खानीको अवैध उत्खनन रोक्न मापन प्रविधि र प्रदेश तथा स्थानीय तहसम्म विभाग विस्तार गर्न विज्ञहरूको सुझाव

काठमाडौँ, मङ्सिर ७ गते। खानी तथा खनिज पदार्थको अव्यवस्थित उत्खनन नियन्त्रण गर्न उत्खनित खनिजको परिमाण मापन गर्ने प्रविधि जडान गर्न तथा खानी तथा भूगर्भ विभागको संरचना प्रदेश र स्थानीय तहसम्म विस्तार गर्न विज्ञहरूले सुझाव दिएका छन् ।
प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा खानी तथा खनिज पदार्थ विधेयकमाथिको छलफलमा सहभागी विज्ञहरूले यस्तो सुझाव दिएका हुन् । खनिज स्रोतको प्रभावकारी व्यवस्थापन, अनुगमन र उपयोगका लागि विद्यमान कानुनी तथा संस्थागत व्यवस्थामा सुधार आवश्यक रहेको उनीहरूको भनाइ छ ।
भूगर्भविद् रामप्रसाद घिमिरेले खानीबाट उत्खनन हुने खनिजको वास्तविक परिमाण यकिन गर्ने व्यवस्था विधेयकमा समेट्न सुझाव दिए । खनिजको प्रकृतिअनुसार तौल वा आयतन मापन गर्ने उपकरण खानीका प्रवेशद्वारमै जडान गरी दैनिक अनुगमन गर्नुपर्ने उनको भनाइ छ । बहुमूल्य धातु किलोमा तथा अन्य खनिज टन वा घनमिटरमा मापन हुने भएकाले सोहीअनुसार उपकरण जडान गरी त्यसको विवरण खानी तथा भूगर्भ विभागलाई उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने घिमिरेले बताए । यसले निर्माणजन्य खनिजको अवैध उत्खनन नियन्त्रण गर्ने उनको विश्वास छ ।
‘जथाभावी उत्खनन गर्ने र परिमाण पनि सही ढंगले नतोकिँदा समस्या भएको छ । उत्खनित खनिजको परिमाण यकिन गर्ने संयन्त्र राख्नुपर्छ र खानी विभागसँगको समन्वयमा दैनिक अनुगमन हुने गरी प्रविधि प्रयोग गर्नुपर्छ,’ भूगर्भविद् घिमिरेले भने, ‘कसुर र सजायको कुरामा अहिलेको प्रावधानले गल्ती गर्ने मान्छेले फाइदा लिइरहेको अवस्था छ । सजाय दिँदा भविष्यमा त्यस्तो कार्य गर्न निरुत्साहित हुने गरी कडा नै राख्नुपर्छ ।’
वरिष्ठ भूगर्भशास्त्री तथा त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र केन्द्रीय विभागका प्रमुख डा. कविराज पौड्यालले खानी तथा भूगर्भ विभागको जिम्मेवारी र पहुँच प्रदेश तथा स्थानीय तहसम्म विस्तार गर्नुपर्ने बताए । स्थानीय तहमा दक्ष जनशक्तिको अभाव देखाउँदै सबै जिम्मेवारी पुनः केन्द्रीय विभागमै केन्द्रित गर्दा प्रभावकारी अनुगमन र व्यवस्थापन हुन नसकेको उनको भनाइ छ । देशभर रहेका ढुंगा, गिट्टी र बालुवालगायत खनिज स्रोतको व्यवस्थापन सीमित जनशक्ति भएको केन्द्रीय विभागबाट मात्रै सम्भव नहुने भन्दै पौड्यालले प्रदेश र स्थानीय तहमा विभागका शाखा तथा उपशाखा स्थापना गर्ने गरी ऐन निर्माण गर्न सुझाव दिए ।
उनले खानी तथा भूगर्भसम्बन्धी पुराना तथ्यांक डिजिटल माध्यमबाट सार्वजनिक गर्न पनि आग्रह गरे । विगतमा राज्यले अर्बौँ रुपैयाँ खर्च गरेर संकलन गरेका भूगर्भसम्बन्धी तथ्यांकलाई स्क्यान गरी वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने तथा विद्यालय तहको पाठ्यक्रममा समेत खनिज तथा भूगर्भसम्बन्धी विषय समावेश गर्नुपर्ने पौड्यालको सुझाव छ । नेपालका पहाडमा रहेको क्वार्टजाइटजस्ता खनिजको प्रशोधनबाट सिसा तथा सेमिकन्डक्टर उद्योगसम्म विकास गर्न सकिने सम्भावना रहे पनि पर्याप्त अन्वेषण र तथ्यांक अद्यावधिक नहुँदा उपयोग हुन नसकेको उनले बताए ।
‘अहिले जिम्मेवारीको कुरा गर्दा स्थानीय सरकारलाई सशक्त नबनाउने भनिएको छ, तर घुम्दैफिर्दै फेरि खानी विभागमै ठोक्किने गरेको छ । स्थानीय तहमा दक्ष जनशक्ति नभएकाले अब प्रदेश र स्थानीय तहमा विभागका शाखा तथा उपशाखा बनाउनुपर्छ,’ डा. पौड्यालले भने, ‘सीमित जनशक्ति भएको खानी विभागले देशभरको ढुंगा, गिट्टी र बालुवाको भण्डार व्यवस्थापन गर्न भ्याउँदैन । भूगर्भविद्लाई रोजगारी र न्याय दिन तथा विकास गर्न स्थानीय तहसम्म विभागको विस्तार आवश्यक छ ।’
खानी इन्जिनियर तथा भूगर्भविद् डा. पुरुषोत्तमप्रसाद अधिकारीले नेपालको निर्माण सामग्रीसम्बन्धी खनिज स्रोतको व्यावसायिक उपयोग र निर्यातमा जोड दिए । नेपालमा उपलब्ध कन्स्ट्रक्सन स्टोन तथा रोडा–ढुंगाको उत्पादन र बजार विस्तार गर्दै बंगलादेश तथा भारतको उत्तर प्रदेश, बिहार र पश्चिम बंगालसम्म निर्यातको सम्भावना रहेको उनले उल्लेख गरे । रोडा–ढुंगाको उत्खनन, उत्पादन र आपूर्तिका लागि खानी तथा भूगर्भ विभागमा मात्रै निर्भर नभई प्रदेशगत रूपमा सरकारी संयन्त्र वा निगम स्थापना गर्नुपर्ने प्रस्ताव अधिकारीले अघि सारे । त्यस्ता संस्थाले खनिज स्रोतको मूल्यांकन, सञ्चालन, उत्पादन र आपूर्तिको जिम्मेवारी लिनुपर्ने गरी ऐन निर्माण गर्नुपर्ने उनको सुझाव छ ।
‘कन्स्ट्रक्सन स्टोन र रोडा–ढुंगाको उपयोग अब खानी विभागले मात्र गर्न सक्दैन, तर नेपालको स्रोत यही भएकाले यसैलाई लिएर अगाडि बढ्नुपर्छ,’ डा. अधिकारीले भने, ‘बंगलादेशले निर्माण सामग्रीका लागि अन्यत्रबाट डलरमा खरिद गर्छ, जबकि नेपाल र बंगलादेशबीच २५ किलोमिटर मात्र दूरी छ । हामीले त्यहाँ तथा भारतका उत्तर प्रदेश, बिहार र पश्चिम बंगालमा निर्माणजन्य खनिज निर्यात गर्न सक्छौँ ।’
विज्ञहरूले खानी तथा खनिज क्षेत्रको विकासका लागि उत्खननको पारदर्शी अनुगमन, दक्ष जनशक्ति, अद्यावधिक तथ्यांक, संघीय संरचनाअनुसार संस्थागत विस्तार र खनिजको व्यावसायिक उपयोगलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।