राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेको भेटवार्ता

काठमाडौँ, मङ्सिर ११ गते । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटवार्तामा प्रधानमन्त्री शाहले राष्ट्रपति पौडेललाई हालै सम्पन्न भारत भ्रमणका बारेमा जानकारी गराउनुभएको थियो ।
सो अवसरमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
‘करिब २० मिनेट जति कुराकानी भयो’, स्रोतले भन्यो, ‘प्रधानमन्त्रीज्युले आफ्नो भारत भ्रमण उपलब्धिमूलक भएको र सम्बन्ध थप सुदृढ भएको जानकारी दिनुभयो र त्यसपछिको समय अध्यादेशका बारेमा समय दिनुभयो ।’
‘राष्ट्रपतिज्यु अध्यादेशमा आपत्तिजनक कुराहरू केही छैनन्, त्यस्तो भएको भए सरकारले ल्याउँदैन थियो’, प्रधानमन्त्री शाहको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘संसद् मार्फत जाँदा ढिलो हुन्छ भनेर मात्रै सरकारले अध्यादेशको बाटो रोजेको हो ।’
त्यसक्रममा प्रधानमन्त्री शाहले सरकारले संसद्को सम्मान गर्ने समेत बताए । ‘संसद्प्रति सम्मान छ । त्यहाँ पनि हामीले थुप्रै विधेयक लगेका छौँ’, स्रोतले प्रधानमन्त्री शाहको आशय उद्धृत गर्दै भन्यो, ‘चाँडै अध्यादेश जारी गरेर सहयोग गर्नुहुने छ भन्ने अपेक्षा छ ।’
राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को बैठकले कात्तिक १७ गते सिफारिस गरेको प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छैनन् ।
त्यसबाहेक मन्त्रिपरिषद्को मङ्सिर ४ गतेको बैठकले ‘जेनजी आन्दोलनमा भएका घटनाका मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश, २०८३’ पनि होल्ड गरेका छन् ।
तीमध्ये प्रेस काउन्सिल ऐन संशोधन गर्न बनेको अध्यादेश जारी नगर्न राष्ट्रपतिमाथि सरोकारवालाहरूले चर्को दबाब दिँदै आएका छन् ।
राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबिच भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको छ ।
उक्त भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारको कामकारबाही, संसद्का गतिविधि तथा अध्यादेशलगायत विषयमा छलफल भएको छ ।
साथै, समसामयिक राजनीतिक घटनाक्रमबारे पनि विचारविमर्श भएको सभापति लामिछानेको सचिवालयले जनाएको छ । रासस