• Sunday, April 27, 2025

खेतीपातीबाट वार्षिक आठ लाख आम्दानी; कृषकलाई पचास प्रतिशतसम्म अनुदान दिने सरकारको तयारी

Vegetable 2मीना घोरसाइने / काभ्रे, फागुन ६ : महादेवस्थान–९ का ४८ वर्षीय गोविन्दप्रसाद नेपाल मध्याह्नको चर्को घाममा खेतमा आलु खन्दै गरेको अवस्थामा भेटिए। उनको निधारबाट खलखल पसिना बगिरहेको थियो।

“पसिना बगाएमात्र मनग्य आम्दानी लिन सकिन्छ,” उनले भने। विगत १५ वर्षदेखि व्यावसायिक रुपमा खेतीपाती गर्दै आएका उनले कृषि विकास कार्यालयको आइपिएम पद्धति अपनाइरहेका छन्।

रासायनिक मलको प्रयोग न्यून रुपमा गर्दासमेत उत्पादन पर्याप्त भइरहेको उनको भनाइ छ । एक रोपनी जग्गाबाट उन्नत जातको बीउको प्रयोग गर्दा ६८ बोरासम्म आलु उत्पादन हुने गरेको उनले बताए। खेतीपाती गर्न मलको आवश्यकता पर्ने भएकाले नेपालले छवटा पशुसमेत पाल्दै आएका छन्। सो मलको प्रयोगबाट माटोको उर्वराशक्ति बढेको उनको भनाइ छ।

“पशुपालन गर्दा खेतीबाट उत्पादित घाँस खेर जाँदैन, खेतीका लागि आवश्यक मल पनि सजिलै पाइन्छ,” नेपालले भने। पशुपालनबाट दोहोरो रुपमा फाइदा हुने उनी बताउँछन्। रासायनिक मलको थोरै प्रयोग गर्दा माटो खुकुलो हुन्छ । कृषि विकास कार्यालयले कुन बाली कसरी लगाउने तालिम उपलब्ध गराउँदा आफूलाई खेती गर्न सजिलो भएको नेपालले बताए।

विदेशमा गरेजति मेहनत नेपालमा नै गर्न सके मनग्य आम्दानी हुनुका साथै परिवारमा पनि खुसियाली छाउने उनको ठम्याइ छ । आफूले खेती गर्दा कृषि विकास कार्यालयको सल्लाह बमोजिम गर्ने गरेको हुँदा उत्पादन राम्रो हुने गरेको उनी बताउँछन्।

नेपालले ‘कुन्तीदेवी कृषि समूह’मार्फत खेतीपाती गर्दै आएका छन्। उनले वार्षिक रुपमा दुई बाली धान, आलु र मकै खेती गर्दै आएका छन्। “खाडी मुलुकमा गएर आत्मसन्तुष्टि खोज्नुभन्दा नेपालमै काम गरेर हाँसीखुसीका साथ रहनसक्नु उत्तम हो,” उनले भने।

नेपालले खेतीपातीको आम्दानीबाट नै छजनाको परिवारको पालनपोषण गर्दै आएका छन्। खेतीपाती गर्न सिँचाइको राम्रो सुविधा भएकाले पनि आफूलाई सजिलो भएको उनी बताउँछन्। विसं २०५७ मा चण्डेनी–८ बाट बसाइँ सरेर आएका नेपाल उक्त क्षेत्रमा आएर जग्गा किनेर खेतीपाती गर्न थालेकमा हुन्।

सुरुमा जिल्ला कृषि कार्यालयले दिने सेवा सुविधाका बारेमा आफूलाई जानकारी नहुँदा आफू पछि परेको उनले महसुस गरेका छन्। उनले एसआरआई विधिमार्फत खेती गर्दा धानको उत्पादन दोब्बर भएको र बीउ राख्दा पहिले राखेको भन्दा आधामात्र राखे पुग्ने गरेको बताए। धानको उन्नत बीउको प्रयोग गर्दा लाग्ने ज्यामी पनि कम लाग्ने गरेको र धानको पराल पनि राम्रो हुने गरेको उनको ठम्याइ छ । उनले पहिले दुई बाली धान लगाएर आलु लगाएपछि मकै लगाउने गरेका छन्।

गत वर्ष धान खेतीमा राम्रो गरेबापत् उहाँलाई जिल्ला कृषि विकास कार्यालयले सम्मान समेत गरेको थियो । उनले आलुलगायत काँक्रो, गोलभेँडा, घिरौँलालगायतका तरकारी समेत उत्पादन गर्दैै आएका छन्। तरकारी खेती, धान र दूध बिक्री गरेर उनले वार्षिक आठ लाख आम्दानी गर्दै आएका छन्। उनले १८ लाखको लागतमा गाउँमा आठकोठे घर बनाएका छन्। युवालाई कृषिमा सहभागी गराउन सकेमात्र देशको विकास सम्भव हुने नेपालको भनाइ छ।

कृषकलाई पचास प्रतिशतसम्म अनुदान दिने सरकारको तयारी

सरकारले आधुनिक कृषि औजार प्रयोग गरी कृषि पेसालाई बढवा दिने कृषकलाई ५० प्रतिशतसम्म अनुदान दिने तयारी गरेको छ ।

शुक्रबार नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घ, फ्युचर एक्स प्रालि र मिडिया स्पेस सोलुसन प्रालिले संयुक्त रुपमा गरेको प्रथम अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा कृषि विकास मन्त्री गौरीशङ्कर चौधरीले कृषिलाई आधुनिकीकरण गर्न नसक्दासम्म देश कृषि पेसामा आत्मनिर्भर बन्न नसक्ने बताए ।

उनले युवा पुस्तालाई आधुनिक रुपमा कृषि पेसामा लाग्न आग्रह गरे । कृषि विकास मन्त्रालयका निमित्त सचिव ईश्वरी रिजालले उद्यमशील व्यक्ति सक्रिय भई स्वदेशमा नै यस्ता यन्त्र उत्पादनतर्फ लाग्नुपर्नेमा जोड दिए । नेपाल कृषि मेसिनरी व्यावसायिक सङ्घका अध्यक्ष स्वयम्भू कृष्ण श्रेष्ठले कृषिमा उत्पादन र उत्पादकत्व बढाउनका लागि कृषिलाई यान्त्रीकरण गर्नुपर्ने बताए ।

कृषि इन्जनियरिङ निर्देशनालयका कार्यक्रम प्रमुख मधुसूदन बस्नेत, नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्ट र मिडिया एक्स सोलुसन प्रालिका प्रबन्ध निर्देशक सृजल भट्टराईले अबका दिनमा साना र सीमान्तकृत वर्गलाई सरकारले समेटेर अघि बढ्नुपर्नेमा जोड दिए । तीन दिनसम्म चल्ने सो प्रदर्शनीमा भारत, मलेसिया, चीनलगायत १६ वटा देशका विभिन्न किसिमका कृषि यन्त्र, पोल्ट्रीका सामग्री र थोपा सिँचाइबारे जानकारी गराउने २०० भन्दा बढी कक्ष राखिएको छ । दुई लाखभन्दा बढीले प्रदर्शनीको अवलोकन गर्ने बताइएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter