राष्ट्रकवि घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथी दर्जा प्रदान गर्ने मन्त्रिपरिषदको निर्णयः निर्णयमा रामबहादुर बमजनसम्म समेटिए
काठमाडौँ, माघ २६ गते । सरकारले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथी दर्जा प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रकवि घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथी दर्जा प्रदान गर्ने निर्णय गरेको हो । राष्ट्रकवि घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथी दर्जा प्रदान गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।
बैठकले बुढिगण्डकी जलविद्युत आयोजनालाई अघि बढाउन उर्जा मन्त्रालयले तयार पारेको कार्ययोजना पनि स्वीकृत गरेको छ । त्यसैगरी औद्योगिक भौतिक सम्पत्ति सम्बन्धि कानुन संशोधन र एकीकरण गर्न विधेयक तर्जुमा गर्ने सैद्धान्तिक सहमति पनि दिइएको छ ।
बैठकले तपस्वी रामलाल बम्जनले ज्ञान प्राप्त गर्नु भएको बारास्थित हलखोरियालाई धार्मिक वनको रुपमा विकास गर्ने निर्णय गरिएको पनि सरकारका प्रवक्ता बस्नेतले बताए । बैठकले नेपाल र कतार सरकारबीच कुटनीतिक, सरकारी र विशेष राहदानी भएकाहरुलाई प्रवेशआज्ञा छुट दिने निर्णय पनि गरेको छ । त्यस्तै, बैठकले विभिन्न परियोजना सञ्चालनका लागि वन क्षेत्र उपलब्ध गराउने स्विकृति पनि दिएको प्रवक्ता बस्नेतले जानकारी दिए ।