अन्नपूर्ण पदमार्गमा पर्यटकको ‘जाम’
विश्वास रेग्मी / काठमाडौँ, कात्तिक ३० गते । बिहान सुरु भएसँगै विदेशी पदयात्री गन्तव्य छोट्याउन हतार देखिन्छन् । झिसमिसमै उकालो चढिसक्ने लक्ष्यसहित अघि बढेका स्वदेशी पदयात्रीको हतारो पनि उस्तै छ । अन्नपूर्ण आधार शिविर पुगेर जितको भावमा फर्किंदै गरेका पर्यटकमा भने यस्तो हतार केही कम देखिन्छ । चिसोबाट बच्न राखिएका बाक्ला ज्याकेटसहितको ‘ब्याग प्याक’र सहाराका लागि लठ्ठी समाएर हिँडिरहेका पर्यटकको दृश्यले अन्नपूर्ण पदमार्गको रौनक झल्काउँछ ।
खास सिजन सकिँदा पनि विश्वमै उत्कृष्ट पदमार्गका रूपमा चर्चित अन्नपूर्ण पदमार्गमा भने पर्यटकको आकर्षण अझै उस्तै छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाभित्र सञ्चालनमा रहेका होटलहरू यतिबेला पनि भरिभराउ छन् ।
पदमार्गको साँघुरो गोरेटोमा आउने र जानेको संयोगले भेट हुँदाको दृश्य मान्छेको ‘जाम’ भएजस्तै देखिन्छ । मुख्य सिजन अक्टोबरदेखि नोभेम्बरको मध्यसम्म पनि अन्नपूर्ण पदमार्गमा पर्यटकको भीड उस्तै छ । करिब तीन हप्ताको अन्नपूर्ण सर्किटबाहेक कास्कीको बीरेठाँटीबाट हप्तादिनमै सकिने अन्नपूर्ण आधार शिविरसम्म पुग्न दैनिक करिब तीन सय पर्यटक पदयात्रामा निस्कने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको तथ्याङ्क छ ।
आयोजनाको छोम्रोङस्थित जाँच चौकी तथा सूचना केन्द्रका अनुसार नोभेम्बर १० तारिखसम्म २६ हजार २६६ जना पर्यटकले आधार शिविरसम्मको पदयात्राको अनुमति लिएका छन् । गत अक्टोबर महिना मात्रै छ हजार ३६९ जना पदमार्ग हुँदै आधार शिविर पुगेका थिए । गत वर्षको अक्टोबर महिनामा यो सङ्ख्या चार हजार ४१२ थियो । पर्यटकको आगमन यस्तै रहे यस वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै पर्यटकले अन्नपूर्ण आधार शिविरसम्म पदयात्रा गर्ने जाँच चौकी प्रमुख नेत्र शर्मा बताउनुहुन्छ । यस वर्ष पदमार्गमा पर्यटकको भीड नै लागेको छ, उहाँले भन्नुभयो, दैनिक करिब तीन सय पर्यटकले प्रवेश गरिरहेका छन् । tourist
पदयात्रीको चाप बढेसँगै बासस्थानका लागि पनि समस्या बढिरहेको होटल व्यवसायीको भनाइ छ । संरक्षित क्षेत्रभित्र सञ्चालनमा रहेका करिब दुई दर्जन होटल नोभेम्बर महिनामा पनि भरिभराउ हुन पुगेको उनीहरूको भनाइ छ । कोठा नपुगेर डाइनिङ(खाना खाने ठाउँ) समेत भरिएको हुन्छ, छोम्रोङ्मा होटल सञ्चालन गर्दै आउनुभएका राजकुमार गुरुङले भन्नुभयो, बुकिङ नगरी आउने पर्यटक बस्न नपाएर समस्यामा पनि परेका छन् । यस वर्ष अन्नपूर्ण पदमार्गमा दक्षिण कोरिया र चीनका पर्यटकको बढी आकर्षण रह्यो । खास सिजनमै दक्षिण कोरिया र चीनमा पनि सार्वजनिक बिदा पर्दा ती देशका पर्यटक पदयात्राका लागि यहाँ आएको शर्माले जानकारी दिनुभयो । जाँच चौकीका अनुसार छोम्रोङ हुँदै अहिलेसम्म दुई हजार ३७७ जना दक्षिण कोरियाली पर्यटक र दुई हजार १८० जना चिनियाँ पर्यटकले पदयात्राको अनुमति लिएका छन् । त्यसपछि बेलायतका पर्यटक रहेका छन् ।
बढ्दैछन् नेपाली पदयात्री
अन्नपूर्ण पदमार्ग हुँदै आधार शिविरसम्म जाने नेपाली पर्यटकको सङ्ख्या पनि बढ्दो छ । विदेशी पर्यटकको मुख्य रोजाइमा पर्ने पदमार्गमा यस वर्ष नेपालका आन्तरिक पर्यटकको पनि व्यापक आकर्षण देखिएको केन्द्र प्रमुख शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार भदौ महिनामा मात्रै ११६ जना नेपाली आधार शिविर पुगेका छन् । जसमध्ये ४० जना महिला रहेका छन् । त्यस्तै असोजमा एक हजार ६८ जना आन्तरिक पर्यटक अन्नपूर्ण पदमार्ग पुगेका छन् । कात्तिक २५ गतेसम्म ४२७ जना नेपाली आधार शिविरका लागि गएको तथ्याङ्कले देखाउँछ ।
पदमार्गमा सडकको सास्ती
अन्नपूर्ण आधार शिविरसम्मको पदमार्गको प्रवेश बिन्दुका रूपमा रहेको कास्कीको बीरेठाँटीबाट संरक्षण क्षेत्र सुरु हुन्छ तर बीरेठाँटीबाट पनि सेवईसम्म अहिले नियमित यातायात सञ्चालनमा छ । यातायात सञ्चालनमा आए पनि करिब एक दिनको पदयात्रासमेत छोटिएको छ । यातायात सञ्चालनमा आए पनि सोही सडक हुँदै पदयात्रा गर्न बाध्य पर्यटकका लागि सास्ती पनि थपिएको छ । कच्ची सडकमा गुड्ने सवारीका कारण धुलो धुवाँको असर खेप्न पर्यटक बाध्य छन् ।