बालबालिकाको स्वास्थ्य जोखिममा राख्दै यार्सा टिप्नु बाध्यता (आलेख)

Yarshaनारायण ढुङ्गाना / पुपाल लेक (रुकुम), २ असार । चारैतिर हिउँले ढाकेको समथर पुपाल लेकको पाटन । समुद्री सतहबाट झन्डै चार हजार सात सय मिटरको उचाइ । फुसफुसे हिउँका कण सिमलको भुवा झैँ झरिरहेका छन् ।

धानमा मल छरे झैँ छिनछिनमा असिनाको विर्काैला दर्कन्छ त छिनमा हिउँका कणहरु । बिहान र बेलुका कठ्याँङ्ग्रिदो चिसो । रङ्गीचङ्गी पाल हिउँले ढाकेर सेताम्य छ । बिहानीको चिसो मौसमका बीच टाउकामा मजेत्रो गुथेर बाक्ला कपडामा छिन् रुकुमको विकट रन्मामैकोट गाविस–४ पेल्माकी फलमायाँ विक ।

तीन महिनाको काखे बालक नरेशलाई पनि आफ्नो क्षमताले भ्याएसम्मको बाक्लो कपडामा बेरेकी छिन् । नरेशलाई हनहन्ती ज्वरो आएको छ । चिसोले थलिएको छ ।

पहँलो पोतेमा रहेकी र अनुहारमा दाग भएकी फलमायाँ एउटा पालको छेउमै अगेना नजिक नाबालकलाई सक्दो तातो बनाउने प्रयासमा छिन् । दूध चुसाउँदा चुसाउँदै एकै छिनमा बालक निदाउँछ ।

श्रीमान् रामबहादुर यार्सा टिप्ने मेलोमेसो मिलाउन छिमेकतिर गएका छन् । सुरुमा कुरा गर्न अप्ठेरो मान्दै थिइन् तर पछि खुलिन् फलमायाँ । “यत्रो बच्चालाई कहाँ छोड्ने,” मलिन स्वर पार्दै फलमायाँले भनिन् – “तल (सहरबजारमा) जस्तो दूध पायाको हुन्न, हामी त तीन वर्षसम्म दूध ख्वायाको हुन्छौँ । घरमा बजै त छन् तर दूध छैन ।”

त्यसैले तीन महिने बालकलाई उनले श्रीमान्का साथ यार्सा टिप्ने स्थानमा बोकेरै ल्याइन् । आएकै दिन छोरो बिरामी परेपछि उनी चिन्तित छिन् । “ल्याउन त मन थे’न, बच्चा लिएर आउन त गाह्रो भया छ, चिसो लाग्छ, लागेर के गर्ने ?” बच्चा काखीमा राख्दै भनिन् ।

जेठ र असारको महिना रुकुमको यो पुपाल क्षेत्रमा यार्सागुम्बा टिप्ने मेला लाग्छ । विभिन्न जिल्लाबाट १०–१५ दिन लगाएर हजारौँ सर्वसाधारण आउँछन् । वर्षभरि दैनिकीको जोहो गर्नका लागि मूल आधार भनेकै यार्सा बेचेर आएको पैसा हो । “कमाउन त प¥यो जसरी भया’नी” – फलमायाँ भन्छिन् ।

पुपालको तल्लो भेगमा पाल ठड्याएर बस्छन् र माथिल्लो भेगमा दिनभर यार्सा टिप्छन् । साँझ बिहान हिउँले सेताम्मे पारेको पालभित्रको बास । सजिलो छैन यार्सा टिप्न । बालबालिकाको स्वास्थ्य जोखिममै राखेर आउँछन् गाउँ गाउँबाट यार्सा टिप्न स्थानीयवासी ।

घोडामाथि आफू बसेर बच्चा राखेर आउनेदेखि डोकोमा भारी बोकेर काँधमा बच्चा बोक्ने अनि पिठ्यूँमै बच्चा बोकेर आउने महिलाको सङ्ख्या कम छैनन् पुपाल लेकमा । सिमसिम हिउँको वर्षासँगै स्वास्थ्यको ख्याल नै नगरी कतिपय महिला पछ्यौरीले पिठ्यूँमा बच्चा बाँधेर पनि यार्सा टिप्दै थिए । ढाड र टाउको माथि सेताम्मे हुँदासमेत यार्सा टिप्न छाड्दैनन् सङ्कलकहरु ।

तीन सन्तानकी आमा फलमायाँको यो पहिलो अनुभव होइन । गएको साल एक वर्षकी हुँदा ममतालाई यसैगरी ल्याएकी थिइन् । त्यसको अघिल्लो साल जेठी छोरी क्षमतालाई यार्साको चिसो खुवाइन् ।

यसपालि दुई छोरी घरमै छोडेकी उनले तीन महिनाका नरेशको स्वास्थ्य जोखिममा पारेर यार्सा टिप्न आइन् । अघिल्लो वर्ष एक सयजति यार्सा टिपेर रु ६० हजार कमाएकी उनले यसपालि पनि राम्रो आम्दानी गर्ने सोच राखेको बताइन् ।

उनीमात्रै होइन रुकुम तक्सेराकी २८ वर्षीया सुनरुपी बुढा पनि बालक छोराको साथमा छिमेकी साइँली बुढामगरसँग यार्सा टिप्न आएकी छिन् । “धेरै टिप्ने विचारमा आयाको, पाएपछि बस्न्या नपाएपछि नबस्न्या,” यार्सा खोज्दाखोज्दै जवाफ दिइन् । उनको पिठ्यूँमा बच्चा खेलिरहेको छ ।

तीन वर्षको छोरासँगै मैकोटकी दया पुन पनि यार्सा टिप्दै गर्दा भेटिइन् । श्रीमान् सूर्यको साथमा उनी आएकी थिइन् । उनीहरु मात्रै होइनन् बच्चा बोकेर आउने धेरै महिला र पुरुष पुपाल लेकमा बसेर झन्डै एक महिना बिताउँछन् । रोल्पाकी जुनकुमारी पुन गएको वर्ष सात महिनाको छोरा लिएर पुगेकी थिइन् । यसपालि डेढ वर्ष भयो र उनी छोरो बोकेरै यार्सा टिप्न पुगेकी छिन् ।

आएका बालबालिकामध्ये अधिकांश कुनै न कुनै बिरामी परेर जाने गरेका छन् । यार्साको मौसममा जस्तोसुकै समस्यासँग जुधेर पनि मान्छेहरु यार्सा टिप्न आउने गरेको यार्सा मौसम व्यवस्थापन समितिका सचिव भरतकुमार पुन आफ्नो अनुभव सुनाउँछन् ।

केटाकेटीदेखि वृद्धवृद्धासम्मका आउँछन् । अझ एक–दुई महिनाका बालकलाई समेत सँगै लिएर आउने चलन छ । घरमा धेरैका आफ्नै घोडा र खच्चड छन् । त्यही घोडा चढेर बच्चासहितै पनि आउँछन् महिलाहरु । खच्चड नभएकाहरु ज्याला तिरेर आउने गरेका छन् ।

चितवनको भरतपुरमा फिजिसियन डा भोजराज अधिकारी उच्च स्थानमा गएका मानिसमा सामान्यतः लेक लाग्ने समस्या हुने बताउँछन् । शरीरको भित्री वातावरण र बाहिरी वातावरण नमिल्दा यो समस्या आउँछ ।

यसले मानिसको मुटु, फोक्सो, मस्तिष्कलगायत विभिन्न अङ्गमा एकैसाथ समस्या हुने र रक्तचाप बढ्ने भएकाले तल्लो क्षेत्रमा ल्याएर उपचार गराउनुपर्ने उनी बताउँछन् ।

राम्ररी उपचार हुन नसके दीर्घकालीन रुपमा दमको व्यथा बढ्ने, थोरै अग्लो ठाउँमा जाँदा पनि स्याँस्याँ हुने हुन्छ । मुटुको च्याम्बरको साइजमा परिवर्तन हुने, रगत नलीको चापमा परिवर्तन हुने र अन्ततः मनोविज्ञानमा समेत परिवर्तन हुने जस्ता असरहरु हुनसक्ने डा अधिकारी बताउँछन् ।

हिउँमै जन्मन्छन् बच्चा

रुकुमको रन्मा मैकोट–२ का राजिम घर्तीकी श्रीमती अघिल्लो वर्ष यार्सा टिप्ने समयमा गर्भवती थिइन् । उनी यार्सा टिप्न आइन् तर धन्नले हिउँमा बच्चा जन्मिएन । घर पुगेपछि बच्चा जन्मियो ।

अहिले त्यो बच्चालाई नियमित यार्सा टिप्ने स्थानमा ल्याउने गरेका छन् । दुई वर्षका बच्चा र श्रीमतीसँगै पुपालमा भेटिएका राजिमले भने – “कतिको त हिउँमै बच्चा जन्मन्छन् ।”

रोल्पाको उवा गाविसबाट यार्सा टिप्न आएकी वन्ती पुन गएको वर्ष तीन वटा बच्चा हिउँमै जन्मिएको देखेको बताउँछिन् ।

“दुई वटा टेन्टमा एउटा त च्याउ टिप्दा टिप्दै खस्याको हो,” वन्तीले भनिन् । रन्मा मैकोटका स्थानीयवासी लक्ष्मी पुन हिमालमै बच्चा जन्माउने गरी गर्भवतीसमेत यार्सा खोज्न जाने गरेको तीतो यथार्थ बताउँछिन् ।

जीविकोपार्जनका लागि यार्सा खोज्नु बाध्यता

दुर्गम जिल्लाको पनि विकट क्षेत्रमा आम्दानीका स्रोतहरु कम छन् । उनीहरुले मुख्यगरी वर्षको एकपटक यार्सागुम्बा र जङ्गली जडीबुटी खोजेर आएको पैसाले वर्षभरिको जीवन निर्वाह गर्न परिरहेको छ ।

सरकार या स्थानीय निकायको उपस्थिति शून्य हुने ती गाउँमा वैकल्पिक पेसाका लागि कसैको ध्यान जाँदैन । जेठ र असारमा यार्सा मौसम भएकाले यार्सा सङ्कलनमा उनीहरु ज्यान दिन्छन् ।

अन्य समस्याहरु थाती राखेरै यार्सा खोज्नु यहाँको बाध्यता भएको यार्सा मौसम व्यवस्थापन समितिका पदाधिकारीहरु बताउँछन् । त्यसैले यो समयमा यहाँका सबै स्कुल बन्द हुन्छन् । घरमा ढोका लाग्छ । सबै परिवार नै लेक चढ्छन् । बाहिर काम गर्न गएकाहरु समेत दसैँमा झैँ घर फर्कन्छन् यार्साकै लागि ।

सिकिस्त बिरामी भएर नथलिएसम्म कसैलाई स्वास्थ्यको चासो हुँदैन । एक महिनालाई खान पुग्ने सामान तथा पालसहित लेकमा जाने र यार्सा टिप्ने गरेको स्थानीयवासी राजधर्म पुनले बताए ।

सबैभन्दा महँगो जडीबुटीमा यार्सा पर्छ । त्यसैले पहिलो ध्यान उनीहरुको यार्सामा जान्छ । एक जनाले कम्तीमा रु ५० हजारदेखि माथि लाखौँको कमाइ गर्छन् यार्साबाट ।

चार तहमा छुट्याइने यार्साको न्यूनतम मूल्य टिपेकै ठाउँमा रु पाँच सयदेखि रु एक हजार पाँच सयसम्ममा बिक्री हुन्छ । सलक्क परेको अलि ठूलो र पहेँले सुनजस्तो देखिने यार्सा सबैभन्दा महँगो हुन्छ ।

शक्तिबद्र्धक यार्साको राम्रो भाउ पाउने भएकाले व्यापारीहरु हेलिकप्टरमा आउने गर्छन् । खोजैकै ठाउँबाट बिक्री हुने भएकाले यार्सालाई सुन या नगद पैसाका रुपमा स्थानीयवासीले हेर्छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter