‘बेनी भ्रमण वर्ष २०७५’ को तयारी
म्याग्दी, साउन २८ गते । पर्यटकीय सम्भावनाले युक्त म्याग्दीलाई राष्ट्रिय, अन्तरराष्ट्रिय रुपमा प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक जिल्लामा भित्र्याउने उद्देश्यले २०७५ साललाई ‘बेनी भ्रमण वर्ष २०७५’ का रुपमा मनाउने तयारी शुरु भएको छ ।
म्याग्दी उद्योग वाणिज्य संघका महासचिव एवं परोपकारी संस्था ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यको अगुवाइमा जिल्लाका युवाले सरोकार भएका संघसंस्थासँग सहकार्य गरेर सो अभियानको तयारी शुरु गरेका हुन् । प्रवासी म्याग्देली, म्याग्दी उद्योग वाणिज्य संघ, बेनी नगरपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा भ्रमण वर्षका कार्यक्रम अघि बढाइने शाक्यले बताउनुभयो ।
अबको केही दिनमा नै भ्रमण वर्ष आयोजक समिति बनाएर काम अघि बढाइने तयारी भइरहेको बताइएको छ । शाक्यका अनुसार भ्रमण वर्ष शुरु हुनुअघि नै यु ट्युब, भिडियो, ब्रोसर, वेबसाइट, विज्ञापन पाटी, पुस्तिका आदि बनाएर तीव्र रुपमा प्रचारप्रसारको काम अघि बढाइने छ । “२०७५ सालभरिमा म्याग्दीमा ५० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजनासहित ‘बेनी भ्रमण वर्ष २०७५’ को आयोजना गर्न लागेका हौँ” शाक्यले भन्नुभयो, “मुक्तिनाथ प्रवेशद्वार, गलेश्वर धाम, घोडेपानी, पुनहिल, रुप्से र अन्धगल्छीले मात्र म्याग्दीको पहिचान अधुरो हुन्छ । तीबाहेक पनि म्याग्दीमा महिनौँ दिनसम्म घुम्न, प्राकृतिक सौन्दर्यको आनन्द लिन र सिक्न सकिने ठाउँ छन् । ती ठाउँसम्म पर्यटकलाई पु¥याउन चाहन्छौँ ।” अन्नपूर्ण परिपथ, लोमान्थाङ, गुरिल्ला ट्रेक, मुक्तिनाथलगायत स्थान घुम्नका साथै अरु पर्यटकलाई समेत म्याग्दीका गन्तव्यसँग परिचित गराउने भ्रमण वर्षको उद्देश्य हो ।”
अहिलेदेखि नै जिल्लाका एक नगरपालिकासहित पाँच वटै गाउँपालिकाका सम्भाव्य पर्यटकीयस्थलको जानकारी लिने र त्यहाँका बासिन्दालाई घरबास, पदमार्ग, सरसफाइलगायत पूर्वाधार निर्माणका लागि जानकारी दिने काम भइरहेको शाक्यले बताउनुभयो ।
भ्रमण वर्षभरि उत्कृष्ट समाचार लेख्ने–प्रसारण गर्ने पत्रिका, टिभी, अनलाइन र एफएमका केही पत्रकारलाई नगद पुरस्कारसहित भ्रमण वर्षको समापनमा सम्मान गरिने योजना रहेको शाक्यले बताउनुभयो ।
प्राकृतिक सौन्दर्य र पर्यटकीय सम्भावनाले युक्त जिल्लाको सम्बन्ध धार्मिक र ऐतिहासिक पात्रसँग पनि जोडिएको छ । यो जिल्ला पुराणमा उल्लेखित ऋषिमुनिको तपोभूमि, धार्मिक ग्रन्थ ‘रामायण’मा उल्लिखित रावणको जन्मभूमि, ऐतिहासिकस्थल र पुरातात्विक दृष्टिकोणले समेत महत्वपूर्ण भूमिका रुपमा परिचित छ । यहाँ राजा रहुगण, भरत र ऋषि जड भरतले तपस्या गरेको ‘श्रीमद्भागवत’ तथा ‘मत्स्य पुराण’मा समेत उल्लेख छ । ती क्षेत्र अझैसम्म पनि पर्यटकीय आकर्षणका क्षेत्र बन्न सकिरहेका छैनन् । रासस