• Wednesday, June 11, 2025

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा कमलपोखरीमा छठको पूजाअर्चना

Chhat festivalकाठमाडौँ, १ मङ्सिर । छठपर्वको अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ कमलपोखरी पुगी छुट्टाछुट्टै पूजाअर्चना गर्नुभएको छ ।

सो अवसरमा उहाँहरुले कमलपोखरीमा अस्ताउँदो सूर्यको पूजा गर्नुभएको थियो । पूजाका लागि उहाँहरु त्यहाँ पुग्दा स्थानीय र भक्तजनले ताली बजाएर स्वागत गर्नुभएको थियो ।

सूर्यदेवको श्रद्धाभक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठको अवसरमा कमलपोखरीमा सरसफाइका साथै ध्वजापताका र झिलीमिली बत्तीले सिङ्गारिएको थियो । उहाँहरुले त्यस क्षेत्रमा पूजाका लागि सजाइएको पोखरी किनाराको अवलोकनसमेत गर्नुभयो ।

छठपर्वको मुख्य दिन आज भक्तालुले पूजा सामग्री, फलफूल र मिठाईका साथ बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिई पूजा सुरु गरेका छन् ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आइतबारदेखि सुरु भएको हो । मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्ने गर्छन् । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठपर्व पछिल्लो समय काठमाडौँलगायत पहाडी क्षेत्रमा पनि धुमधामका साथ मनाउन थालिएको छ ।

समस्या समाधानका लागि सरकार गम्भीर – प्रम ओली

छठको पूजापछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा देखिएको असहज अवस्थाको समाधानका लागि सरकार गम्भीर रहेको बताउनुभयो ।

उहाँले अहिलेको समस्याबाट सबैभन्दा बढी मधेसी जनताले नै दुःखकष्ट व्यहोर्नुपरेको बताउँदै त्यसबाट आफू दुःखी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “भोलिनै निष्कर्षको वार्ता होस् भन्ने मेरो चाहना हो, मेरो लागि त भोलि पनि ढिलो भइरहेको छ, त्योभन्दा पनि अगाडि समस्या समाधान गरौँ ।”

उहाँले सबै मिलेर जानुको विकल्प नरहेको बताउँदै एक अर्कामा मिलेर देश बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हामी सबै दाइ–भाइ र दिदीबहिनी हौँ, एक अर्कामा पाखुरा सुर्कासुकी गरेर, झगडा गरेर अहङ्कार गर्न हुँदैन । यो अरुसँगका कुरा होइन, हाम्रै आफ्नै कुरा हो ।”

उहाँले समस्या समाधानका लागि कुनै भ्रम र जिद्धी नराख्न आग्रह गर्दै आफू पनि कुनै अहङ्कार र जिद्धी नराखी आत्मीय ढङ्गले कुरा गरेर यथार्थमा समस्या समाधान गर्न चाहेको बताउनुभयो ।

उहाँले ग्यासको अभावमा दाउरा, मट्टितेल, गुइँठा जे ल्याएर भए पनि जनताको चुलो बाल्न आफूहरु प्रयत्नशील रहेको जानकारी पनि दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter