काठमाडौँ, २४ कात्तिक । सरकारले सर्वसाधारणको सुविधाका लागि यही कात्तिक २५ गतेदेखि २८ गतेसम्म विभिन्न रुटमा १२ वटा बस सेवा सञ्चालन गर्ने भएको छ ।
मुख्य सचिवको अध्यक्षतामा उच्च सरकारी अधिकृत सम्मिलित आज बसेको बैठकले यही कात्तिक २५ गतेदेखि २८ गतेसम्म प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म विभिन्न रुटमा बस सेवा सञ्चालन हुने निर्णय गरेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार लगनखेलबाट चक्रपथ घुम्ने रुटका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको एउटा, शिक्षा मन्त्रालयको दुईवटा, न्याय सेवा तालिम केन्द्रको एउटा र सामान्य प्रशासन मन्त्रालयको एउटा गरी पाँचवटा बस सञ्चालन हुनेछन् ।
त्यसैगरी, कीर्तिपुर–रत्नपार्क–जोरपाटी रुटमा गृहमन्त्रालयको एउटा, स्थानीय विकास मन्त्रालयको एउटा गरी दुईवटा बस सञ्चालन हुनेछन् भने रत्नपार्क–थानकोट रुटमा सामान्य प्रशासन मन्त्रालयको एउटा बस सञ्चालन हुनेछ ।
साथै, रत्नपार्क–भक्तपुर सूर्यविनायक रुटमा सामान्य प्रशासन मन्त्रालयको एउटा, रत्नपार्क–लगनखेल रुटमा शान्ति मन्त्रालयको एउटा, रत्नपार्क–कलङ्की– नयाँबसपार्क रुटमा मुद्रण विभागको एउटा बस सञ्चालन हुनेछ ।
यस्तै, रत्नपार्क–पेप्सिकोला रुटमा स्वास्थ्य मन्त्रालयको एउटा र रत्नपार्क–वनस्थली–स्वयम्भू रुटमा विज्ञान तथा प्रविधि मन्त्रालयको बस सञ्चालन हुने मन्त्रालयले जनाएको छ रासस