• Tuesday, April 29, 2025

चलचित्र छायांकनको गन्तव्य बन्दै चितवन

Chitwan National Parkचितवन, साउन ७ गते । ‘मुुग्लिन पारि तरेर गण्डकी

लर्के जोवन दिऊँ कसलाई बन्धकी

हातमा चुरा छ, हातमा चुरा छ है,
चुरा छ है चुरा छ
छिट्टै भेट है माया एउटा कुरा छ’
सलल बगेको नारायणी र वा दुर्लभ वन्यजन्तुको बासस्थान चितवन राष्ट्रिय निकुञ्जलगायतले चितवन चलचित्र छायांकनको गन्तव्य बन्दैछ । अग्ला पहाड, चुरे र तराईको समथर भूमि, विकसित शहर, सुकुम्वासी बस्ती र आदिवासी जनजातिको संस्कृति झल्कने आवासीय क्षेत्र तथा कृत्रिम र प्राकृतिक छटाले भरिपूर्ण चितवन चलचित्र नगरी बन्ने संभावना छ । राजधानी काठमाडौँबाट छोटो यात्रामा आइपुगिने चितवन बसोबासको दृष्टिले पनि कम खर्चिलो मानिन्छ । त्यसो त चलचित्रले चाहेजस्ता रुप र रङका सहायक कलाकार पाउन पनि यहाँ सहज छ । सहयोगी भावनाका चितवनवासी चलचित्र निर्देशकका लागि अर्को रोजाइको स्थान बनेको छ ।

चलचित्र निर्देशक संघ नेपालका पूर्वअध्यक्ष विमल पौडेल भूगोलको हिसाबले राजधानीबाट नजिक, खर्चको हिसाबले सस्तो, खोजे जस्तो दृष्य र कलाकार पाइने भएकाले चितवन धेरैको रोजाइमा पर्ने गरेको बताउनुहुन्छ । पछिल्लो पटक ‘पोखराकी काली’ नामक चलचित्रको पूरै छायांकन चितवनमा गर्नुभएका पौडेल भन्नुहुन्छ,“दृश्य छायांकन गर्दा स्थानीयवासीबाट पाइने सहयोगले पनि धेरै निर्देशकलाई चितवन तान्ने गरेको छ ।” चलचित्र विकास बोर्डका पूर्व सदस्य पौडेलले चितवनलाई चलचित्र नगरी बनाउन आफूले बोर्डमा प्रस्ताव नै राखेको जानकारी दिनुहुन्छ ।

गत आवमा ‘छयहत्तरौँ जिल्ला’ चितवनमा ‘निर्भय’, ‘रुद्र’, ‘राधे’, ‘पिँजडा ब्याक अगेन’, ‘बाबु–कान्छा’, ‘ब्वाइफ्रेन्ड’, ‘पर्शुराम’, ‘लुट २’, ‘म यस्तो गीत गाउँछु’, ‘बटरफ्लाई’, ‘सुपर गोर्खे’, ‘लम्फू’, ‘सिक्का’लगायत चलचित्र छायांकन भएको बाबुकान्छाका निर्माता रवि अधिकारी बताउनुहुन्छ ।

नेपालमा वार्षिक करिब दुई सय चलचित्र छायांकन हुने अनुमान छ । तीमध्ये १२० जति प्रदर्शन हुने बताइएको छ । पौडेलका अनुसार झण्डै पूर्ण हिस्सादेखि केही भागसम्म चितवनमा चलचित्र छायांकन हुने गरेको छ ।

हालै मात्र चलचित्र ‘बाबु–कान्छा’ को चितवनमा नै निर्देशन गर्नुभएका निर्देशक सोभित बस्नेत राजधानी बाहिरका चितवन र पोखरा छायांकनका लागि महत्वपूर्ण स्थान भएको बताउनुहुन्छ । हालसम्म आफूले निर्देशन गरेका २९ चलचित्रमध्ये छ वटा चितवनमा नै छायांकन गरिएको जानकारी दिँदै उहाँले चलचित्रले मागेको दृश्य चितवनमा दिन सकिने बताउनुभयो ।

प्रदर्शन भइरहेको चलचित्र ‘निर्भय’ को २५ प्रतिशतभन्दा बढी छायांकन चितवनमै भएको हो । यसका निर्देशक मधुसूदन भट्टराई दुर्लभ वन र वन्यजन्तुदेखि कला, संस्कृति, सबै हिसाबले छायांकनका लागि चितवन उपयुक्त भएको मान्नुहुन्छ । यसअघिका आफ्ना अधिकांश चलचित्रका छायांकन नगरकोट र धुलिखेल क्षेत्रमा भएको जानकारी दिँदै उहाँले नयाँ ठाउँको खोजीमा रहेका निर्देशकलाई चितवनले तान्न सकेको बताउनुभयो ।

निर्देशक र निर्माता मात्रै होइन कलाकार पनि चितवनको छायांकन भनेपछि भुतुक्कै हुने गर्छन् । गत आवमा चार चलचित्रमा चितवनमा नै अभिनय गर्नुभएका नायक निखित उप्रेती छायांकनका लागि दृश्य मात्रै होइन चितवनवासीको सहयोगी भावना ज्यादै सह्राहनीय भएको बताउनुहुन्छ । यहाँका नदी, तालतलैया, वनजंगल, जंगली जनावर तथा कला,संस्कृति लोभलाग्दो भएको बताउँदै उप्रेतीले चितवनमा अभिनय गर्न पाउँदै ज्यादै आनन्द आउने गरेको अनुभव सुनाउनुभयो ।

नायिका निता ढुंगाना चितवन आफ्नै ठाउँजस्तो लाग्ने बताउनुहुन्छ । उहाँले चितवन बसाइ आफ्नै घरमा बसेजस्तै हुने बताउनुभयो । “सौराहा ज्यादै मनमोहक लाग्छ”, ढुंगानाले भन्नुभयो, यहाँका बासिन्दाको सहयोगी भावनाले अभिनय गर्न सहज तुल्याउँछ” उहाँले भन्नुभयो ।

विसं २०१६ देखि चलचित्रमा अभिनय थाल्नुभएका जिल्लाका पुराना कलाकार ऋद्धिचरण श्रेष्ठ पहाड र तराईको दृश्यसँगै नदीनाला, दुर्लभ वन्यजन्तु र यहाँका फरक फरक संस्कृति तथा रहनसहनले चलचित्रलाई मनमोहक बनाउने बताउनुहुन्छ । झण्डै ७१ चलचित्रमा अभिनय गरिसक्नु भएका श्रेष्ठ पछिल्लो समय जिल्लामा छायांकन गर्ने लहर बढेको जानकारी दिनुहुन्छ ।

जिल्लाका नारायणी र राप्ती नदी किनार, देवघाट, नारायणीको पुल, सौराहाका हात्ती सार र निकुञ्ज, , मेघौली, जगतपुर, पटिहानी, बीसहजारी ताल, राइनो ताल, थारु र दराई बस्ती, क्यान्सर अस्पताल, मेडिकल कलेजलगायत ठाउँमा धेरै मात्रामा चलचित्र छायांकन गर्ने गरिन्छ ।

चलचित्र छायांकनलाई आवश्यक पर्ने ठूला होटल, भव्य आवासीय भवन, सुविधासम्पन्न स्कूल र कलेज पनि जिल्लामा उपलब्ध छन् । यसले गर्दा चलचित्र छायांकन गर्न सहज हुने गरेको निर्देशक बताउँछन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter