• Sunday, April 27, 2025

ताप्लेजुङ अलैंची बिरूवामा आत्मनिर्भर

Alaichiचन्द्र पन्दाक / ताप्लेजुङ, असार २६ गते । ताप्लेजुङ जिल्ला अलैंचीको बिरुवामा आत्मनिर्भर बनेको छ । पछिल्लो वर्ष जिल्लाका किसान आफैँले नर्सरीमार्फत गुणस्तरीय बिरुवा उत्पादन गर्न थालेसँगै अलैंची बिरुवाका लागि जिल्ला आत्मनिर्भर बनेको हो । गएको वर्षदेखि बिरुवाका लागि आत्मनिर्भर मात्र नभई अलैंची बिरुवा जिल्ला बाहिर पठाउन सक्ने क्षमतासमेत ताप्लेजुङले बनाएको छ ।

करिब तीन वर्षअघिसम्म ताप्लेजुङमा अलैंचीको खेतीका लागि अन्यत्रबाट बिरुवा ल्याउनुपर्ने अवस्था थियो तर यस वर्षदेखि लाखौँ अलैंचीका बिरुवा अन्यत्र पठाउन सक्ने गरी जिल्लाभित्रै बिरुवा उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङले जनाएको छ । हाल जिल्लामा विभिन्न १८ वटा अलैंची नर्सरी केन्द्रबाट बिरुवा उत्पादन हुँदै आएको छ ।

विगतका वर्षमा अलैंचीका बिरुवा नपाएर किसानले समयमा रोप्न सकेका थिएनन् । ताप्लेजुङका किसानले विगत वर्षमा इलाम, धनकुटा, संखुवासभालगायतका जिल्लाबाट बिरुवा खरिद गरेर रोप्ने गरेका थिए । आजभन्दा तीन वर्षअघिसम्म जिल्लामा किसानको मागअनुसार बिरुवा उपलब्ध नहुने गरेको अवस्था थियो तर यस वर्षदेखि भने करिब १५ लाख बढी बिरुवा बाहिर बिक्री गर्न सक्नेगरी जिल्लाभित्रै उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी किसुनदेव राउतले जानकारी दिनुभयो ।

सूचना अधिकारी राउतका अनुसार यो वर्ष २० लाख बढी अलैंची बिरुवा जिल्लामा उत्पादन भएको छ । उत्पादित बिरुवामध्ये करिब सात लाख जिल्लाभित्र खपत हुने र बाँकी बिरुवा जिल्ला बाहिर बिक्री गर्नसक्ने अवस्था रहेको राउतले बताउनुभयो । उहाँले गएको वर्ष पनि ताप्लेजुङमा उत्पादन भएको लाखौँ बिरुवा काभ्रे, बाग्लुङलगायतका जिल्लामा बिक्री गरिएको बताउनुभयो । यो वर्ष पनि बिरुवाका लागि विभिन्न जिल्लामा जानकारी गराए पनि हालसम्म भने कहीँबाट सम्पर्कमा नआएको उहाँको भनाइ छ ।

यता कृषि विकास कार्यालयले कार्यालयको विशेष कार्यक्रमअन्तर्गत जिल्लाका किसानलाई अलैंचीको बिरुवा निःशुल्क वितरण गर्दै आएको छ । यस वर्ष ५० हजार बिरुवा निःशुल्क किसानलाई वितरण गर्ने कार्यक्रम रहेकोमा अहिलेसम्म १५ हजार बिरुवा वितरण भइसकेको कृषि विकास कार्यालयका बागवानी प्राविधिक सहायक कपिलेश्वर यादवले जानकारी दिनुभयो । यादवका अनुसार असार र साउनको पहिलो सातासम्ममा ५० हजार  बिरुवा किसानलाई बाँडिसक्ने कार्यालयको योजना रहेको छ ।

यस्तै कार्यक्रमभन्दा बाहिर किसानको मागअनुसार ढुवानी अनुदानमासमेत कार्यालयले बिरुवा वितरण गर्ने गरेको छ । नर्सरी केन्द्रमार्फत जिल्लाका किसानले उत्पादन गरेको बिरुवा कृषि विकास कार्यालयले प्रतिगोटा आठ रुपियाँसम्ममा खरिद गरी किसानलाई वितरण गर्ने गरेको पनि कार्यालयले जनाएको छ । सूचना अधिकारी राउतका अनुसार गत आर्थिक वर्ष २०७२÷७३ मा छ लाख अलैंची बिरुवा किसानलाई वितरण गरिएको थियो । छ लाखमध्ये ५० हजार बिरुवा निःशुल्क वितरण भएको थियो । यस्तै चालू आवमा भने कृषि किास कार्यालयको अनुदानमा एक लाख बिरुवा किसानलाई निःशुल्क बाँढ्ने योजना रहेको कार्यालयले जनाएको छ ।

नेपालकै सबैभन्दा धेरै अलैंची उत्पादन हुने जिल्लाका रूपमा ताप्लेजुङलाई चिनिन्छ । यस जिल्लामा साविक ५० गाविसमध्ये ४९ गाविसका करिब चार हजार १५० हेक्टर क्षेत्रफलमा अलैंची खेती गर्ने गरिएको छ । उक्त क्षेत्रफल बराबरको खेतीबाट आव २०७२÷७३ मा दुई हजार ४९० मेट्रिक टन अलैंची उत्पादन भई करिब पाँच अर्ब ६० करोड रुपियाँ बराबरको कारोबार भएको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कले देखाएको छ । कार्यालयको तथ्याङ्कअनुसार आव २०७२÷७३ मा अलैंची खेती पनि अघिल्लो वर्षभन्दा दुई सय हेक्टर क्षेत्रफलमा विस्तार भएको छ ।

यस जिल्लामा रामसाई, गोलसाई, जिर्मले लगायत जातका अलैंची खेती गर्ने गरिएको बताइएको छ । हाल बिरुवा पनि रामसाई, गोलसाई, जिर्मले जातकै उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यता नर्सरी केन्द्रमार्फत अलैंची बिरुवा उत्पादन गर्ने किसानलाई भने समयमै बिरुवा बिक्री नभई दिँदा घाटा बेहोर्नुपर्ने अवस्था आउला कि भन्ने चिन्ता रहेको छ । फुङ्लिङ नगरपालिकाका नर्सरी सञ्चालक भगिमान सुनुवारले आफ्नो फर्ममा रहेको न्यून मात्र बिक्री भइरहेको बताउनुभयो । सुनुवारले यो वर्ष बिरुवाको माग नै नभएको पनि बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter