वरिष्ठ सङ्गीतकार गुरुङको स्वास्थ्य पुनः गम्भीर
काठमाडौँ, २१ जेठ । गत सोमबार स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको स्वास्थ्य पुनः गम्भीर भएपछि उहाँलाई भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।
उहाँका छोरा राजु गुरुङका अनुसार गुरुङ गएराति १ः३० बजे एक्कासि बेहोस भएपछि भेन्टिलेटरमा राखेर कृत्रिम श्वासप्रश्वास दिइ राखिएको छ ।
उहाँको उपचारमा संलग्न चिकित्सक डा राजु पौडेलले राति उहाँलाई श्वासप्रश्वासमा समस्या र मुटुको धड्कन रोकिएपछि आइसियुमा राखी उपचार गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘‘अहिले उहाँको मुटुको चाल राम्रो छ । रक्तचाप बढाउने औषधि दिइरहेका छौँ । बीचबीचमा आँखा खोले पनि पूरै होस आएको छैन । अर्धबेहोसको अवस्थामा हुनुहुन्छ ।’’
खाने नलीमा समस्या बढेपछि उहाँलाई धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो ।
वरिष्ठ सङ्गीतकार गुरुङलाई दुई महिनाअघि नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा खाने नलीमा पलाएको ट्युमरको उपचार गरी नेपाल ल्याइएको थियो । गुरुङलाई मधुमेह र पार्किन्सनको पनि समस्या छ । रासस