काठमाडौँ, २५ कात्तिक । अघोषित नाकाबन्दीको सामना गर्दै आत्मनिर्भर बन्ने उद्देश्यले नेपाल कला परिषद्मा आजदेखि नवीकरणीय ऊर्जा प्रदर्शनी सुरु भएको छ ।
भोलिसम्म चल्ने प्रदर्शनीमा स्वदेशमा उत्पादित वस्तु तथा वैकल्पिक ऊर्जाका २५ भन्दाबढी कक्ष (स्टल) राखिएका छन् । जिल्ला विकास समितिको आयोजना तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) तथा निजी क्षेत्रसँगको सहकार्यमा सुरु भएको प्रदर्शनीमा देशमा देखिएको ऊर्जा सङ्कट पार गर्नसक्ने विकल्पका खोजी भएका छन् ।
प्रदर्शनीमा विद्युतीय सवारीसाधन, गोबरग्यास, सोलार ऊर्जाका विभिन्न किसिम, भूसको चुल्हो, सडक बत्ती, कोइला र दाउराबाट चल्ने स्टोभ, सुधारिएको चुलो, विद्युतीय रिक्सा र टेम्पोका ब्याट्री, विभिन्न खाद्य वस्तु, ब्रिकेट तथा सुधारिएको पानी घट्टलगायत सामग्री छन् । अधिकांश सामग्री स्वदेशमै निर्मित छन् भने बजार मूल्य पनि देश सुहाउँदो रहेको पाइएको छ ।
प्रदर्शनीको उद्घाटन गर्दै विज्ञान प्रविधि तथा वातावरण मन्त्री विश्वेन्द्र पासवानले नाकाबन्दीका कारण जनताको जीवन कष्टकर भइरहेको बेला प्रदर्शनीबाट लाभ लिन सबैलाई आग्रह गर्नुभयो ।
मन्त्री पासवानले जनतालाई स्थानीय उत्पादन सर्वसुलभ रुपमा उपलब्ध गराउन मन्त्रालयकै पहलमा उपत्यकाका विभिन्न स्थानमा प्रदर्शनी गरिने जानकारी दिनुभयो । उहाँले जनतालाई सङ्कटका बेला मितव्ययी हुन आग्रह गर्दै भन्नुभयो, “अव थोपा थोपा पेट्रोल र ग्यास बचाऔँ ।”
कार्यक्रममा मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेल, नाष्टका उपकूलपति प्रा डा जीवराज पोखरेल, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल, जिल्ला विकास समिति काठमाडौँका स्थानीय विकास अधिकारी तीर्थराज भट्टराईलगायतले नवीकरणीय ऊर्जालाई वैकल्पिक नभएर प्रमुख ऊर्जाको रुपमा अगाडि बढाउन सकिने धारणा राख्नुभयो । रासस