विकासका लागि भारतले नेपालमा भारतीय प्रविधि संस्थानको सम्बन्धन प्राप्त क्याम्पस स्थापना गर्ने सहमति गरेको छ ।

यसबाट नेपालको शिक्षा तथा अनुसन्धान क्षेत्रमा सहयोग पुग्नुका साथै दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जनामा योगदान पुग्ने अपेक्षा गरिएको छ । दुवै देशले स्टार्टअप, डिजिटल सेवा तथा वित्तीय सम्पर्क सञ्जालको क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । साथै, एक देशका नागरिक अर्को देशमा बसोबास गर्दा बैंकिङ तथा दूरसञ्चार सेवामा सहज पहुँच उपलब्ध गराउन सहजीकरण गर्ने सहमति भएको छ ।

आठ समझदारीपत्रमा हस्ताक्षर तथा आदानप्रदान

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा दुई देशबिच आठ वटा समझदारीपत्र आदानप्रदान भएका छन् । ती समझदारीपत्रहरूमा निम्न विषय समेटिएका छन् ः

–राष्ट्रिय न्यायिक विज्ञान विश्वविद्यालय, भारत र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबिच शैक्षिक तथा अनुसन्धान सहकार्य ।

–भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठानबिच सहकार्य ।

–नेपालका निजामती कर्मचारीको क्षमता अभिवृद्धि तथा तालिम कार्यक्रम ।

–आयुर्वेद तथा परम्परागत चिकित्सा प्रणालीमा सहकार्य ।

–दक्षिण एसिया उपग्रहको उपयोगका लागि भू–उपग्रह सञ्चार सञ्जाल स्थापना ।

–दिगो सहरी विकासमा प्राविधिक सहकार्य ।

–स्वास्थ्य तथा चिकित्साको क्षेत्रमा सहकार्य ।

–पशुधन तथा मत्स्य विकासमा सहकार्य ।

भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिनुभएको छ । प्रधानमन्त्री मोदीले उक्त निमन्त्रणा स्वीकार गर्नुभएको र भ्रमणको मिति कूटनीतिक माध्यमबाट तय गरिने संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

दुवै देशबिचको सम्बन्ध गहिरो विश्वास, मित्रता, पारस्परिक सम्मान र जनस्तरको सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै संयुक्त विज्ञप्तिले नियमित उच्चस्तरीय भ्रमण तथा आर्थिक र विकास सहकार्यलाई थप अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री वालेन्द्र शाह आज साँझ स्वदेश फिर्ता हुनुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले स्वागत गर्नुभएको थियो ।

यस अगाडि प्रधानमन्त्री शाहलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्न भारतका लागि नेपाली राजदूत डा निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला, भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावार तथा नयाँदिल्लीस्थित नेपाली दूतावासका वरिष्ठ अधिकारी उपस्थित हुनुहुन्थ्यो ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय द्विपक्षीय वार्ता गर्नुभएको थियो भने भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नुभएको थियो ।

भ्रमणका क्रममा नेपाल र भारतबिच शिक्षा तथा अनुसन्धान, सुरक्षा, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, आयुर्वेद तथा परम्परागत चिकित्सा, भूउपग्रह सञ्चार सञ्जाल, दिगो सहरी विकास, स्वास्थ्य तथा चिकित्सा र पशुपालन तथा मत्स्यपालनका क्षेत्रमा सहकार्य गर्ने विषयमा आठ वटा समझदारी भएका थिए ।

प्रधानमन्त्री शाह नेतृत्वको भ्रमण टोलीमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सरकारी अधिकारी, व्यवसायी तथा पत्रकार सहभागी हुनुहुन्थ्यो । रासस

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter