विशेष सुरक्षा योजनाः कुकुर परिचालनदेखि मोटर गस्ती
काठमाडौँ, १४ असोज । बडादसैँ, तिहार छठ पर्वका समयमा राजधानीको सुरक्षा व्यवस्थालाई त्रुटिरहित र मजबुत बनाउन प्रहरीले तीन चरणको सुरक्षा योजना अवलम्बन गर्ने भएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गरी चाडपर्वमा जनतालाई सुरक्षा दिलाउन र विदेशबाट घर फर्कने एवम् काठमाडौँ उपत्यकाबाट गन्तव्यमा जाने यात्रु समेतलाई पूर्ण सुरक्षाको सुनिश्चितता दिलाउन सुरक्षा रणनीति तय गरिने जानकारी दिएको छ ।
परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विक्रमसिंह थापाले चाडपर्वका लागि चार हजारभन्दा बढी जनशक्ति खटाई परिचालन गरिएको बताउनुभयो । सुरक्षाका लागि कुकुरको परिचालनदेखि पैदल गस्ती, सवारी गस्ती, साइकल गस्ती, मोटरसाइकल गस्ती र मोटर गस्ती गरिने उहाँले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय तथा सरोकार भएका निकायसँग समन्वय गरी बजार अनुगमन तीव्र पारिएको प्रहरीले जनाएको छ ।
चोरी, जुवातास, गुन्डागर्दी, पाकेटमारी नियन्त्रण गर्न राजधानी भित्रिने र बाहिरिने नाका, अर्थिक कारोबार हुने स्थान, ठूला पसल, गहना पसल, दसैँ बजारलगायत स्थानमा सादा पोसाकमा समेत प्रहरी परिचालन गरिने छ । बढी भाडा असुल्ने, अत्यधिक यात्रु राखी सवारी साधन चलाउने, मिठाइ तथा खाद्य पदार्थमा हुने मिसावटको अनुगमन तथा नियन्त्रणसमेत प्रहरीले तीव्र पार्ने छ ।
यात्रुलाई सहज यात्रा गर्न र सुविधा दिन सुन्धारा, गौशाला र नयाँ बसपार्कमा दुई दुई स्थान तथा कोटेश्वर, बल्खु, कलङ्की र बालाजुमा एक एक स्थानमा गरी नौ स्थानमा प्रहरीको सहयोग कक्ष खडा गरिएको बताइएको छ । रासस