• Tuesday, June 10, 2025

गौरीफण्टा नाकालाई अन्तर्राष्ट्रियस्तरको बनाइने

Nepal and India flagकाठमाडौँ, साउन २८ गते । प्रदेश नं ७ लाई भारतसँग जोड्ने प्रमुख व्यापारिक नाका धनगढी उपमहानगरपालिकास्थित गौरीफण्टालाई अन्तर्राष्ट्रियस्तरको बनाउन पहल शुरु भएको छ ।

प्रदेश नं ७ का स्थानीय जनप्रतिनिधि तथा उद्योगी व्यवसायीको संयुक्त प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई उहाँकै निवास बालुवाटारमा भेटेर त्यसका लागि पहल शुरु गरेको हो ।

प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका बेला सो मुद्दालाई भारतसँगको द्विपक्षीय वार्ताको प्रमुख एजेण्डाका रुपमा राख्नसमेत माग गरेको छ । प्रधानमन्त्री देउवाले आगामी भदौ ७ गतेदेखि भारतको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ ।

सो नाकालाई अन्तर्राष्ट्रियस्तरको बनाउने सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवाले सकारात्मक प्रतिक्रिया दिनुभएको सो भेटपछि आयोजित पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघ कैलाली र प्रदेश नं ७ का अध्यक्ष शंकर बोगटीले जानकारी दिनुभयो ।

भेटमा प्रधानमन्त्री देउवाले उक्त विषय भारत भ्रमणको एजेण्डाको प्राथमिकतामा राख्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिनुभएको अध्यक्ष बोगटीले बताउनुभयो । महासंघले विगतदेखि नै केन्द्रीय सरकारलाई दबाब दिई सुदूरपश्चिमका विकास मुद्दामा पहल गरिरहेको छ ।

प्रतिनिधिमण्डलले यसबाहेक धनगढी विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन, प्रदेश नं ७ लाई चीनसँग जोड्ने बझाङको ताक्लाकोट नाकालाई स्तरोन्नति गरी सञ्चालनमा ल्याउन र धनगढी उपमहानगरपालिकाको राजघाटस्थित २१ बिगाहा जमिनमा सार्वजनिक प्रदर्शनीस्थल बनाउनसमेत पहल गर्न प्रधानमन्त्री देउवासँग आग्रह गरिएको छ ।

कार्यक्रममा धनगढी उपमहानगरपालिका नवनिर्वाचित प्रमुख नृप बडूले सुदूरपश्चिमको आर्थिक समृद्धिका लागि प्रमुख मेरुदण्डका रुपमा रहेको गौरीफण्टा नाकाको स्तरोन्नति अपरिहार्य रहेको बताउनुभयो ।

प्रदेश नं ७ को सफलताका लागि पनि गौरीफण्टा नाकालाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने उहाँको भनाइ थियो ।

उक्त प्रदर्शनीस्थल वाणिज्य मन्त्रालय, धनगढी उपमहानगरपालिका, कैलाली जिल्ला समन्वय समिति र उद्योग वाणिज्य महासंघ कैलालीले सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन गर्ने तयारी भइरहेको छ ।

धनगढी उपमहानगर प्रधानमन्त्री देउवा २०७० सालको संविधानसभा निर्वाचनमा विजयी भएको निर्वाचन क्षेत्र हो ।

धनगढी उपमहानगरका उपप्रमुख सुशीला मिश्र भट्टले गौरीफण्टा नाकालाई अन्तर्राष्ट्रियस्तरको बनाउन सके भारतका लाखाँै पर्यटकले सुदूरपश्चिमका प्रसिद्ध धार्मिकस्थलको भ्रमण गरी नेपालको अर्थतन्त्रमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter