• Monday, June 09, 2025

सप्तरीमा प्रहरी र आन्दोलकारीबीच झडप, दुईजनाको मृत्यु

Morcha protestसप्तरी, ६ मङ्सिर । पूर्वपश्चिम राजमार्ग केन्द्रित आन्दोलन थालेको मधेसी मोर्चा र प्रहरीबीच सप्तरीको भारदह र रुपनीमा हिजो राती भएको झडपमा दुईजना आन्दोलनकारीको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गको भारदह र रुपनी सडकखण्डमा आन्दोलनकारीले बाटो अवरुद्ध गरेपछि बाटो खुलाउने क्रममा प्रहरीले बल प्रयोग गर्दा आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो ।

सो झडपमा परी प्रहरीले चलाएको गोली लागेर सप्तरीको भारदह सडकखण्डमा जिल्लाको बलिया बतनाहा गाविस– १ का १५ वर्षीया नरेन रामको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै रुपनी सडकखण्डमा प्रहरीले चलाएको गोलीबाट सप्तरीको जोमनी मधेपुरा गाविस– ९ निवासी २५ वर्षीय नागेश्वर यादवको मृत्यु भएको बताइएको छ ।

प्रहरीले भारदहमा सयौँ राउन्ड अश्रु ग्यास प्रहार गरेको थियो भने रुपनी र विसनपुर सडकखण्डमा समेत सयभन्दा बढी राउन्ड गोलीका छर्रा प्रहरीले प्रहार गरेको मोर्चाका कार्यकर्ताले जनाएका छन् ।

प्रहरीको गोली लागेर भारदह र रुपनीमा एक दर्जनभन्दा बढी मोर्चाका कार्यकर्ता घाइते भएका छन् । घाइतेमध्ये आधा दर्जनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर रहेकाहरुको हात, खुट्टा, टाउको र छातीमा गोली लागेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइतेलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको न्युरो अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

सो क्षेत्रमा शनिबार राति १० बजेदेखि मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सुरु भएको झडप अहिले पनि जारी नै रहेको र अवस्था तनावग्रस्त रहेको बताइएको छ ।

यता प्रहरीले दिनहुँ राजमार्ग हुँदै सवारी साधनमा सुरक्षा दिने गरे पनि राजमार्ग क्षेत्रमा रातभरिको प्रदर्शन र झडपका कारण कुनै पनि सवारी साधन चल्न नसकेको जनाइएको छ ।

यसैबीच सप्तरी प्रशासनले आज विहानदेखि राजमार्ग क्षेत्रअन्तर्गत कोसी ब्यारेजदेखिको भारदह, कञ्चनपुर, रुपनी र कदमहा सडकखण्डसहित सदरमुकाम राजविराजमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter