भारतले दिने १८४ अर्ब ऋण आयोजनाको प्रगति अनुसार उपयोग हुन्छ : अर्थमन्त्री

काठमाडौं, मङ्सिर ८ गते । । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतसँग सहुलियतपूर्ण ऋणका रूपमा प्राप्त १८४ अर्ब रुपैयाँ आवश्यकता र आयोजना निर्माणको प्रगतिअनुसार उपयोग गर्ने ‘लाइन अफ क्रेडिट’ भएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा भारत भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् ।

नेपाललाई प्राप्त ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ बराबरको लाइन अफ क्रेडिटले पूर्वाधार तथा ऊर्जा क्षेत्रको विकासमा वित्तीय स्रोतको अभाव हुन नदिने उनले बताए । नेपालको ऊर्जा क्षेत्रमा ४० हजार मेगावाट विद्युत् उत्पादनको सम्भावना रहेकाले त्यसका लागि आवश्यक लगानीलाई ध्यानमा राखेर भारतसँग लाइन अफ क्रेडिटको व्यवस्था गरिएको उनको भनाइ छ ।

‘भारत भ्रमणबाट नेपालले आर्थिक सहयोगसहित महत्वपूर्ण आर्थिक तथा कूटनीतिक उपलब्धि हासिल गरेको छ,’ उनले भने, ‘यी उपलब्धिले नेपालको पूर्वाधार विकास, ऊर्जा क्षेत्रको विस्तार र अन्तर्राष्ट्रिय सम्पर्क सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ ।’

प्रशारण लाइनलगायत ऊर्जा पूर्वाधारमा यस्तो सहुलियतपूर्ण ऋणको उपयोग गर्न सकिने उनले बताए । यसअघि डलरमा ऋण लिँदा विनिमय दरमा हुने उतारचढावका कारण नेपालको दायित्व बढ्ने गरेको उल्लेख गर्दै वाग्लेले भारतीय रुपैयाँमै ऋण लिने र भुक्तानी गर्ने विकल्प खुल्नु महत्वपूर्ण उपलब्धि भएको बताए ।

यद्यपि १ खर्ब ८४ अर्ब रुपैयाँ बराबरको ऋण कति ब्याजदरमा लिने, कति वर्षको अवधि हुने र ग्रेस पिरियड कति रहने भन्ने विषयमा प्राविधिक वार्ता हुन बाँकी रहेको उनले बताए ।

यसअघि सडक निर्माणलगायतका आयोजनामा लाइन अफ क्रेडिट उपयोग गर्दा स्थानीय सामग्री प्रयोग र ठेकेदारसम्बन्धी सर्तका कारण समस्या आएको उल्लेख गर्दै उनले ऊर्जा क्षेत्रमा भने यसको उपयोग प्रभावकारी देखिएको जिकिर गरे ।

अर्थमन्त्री वाग्लेले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि दोहोरो हवाई रुट उपलब्ध हुनु नेपालको कूटनीतिक प्रयासको महत्वपूर्ण उपलब्धि भएको बताए ।

नेपालले विगत १०–१२ वर्षदेखि यसका लागि आग्रह गर्दै आएको उल्लेख गर्दै उनले अबसम्म एकतर्फी रहेको हवाई रुटलाई दुईतर्फी बनाउने सहमति भएको जानकारी दिए । यसले नेपालको समग्र नागरिक उड्डयन क्षेत्रको सुधार र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा सहयोग पुग्ने सरकारको विश्वास रहेको उनले बताए ।

आगामी दिनमा महेन्द्रनगर र जनकपुरलगायतका नाकाबाट पनि भारत तथा अन्य अन्तर्राष्ट्रिय शहरसँग हवाई सम्पर्क विस्तार गर्ने सरकारको योजना रहेको उनको भनाइ छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter