संसदलाई पूर्ण डिजिटल बनाउने अभियानमा छौँ : सभामुख अर्याल

इमान सिं राना / पाल्पा, मङ्सिर १३ गते । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संघीय संसदलाई पूर्ण डिजिटल र प्रविधिमैत्री बनाउने अभियान अघि बढाइएको बताउनुभएको छ । संसद्का गतिविधि, जनप्रतिनिधिको उपस्थिति र कानुन निर्माण प्रक्रियालाई नागरिकले सहजै जानकारी पाउने व्यवस्था मिलाएर संसद्लाई थप पारदर्शी र जवाफदेही बनाउन लागिएको बताउनुभयो ।
शनिबार पाल्पाको तानसेन नगरपालिका–९, दमकडामा आयोजित लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी नेपालको दोस्रो क्याबिनेट बैठकलाई सम्बोधन गर्दै सभामुख अर्यालले प्रतिनिधिसभा र राष्ट्रिय सभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार डिजिटल पार्लियामेन्ट प्रणालीमार्फत नागरिकले आफ्नो निर्वाचन क्षेत्रका जनप्रतिनिधि सदनमा कति पटक उपस्थित भए भन्ने विवरण मोबाइलबाटै हेर्न सक्नेछन् । आगामी दिनमा जनप्रतिनिधि सदनमा कति बजे प्रवेश गरे र कति बजे बाहिरिए भन्ने विवरणसमेत सार्वजनिक गर्ने व्यवस्था गरिनेछ ।
“अब तपाईंले आफ्नो जनप्रतिनिधि कति पटक सदनमा उपस्थित भयो भनेर यहीँ बसेर आफ्नो मोबाइलबाट थाहा पाउनुहुन्छ । अब बिस्तारै जनप्रतिनिधि सदन चल्दा कति बजे गए र कति बजे निस्किए भन्ने पनि थाहा पाउनुहुन्छ,” उहाँले भन्नुभयो । जनप्रतिनिधिको उपस्थिति र गतिविधिबारे नागरिकले जानकारी पाएपछि उनीहरूको कामको मूल्याङ्कन गर्न सहज हुने उहाँको भनाइ थियो । नागरिकले आफ्नो प्रतिनिधिको कार्यसम्पादनका आधारमा प्रश्न गर्न र जवाफदेही बनाउन सक्ने वातावरण निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो ।
सभामुख अर्यालले संसद्मा दर्ता भएका विधेयक, तिनको अवस्था, राष्ट्रिय सभा वा प्रतिनिधिसभामा विचाराधीन रहेका विधेयक तथा पारित र प्रमाणीकरण भएका कानुनको विवरणसमेत डिजिटल प्रणालीमा उपलब्ध गराइएको जानकारी दिनुभयो । यसले नागरिकलाई कानुन निर्माण प्रक्रियाबारे जानकारी लिन र त्यसमा चासो राख्न सहज हुने उहाँले उल्लेख गर्नुभयो ।“कानुन बन्नु भनेको कसका लागि बनाउँदै छौँ भन्ने कुरा सम्बन्धित सरोकारवालालाई थाहा हुनुपर्छ । उनीहरूले प्रयोग गर्न सहज हुने कानुन बन्नुपर्छ,” उहाँले भन्नुभयो ।
कानुन निर्माण गर्दा नेपालको भूगोल, नागरिकको आवश्यकता, चेतनाको स्तर र प्रविधिको विकासलाई ध्यान दिनुपर्ने सभामुख अर्यालको भनाइ थियो । पुराना कानुनलाई आवश्यकताअनुसार संशोधन गर्ने र संविधानले व्यवस्था गरेअनुसार निर्माण हुन बाँकी कानुन बनाउने जिम्मेवारीमा आफूहरू रहेको उहाँले बताउनुभयो । आगामी पुस्तालाई समेत उपयोगी हुने गरी दूरगामी सोचका साथ नागरिकमैत्री र प्रविधिमैत्री कानुन निर्माणमा आफूले इमान्दारिताका साथ काम गर्ने प्रतिबद्धता जनाउँदै उहाँले यसका लागि सबै क्षेत्रका नागरिकबाट सुझाव र सहयोगको अपेक्षा गर्नुभयो ।
देशमा सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्य गर्न राज्य सञ्चालन गर्ने व्यक्तिमा इमान्दारिता र क्षमता आवश्यक रहेको उल्लेख गर्दै सभामुख अर्यालले देशलाई समृद्ध बनाउन धेरै समय नलाग्ने बताउनुभयो । यसका लागि प्रविधिको सदुपयोग, आत्मविश्वास र नेतृत्वप्रति विश्वास आवश्यक रहेको उहाँको भनाइ थियो । “युवाहरुले नेतृत्व गरिरहेको प्रतिनिधि सभा होस् या अहिलेको सरकारलाई विश्वास गर्नु पर्छ । अलिकति पर्खिनु पर्छ । विकास भन्ने कुरा छुमन्तरको बाचा भनेको जस्तो सम्भव छ जस्तो मलाई लाग्दैन ।”अर्यालले भन्नुभयो ।