शेरबहादुर देउवाले राजनीतिक कद र मर्यादा कायम राखेर बोल्नुपर्छः गगन थापा

काठमाडौँ, मङ्सिर ८ गते । नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवाले आफ्नो राजनीतिक कद र मर्यादाअनुसारको स्तर कायम राखेर अभिव्यक्ति दिनुपर्ने बताएका छन्।

पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै सभापति थापाले देउवाप्रति आफ्नो उच्च सम्मान, प्रेम र स्नेह रहेको उल्लेख गर्दै पछिल्लो समय विभिन्न मञ्च र भिडियोहरूमा देखिएका उनका अभिव्यक्तिप्रति चिन्ता व्यक्त गरेका हुन्।

बैठकमा सभापति थापाले देउवा पार्टीको निवर्तमान सभापति मात्र नभई नेपालको एक हस्ती भएको र लामो प्रजातान्त्रिक आन्दोलनमा उनको ठुलो योगदान रहेको बताए। विगतमा आफू देउवासँग संसदीय दलको नेता र पार्टी सभापति पदमा प्रतिस्पर्धा गरेर आएको तथा कतिपय विषयमा असहमति रहे पनि उनको सभापतित्व स्विकारेर काम गरेको थापाले स्मरण गरे। पार्टीको विशेष महाधिवेशनमाथि प्रश्न उठाउन र असन्तुष्टि राख्न पाइने भए पनि त्यो राजनीतिक दायराभित्र हुनुपर्नेमा उनले जोड दिए।

पार्टीभित्रका केही ‘नमुना र जोकर’ ले गर्ने टिप्पणीसँग आफूलाई सरोकार नरहे पनि देउवाले त्यसरी नै बोल्दा आफूलाई चिन्ता लाग्ने गरेको थापाले बताए। देउवालाई अभीभावक र नेताका रूपमा सम्मानका साथ सम्बोधन गर्दै उनले भने, ‘तपाईं नेपाली कांग्रेसको सभापति रहिसक्नुभएको र पाँचौँ पटक प्रधानमन्त्री हुनुभएको नेता हो। पार्टीको त्यो उमेर र कदको नेताको बानी, बोली र असहमति पनि राजनीतिक हुनुपर्छ। त्यसलाई एउटा सीमा र मर्यादाभित्र राख्नुपर्छ।’

धारणा व्यक्त गर्ने क्रममा सभापति थापाले हालै आफूले हेरेको एक भिडियोको प्रसङ्ग उल्लेख गरे। उक्त भिडियोमा तीन–चार वर्षका एक बालकलाई पछाडिबाट कसैले सिकाएर ‘जेनजी आन्दोलनमा तपाईंको घर गगन थापाले जलाएको हो ?’ भनी सोध्दा देउवाले ‘हो’ भनेर टाउको हल्लाएको देखिएको थापाले बताए।

भदौ २४ गतेको घटनामा आफ्ना बुबा, आमा, श्रीमती र दुई छोरी घरभित्रै रहेका बेला आगो लगाइएको र छोरीलाई आगो लगाइएको कोठाबाट निकालेर मुस्किलले बचाइएको पीडा सुनाउँदै थापाले उक्त भिडियो हेरेपछि आफ्नी आमाले समेत देउवाको भनाइबारे आफूसँग जिज्ञासा राखेको बताए। देउवाका अभिव्यक्तिबारे आफूले कुनै गुनासो वा स्पष्टीकरण नदिएको स्पष्ट पार्दै उनले थपे, ‘म उहाँसँग असहमति राख्ने र लडेर आएको हुँ, तर पनि मेरो उहाँप्रतिको प्रेम छ। मेरो शेरबहादुर देउवा अग्लो ठाउँमा भएर बस्नुहोस्, तल नजानुहोस् भनेर चिन्ताले मात्र यो कुरा भनेको हुँ।’

देउवाले अदालतको विषयमा ‘चलखेल’ भएको भनी बोलेको भिडियो सुनेको उल्लेख गर्दै थापाले तत्कालीन सभापतिको वारेस कसले र कुन मितिमा हाल्यो भन्ने खोजेपछि देउवा आफैँ बोल्न छाड्ने दाबी गरे। साथै, विशेष महाधिवेशन र अदालतको विषयलाई लिएर हिजोसम्म ‘शेरबहादुर दाइलाई झुक्क्याए’ भन्ने लागे पनि अहिलेको कुराकानी हेर्दा देउवाले नै झुक्क्याएको जस्तो देखिएको टिप्पणी उनले गरे।

बैठकमा थापाले प्रधानमन्त्री कार्यालयका एक वरिष्ठ व्यक्तिले बोलेको भनिएको अडियोको प्रसङ्ग समेत सुनाउँदै त्यसमा एमालेमा केपी ओली र कांग्रेसमा जहाँबाट हुन्छ शेरबहादुर देउवालाई खोजेर कायम राख्ने भन्ने विषय रहेको आफूले सुनेको उल्लेख गरे। यद्यपि, यस्ता अडियो र कसले के भन्यो भन्ने विषयमा आफूलाई धेरै रुचि नरहेको र निवर्तमान सभापति देउवाले आफ्नो राजनीतिक स्तर कायम राखून् भन्ने मात्रै आफ्नो चाहना रहेको सभापति थापाले बताए।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

TOP NEWSview all

31 Nepali scientists included in the global ranking of best scientists

Nepal and Germany sign two agreements

Auspicious Timings for Dashain Tika Announced for Various Countries

Nepal Premier League to be held from November 17

Apple farming flourishes in Upper Mustang




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter