नेपालमा गैससको छविमा सामान्य सुधार; घिसिङ सम्मानित
काठमाडौँ, १५ फागुन । गैरसरकारी संस्थाको दिगोपन सूचक मापन प्रतिवेदनले नेपालको नागरिक समाज संस्थाको सार्वजनिक छविमा सामान्य सुधार देखाएको छ ।
गत वर्षको भूकम्पपछिको राहत र पुनःस्थापना कार्यमा गैरसरकारी संस्थाले गरेको सामाजिक सेवाका कारण अघिल्लो वर्षको तुलनामा ती संस्थाको छवि सुधार देखिएको हो । तर समग्रमा अनय मुलुकको तुलनामा नेपाल पछाडि नै देखिन्छ ।
गोगो फाउण्डेसनबाट सन् २०१५ मा गरिएको सो सूचक मापन अध्ययनमा यहाँका संस्थाको आर्थिक अवस्था, सेवा प्रवाह र सार्वजनिक छविमा शून्य दशमलव १ प्रतिशतका दरले सुधार आएको हो ।
दक्षिण तथा दक्षिण पूर्वी एसियाका सात देशमध्ये यी संस्थाको समग्र अवस्था पाँचौँ स्थानमा छ । नागरिक संस्थाको उत्कृष्ट छविमा एक अङ्क ल्याएर फिलिपिन्स अग्रणी देखिएको छ । त्यसपछि दोस्रोमा बङ्गलादेश, इन्डोनेसिया र कम्बोडिया पछि नेपाल छन् ।
मुख्यसचिव डा सोमलाल सुवेदीले आज यहाँ सार्वजनिक गर्नुभएको सो प्रतिवेदनले संस्थाको दिगोपन, दिगोपनउन्मुख, दिगोपन अवरुद्धका आधारमा सेवाको अवस्था, पूर्वाधार र सार्वजनिक छविमा मापन गरेको थियो ।
मुख्यसचिव डा सुवेदीले गैरसरकारी संस्थाले सरकारी नियमको पालना र घोषित सेवा प्रवाहमा देखाएको जवाफदेहिताबारे अध्ययन हुनुपर्ने भन्दै सरकारलाई यी संस्थाले परिपूरक गर्नुपर्ने बताउनुभयो ।
घिसिङ सम्मानित
कार्यक्रममा फाउण्डेसनले छोटो समयमा प्रभावकारी रुपमा विद्युत्भार कटौती गराउने नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सम्मानित गरियो ।
रु ११ हजार राशिसहितको सो सम्मान चयनका लागि पूर्व मुख्यसचिव दामोदर गौतमको संयोजकत्वमा प्रशासनिक अदालतका अध्यक्ष काशीराज दाहाल, पूर्वसचिव जीवनप्रभा लामा र फाउण्डेसनका अध्यक्ष केदार खड्का रहेको समिति गठन गरिएको थियो ।
गत वर्ष सो सम्मान वरिष्ठ चिकित्सक डा भगवान् कोइरालालाई प्रदान गरिएको थियो । रासस