• Thursday, April 10, 2025

सकिएन रोपाइँ – कतै हरियो, कतै बाँझो !

Paddyभक्तपुर, साउन १५ गते । यसवर्ष पर्याप्त पानी नपर्दा भक्तपुरमा ४० प्रतिशत जमिन बाँझै छ । विगतका वर्षमा असारभित्र १०० प्रतिशत रोपाइँ हुने भक्तपुरमा यसवर्ष पर्याप्त पानी नपरेपछि रोपाइँ हुन नसकेको हो ।

खोला र कुलोबाट सिँचाइ पुग्ने ठाउँमा धान रोपाइँ सकिएर हरियो भएको छ भने कुलो नलाग्ने र आकाशे पानीको भर पर्नुपर्ने खेत अझै पनि बाँझै छन् ।

पर्याप्त रोपाइँ हुन नसकेपछि धानको बीउ ब्याडमै मर्न थालेका छन् भने धानको बीउमै डाँठ पलाउन थालेपछि अब रोपाइँ नै नहुने पीडित किसानले बताएका छन् ।

नगरकोट नगरपालिका– ९ ताथली सौडोलका किसान सावित्रा बस्नेतले भन्नुभयो–“यसवर्ष पर्याप्त पानी नपर्दा सबै ठाउँमा रोपाइँ हुनसकेन, धानको बीउ पनि मरेका छन्, साउन १५ लागिसकेकाले अब धान रोपे पनि फल्दैन ।”

धानको बीउ ब्याडमै मरेका छन् भने रोपाइँ नभएका कतिपय ठाउँका बीउ कीराले खाएको र डाँठ पलाउन थालेकाले रोप्नै नहुने अवस्थामा पुगेको किसानको भनाइ छ ।

ताथलीकै अर्का किसान सानुभाइ गिरीले आफ्नो १० रोपनी जमिनमध्ये चार रोपनीमा मात्रै रोपाइँ भएको र छ रोपनीमा अझै रोपाइँ हुननसकेको दुखेसो गर्नुभयो ।

उहाँले भन्नुभयो–“पानी नपरेकाले यसवर्ष राम्रो रोपाइँ हुन सकेन, रोपाइँ नभएका ठाउँमा धानको बीउमै डाँठ पलाएको छ, त्यस्तो बीउ रोप्नुको अर्थ छैन, अब खेत बाँझो नै रहने भयो ।”

सूर्यविनायक नगरपालिका– २ बालकोटमा रामलाल श्रेष्ठले पानी लाग्ने ठाउँका कतिपय खेतमा रोपाई भएर हरियाली छाएको छ भने संगैका कतिपय ठाउँ बाँझै रहेको बताउनुभयो । यसवर्ष समयमै धान रोपाइँ नभएकाले उत्पादनसमेत घट्नेमा किसानले चिन्ता गरेका छन् ।

चाँगुनारायण नगरपालिका– ३ दुवाकोटका प्रकाश श्रेष्ठले पानी नपरेका कारण १० दिन अगाडि रोपेको धान मर्न थालेको खेतमा धाजा फाट्न थालेको छ भन्नुभयो । पानी पर्नुपर्ने बेलामा दिनभर घाम लाग्ने भएपछि रोपेको धान समेत मरेकोे किसानको भनाइ छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लाको ताथली, सुडाल, सिपाडोल, गुण्डु, दधिकोट, कटुञ्जे, बालकोट, सिरुटार, झौखेल लगायतका क्षेत्रमा अझै रोपाइँ सकिएको छैन ।

कार्यालय प्रमुख पूर्ण ढुंगानाले जिल्लाका चारवटै नगरपालिकामा रोपाइँ बाँकी भएको बताउँदै पर्याप्त पानी नपरेकाले साउनको पन्ध्र भइसक्दा पनि रोपाइँ नसकिएको बताउनुभयो ।

उहाँले कृषिको अनुगमनदेखि रोपाइँ हुननसकेका कृषकका लागि वैकल्पिक खेती गर्न प्रोत्सान गर्नुपर्ने भए पनि कृषिका कार्यक्रम, बजेटदेखि कर्मचारीसमेत नगरपालिकामा समायोजन भएकाले अब कृषकको समस्या पनि नगरपालिकाले नै हेर्नुपर्ने बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter