पेट्रोलियम पाइपलाइन निर्माण कार्य तीव्र
दीपकप्रसाद गौतम / वीरगञ्ज, कात्तिक २० गते । करिब चार अर्ब भारतीय रुपियाँको लगानीमा निर्माण हुँदै गरेको भारतको मोतीहारीदेखि नेपालको अमलेखगञ्जसम्मको ६९ दशमलव नौ किलोमिटरकोे पेट्रोलियम पाइपलाइनको कामले तीव्रता पाएको छ ।
बहुप्रतीक्षित उक्त परियोजना मोतीहारी–रक्सौल ३३.२ किलोमिटर र रक्सौल–अमलेखगञ्ज ३६.७ किलोमिटरको हुनेछ ।
परियोजनाको सिमरास्थित कार्यालय प्रमुख मेकानिकल इन्जिनियर शरद पौडेलका अनुसार पाइपलाइन कार्य भारतीय आयल कार्पोरेसनले तीव्र रूपमा अघि बढाएको छ । उहाँका अनुसार परियोजनाका लागि भारतले आगामी डिसेम्बरदेखि पाइपहरू वीरगञ्ज पठाउने भएको छ ।
पाइप राख्नका लागि वीरगञ्ज चिनी कारखानाको दुई बिघा जग्गा पनि प्रतिमहिना दुई लाख ३० हजार रुपियाँको दरले भाडामा लिइसकिएको उहाँले जानकारी गराउनुभयो ।
पाइपलाइनका लागि जमिनमुनि राख्ने पाइपको ब्यास १०.७५ इञ्चको हुने उहाँले बताउनुभयो । भारतमा अहिले पाइप निर्माण भइरहेको जानकारी गराउँदै पाइप निर्माण गर्ने भारतको एनएसएल कम्पनीसँग सम्झौता भएको जानकारी उहाँले दिनुभयो ।
परियोजना पूरा गर्न पथलैयादेखि परवानीपुरसम्म व्यापारिक मार्ग निर्माण भइरहेकोले निमार्ण कार्यमा खासै समस्या नभए पनि अमलेखगञ्जदेखि पथलैयाबीच जङ्गल भएकाले केही समस्या रहेको बताइएको छ भने परवानीपुरदेखि बाइपास रोड हुँदै रक्सौल नाकासम्म सडकको छेउछाउमा बिजुलीका पोल हुँदा परियोजना सम्पन्न गर्न केही चुनौती थपिएको परियोजनाको सिमरास्थित कार्यालय प्रमुख मेकानिकल इन्जिनियर पौडेलले बताउनुभयो ।
पथलैयादेखि अमलेखगञ्जको बीचमा रहेको जङ्गलको रूख कटानीका लागि परियोजनाका इन्जिनियरले वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृतिका लागि वातावरण मन्त्रालयमा फाइलसमेत पठाइ सकिएको र पाइपलाइनको रूटमा पर्ने बस्ती, पसल र बिजुलीको पोल खाली गराउनसमेत सम्बन्धित निकायलाई पत्राचार गरिसकिएको उहाँले जनाउनुभयो ।