सुखको एक छिन (व्यङ्ग्यविनोद)
योगीशकृष्ण : बिहान उठदा सार्वजनिक धारोबाट सँधै सुनिने हल्लीखल्ली नसुन्दा आज पानी आएन कि भन्ने चिन्ता लाग्यो । पानी नआएको भए घरमा कचिङ्गल सुन्नुपर्ने,त्यो पनि चालचुल छैन । आफ्नो तिनकोठे घरको शान्ति उसलाई प्राकृतिक लागेन । उसले केही बुझेन । पानीको जोहो गर्नु जानुप¥यो क्यार । उठेर ऊ भान्सा तर बच्चाहरूको साझा कोठातिर लाग्यो । बच्चाहरू होमवर्क गर्दै थिए । पेन्सिल र कलमका लागि झैझगडा आज भइरहेको थिएन । ऊ आफ्ना छोराहरूलाई कौरव र पाण्डव भन्ने गर्दथ्यो । उसलाई देख्नासाथ सँधै मागपत्र प्रस्तुत हुने गरेकोले सकभर अघिल्तिर पर्न डराउँथ्यो । माग राख्ने काम भने नियमित भइरहन्थ्यो । मानौ ऊ सरकार हो र उनीहरू विपक्षी दल ।
चुल्होतिर कुनै आवाज नआएको सुनेर ऊ छक्क प¥यो–खोइ, कता गइछ बुढी उसकी बुढी पकाउने तयारी गर्दै थिई । उसलाई देखेर चिया ल्याइदिई । आज ऊ सदा झैँ फतफताइरहेकी थिइन –कस्ता कस्ता घरबाट माग्न आका थिए । बाउआमाको बुद्धि बिग्रेकाले यस्तो घरमा फ्यालिदिए । त्यसपछि शुरु हुन्थ्यो उसका नातागोताको सुखसयलको वृत्तान्त । आज केही भएन । उसलाई चिन्ता लाग्यो–कतै विरामी पो भई की । बिहानबेलुकी घरको काम । दिनभर सानोतिनो जागिरको झन्झट । उसले डराइ डराइ सोध्यो “तिमीलाई सन्चो भएन हो ?”
आफ्नी बुढीको दुर्लभ हुँदै गएको हाँसो अनुहारमा देखेपछि विस्मात त लाग्यो नै , बिसन्चो नभएको बुझेर खुसी पनि भयो ।
चिया खाइसकेर ऊ बाबुआमाको कोठातिर लाग्यो । चकमन्न थियो । ऊ अताल्लिएर करायो“बुबा, ए बुबा, आमा ”,
“के भयो बाबु ? किन कराको यसरी ?” आमाको आवाज सुनेपछि उसको मन शान्त भयो ।
बाबु शब्द उसले बिर्सिसकेको थियो । उसलाई बाबुआमाले यसरी सम्बोधन गर्न छाडेको बर्सौँ भइसकको थियो । उसलाई थाहा थियो, उसको पछिल्तिर उसको बारेमा कुरा गर्दा एकआपसमा कपूत भन्ने गर्दथे । ऊ थाहा पाए पनि नपाए झैँ गर्दथ्यो । बिहे भएको वर्षदिन पुग्दा नपुग्दै आमाले जोइटिङ्ग्रे भन्न सुरु गरिसकेकी थिइन् । सुन्दा नरमाइलो लागेर लुकेर रोएको पनि थियो । पछि बानी पर्दै गयो । बिहानको कपूत पुराण निसङ्ग, नियमित श्रवण गर्न थालेको थियो । तर आज कपूत पुराण चलिरहेको थिएन–फलानोको छोराले बाबुआमालाई कस्तो सानले पालेको छ । दुई दुईओटा त बडेमानको घर बनाइसके । बाबुआमाको मुखबाट झर्न पाएको हुन्न जे भन्यो त्यही पु¥याइदिन्छ । आफ्नो भाग्यमा कपूत भएपछि कसको के लाग्छ ? त्यत्रो पढाइयो, लेखाइयो । सब खेर गयो , बालुवामा पानी हाले जस्तो ।
आखिर आमाबुबा हुन् । छोराले यसो गर्ला उसो गर्ला भन्ने चिताएका थिए होलान् । उनी हरूका सबै इच्छा पूरा गर्न नसकिए पनि केही त पूरा गरिदिनु पर्ने नै हो । बरु रिनपान लिएर भएर पनि गरौँला । उसले चिया पिउँदै बुढीलाई यो कुरा सुनाउने हिम्मत ग¥यो । बुढीले मानिन “किन रिनपान गर्ने नि । मसँग भएको गहना बेचबाच गरे पनि त हुन्छ नि । नभए सञ्चयकोषमा मेरो थोरथार पैसा पनि बाँकी होला ।”उसको दिमाग खलबलियो“हैन, आज के भइरहेको छ यो ।”
बच्चाहरू अघि नै स्कूलतिर लागिसकेका थिए । आमाबुबालाई खाजाको जोहो गरिदिएर उसकी बुढी अफिस जाने तयारी गर्दै थिइन् । भनी“ आज समय मिल्यो भने सञ्चयकोष गएर आउँछु है ।”
उसको मुटु नै बन्द होला जस्तो भयो । ऊ अफिसतिर लाग्यो । बस चढन खोज्दा बसको सहचालकले उसलाई जथाभावी भनेन । खाली सिट खोजिदिएर बस्न आग्रह ग¥यो । अफिस पुग्दा केही मिनेट ढिलो भइसकेको थियो । हाकिम समयको एकदम पालना गर्ने । पाँच मिनेट ढिलो हुँदा समयको महत्वबारे कमसेकम आधा घण्टा प्रवचन दिन्थ्यो जुन उसलाई कण्ठस्त छ“ जो मानिस समयको पालना गर्न जान्दै उसको जीवनको २० प्रतिशत मरेसरह हुन्छ । आदि ।
तर आज हाकिमले त्यस्तो केही भनेन ।बरु उसैले गल्ती भयो भनेको मात्रै के थियो हात समातेर मुस्कुराउँदै सान्त्वना दियो “हेर्नूस् , मानिस घडीको सुई त होइन नि ।कहिले जाममा परिन्छ । कहिले प्रयास गर्दा गर्दै पनि ढिला हुन्छ । ”
आज बिहानैदेखि उसको दिमाग खलबलिएको थियो । हाकिमको कुरा सुनेपछि त ऊ मुर्च्छा प¥यो । अनुहारमा पानीको छिटा परेपछि मात्र उसको होस खुल्यो । हातमा पानीको जग लिएर छोरा मुसुमुसु हाँसिरहेको थियो । छोराले भन्यो“बुबा, अफिस जाने होइनरु उठनूस् रे अब ।”
(लेखकको शीघ्र प्रकाश्य सङ्ग्रह विकास मापन बाट । प्रतिक्रियाका लागि yogishkrishna81@gmail.com वा editor@nepalekhabar.com)