बेपत्ता तीन हजार ९१५ जनालाई मृत घोषणा गर्न सिफारिस

काठमाडौँ, मंसिर १० गते । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले रसुवा भोटेकोशी बाढीमा बेपत्ता तीन हजार ९१५ जना व्यक्तिलाई मृत्युको घोषणा गर्न नेपाल सरकार समक्ष सिफारिस गरेको छ।
गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा आज सम्पन्न समितिको ३८ औं बैठकले ४८ जिल्लाबाट यकिन भइ आएका तीन हजार २९२ जना स्वदेशी तथा १९ विदेशी नियोगबाट यकिन भइ आएका ६२३ जना विदेशी गरी कुल तीन हजार ९१५ जनालाई मृत्युको घोषणा गर्न नेपाल सरकार समक्ष सिफारिस गरेको हो।
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) मा विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई नेपाल सरकारले मृत्युको घोषणा गर्न सक्ने प्रावधान छ।
यसअघि, स्वदेशी व्यक्तिका हकमा सम्बन्धित स्थानीय तहबाट भएको सिफारिसका आधारमा सम्बन्धित जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयसहित तथा विदेशी नागरिकको हकमा सम्बन्धित मुलुकको नेपालस्थित नियोग वा नेपाल हेर्ने गरी तोकिएको नियोगबाट प्राप्त सूची उपर दाबी पेस गर्न दुई चरणमा प्राधिकरणले सात दिने सूचना प्रकाशन गरेको थियो।
त्यसैगरी, बैठकले सबैका लागि पूर्वसूचना (अर्लि वार्निङ फर अल) राष्ट्रिय मार्गचित्र २०८३/०८७ स्वीकृत गरेको छ। मार्गचित्रले वि.सं. २०८७ सम्ममा नेपालमा सबै समुदायलाई प्रकोप पूर्वसूचना उपलब्ध गराउन बहुप्रकोप पूर्वसूचना प्रणालीको प्रभावकारी विस्तार, स्तरोन्नति र सञ्चालन गर्न लक्ष्य लिएको छ।
साथै, बैठकले वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीति, २०८३ एवं कार्ययोजना, २०८३/८४–२०९१/९२ र वायु प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय कार्ययोजना, २०८३–२०८७ पनि स्वीकृत गरेको छ।
बैठकले डडेलधुरा जिल्ला, आलिताल गाउँपालिका–१ को भोका गाउँ, माला गाउँका २४ घरधुरीलाई र सोही स्थानीय तहको वडा नं २ को बलौचा गाउँका २२ घरधुरीलाई सोही गाउँपालिकाका सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्वीकृति दिएको छ। त्यसैगरी, अर्घाखाँची जिल्ला, सन्धिखर्क न. पा. ७ को मुडुङ्गे बस्तीका ४० घरधुरीलाई सोही स्थानीय तहको फुदवाङमा र गोरखा जिल्ला, चुमनुब्री गाउँपालिका–३ देवल गाउँका ३२ घरधुरीलाई सोही पालिकाको फिलिम गाउँमा स्थानान्तरण गर्न पनि स्वीकृति दिएको छ।