• Sunday, April 27, 2025

विश्व बैंकले सहायता रकममा दोब्बरले वृद्धि गर्नेछ- अर्थमन्त्री

world bankकाठमाडौँ, साउन २६ गते । विश्व बैंकले नेपाललाई उपलब्ध गराइरहेको सहायता रकममा दोब्बरले वृद्धि गर्ने प्रतिवद्धता जनाएको छ । सरकारको प्राथमिकताअनुसारका विकास आयोजना कार्यान्वयनमा सो बैंकबाट विकास सहयोग जुटाउन अमेरिकाको राजधानी बासिङटन डिसीबाट आज स्वदेश फर्केपछि अर्थमन्त्री डा युवराज खतिवडाले त्यस्तो जानकारी दिनुभएको हो ।

सो बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत थप सहायता रकम उपलब्ध हुनलागेको हो । अमेरिकाबाट स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा खतिवडाले सन् २०१८ मा प्राप्त भइरहेको भन्दा दोब्बर सहायता रकम नेपालले प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । बैंकले नेपालमा हाल करीब रु दुई अर्ब ७० करोड डलर अर्थात रु दुई खर्ब ७० अर्ब बराबरको लगानी विभिन्न आयोजनामा गरिरहेको छ ।

सन् २०२२ मा अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न विभिन्न क्षेत्रमा थप सहयोगको आवश्यकता रहेकाले विश्व बैंक समूहका विभिन्न संस्थाका पदाधिकारीसँग महत्वपूर्ण छलफल भएको उहाँले जानकारी दिनुभयो । नेपाल सरकार र विश्व बैंकबीच पाँच वर्षीय देशीय साझेदारी ढाँचाअन्तर्गत अन्तर्राष्ट्रिय विकास संस्थाले सहयोग बढाउने भएको हो । सन् २०१९ देखि २०२३ का लागि कार्ययोजना तयार भई बैंकले समेत पारित गरिसकेको छ ।

“हामीले समग्र कार्यक्रम र योजनाको ढाँचा तयार पारेका छाँै । त्यसको लागत अनुमान पनि भएको सन्दर्भमा सहायता दोब्बर हुन्छ भनेर हामीलाई बताउनुभएको छ”,अर्थमन्त्री डा खतिवडाले भन्नुभयो ।

नेपालले भूकम्पपछिको पुनःनिर्माणका लागि समेत सो बैंकबाट थप सहायता ल्याउन प्रस्ताव गरेको छ । यस्तै केही ठूला र बहुउद्देश्यीय परियोजनामा समेत लगानीको सुनिश्चितता खोजेको छ । यस्तै संघीयता कार्यान्वयन र विकासका आवश्यकता पूरा गर्न बैंक र अमेरिकी सरकारका प्रतिनिधिसँग महत्वपूर्ण छलफल भएको अर्थमन्त्री खतिवडाको भनाइ छ ।

अर्थमन्त्री डा खतिवडाले यही साउन २२ गते बैंकका कार्यकारी निर्देशकको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको थियो । उहाँले स्थानीय निकायको क्षमता, नेपालको विकासको मार्गचित्र, प्राथमिकता, सुधारको निरन्तरता, राजश्वको दिगोपना र समग्र व्यावसायिक वातावरण सम्बन्धमा जानकारी गराउनुभएको थियो ।

उहाँले नेपालले आर्थिक विकासको लागि लिएको रणनीतिको बारेमा जानकारी गराउँदै ‘दिगो विकास लक्ष्य हासिल गर्न नेपाल प्रतिबद्ध’ रहेको उल्लेख गर्नुभएको थियो ।

यसैगरी खतिवडाले विश्व बैंकका दक्षिण एशियाका क्षेत्रीय उपाध्यक्ष हाटबिग सेफरबीच पनि भेटवार्ता गर्नुभएको थियो । भेटवार्तामा क्षेत्रीय उपाध्यक्ष सेफरले नेपालले अङ्गीकार गरेका संघीयता कार्यान्वयनका सन्दर्भमा राख्नुभएको जिज्ञासामा डा खतिवडाले नेपालमा तीनै तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भई निर्वाचित भएका करीब ३६ हजार जनप्रतिनिधिमार्फत जनताका अपेक्षा पूरा गर्न सरकार कटिबद्ध रहेको स्पष्ट पार्नुभएको थियो ।

नेपालका आर्थिक र सामाजिक क्षेत्र खासगरी पूर्वाधारमा ठूलो लगानीको आवश्यकता रहेको बताउँदै उहाँले यसमा सरकार निजी क्षेत्रसँग मिलेर कार्य गर्न तत्पर रहेको, संघीयताको व्यवस्थापन र विकासको लागि आन्तरिक साधन र स्रोतमात्र पर्याप्त नहुने भएकाले विश्व बैंकसँग नेपालले सार्थक सहयोगको अपेक्षा राखेको बताउनुभएको थियो ।

अर्थमन्त्रीसँग विश्व बैंकका ऊर्जा र वित्तीय कोषका निर्देशकलगायतका पदाधिकारीले पनि भेट गरेर ऊर्जा क्षेत्रमा गरिने लगानी, निजी क्षेत्रसँगको सहकार्यमा गर्न सकिने लगानीका बारेमा प्रकाश पारेका थिए । सो अवसरमा डा खतिवडाले नेपालको तत्काल चालु आयोजनाका अतिरिक्त ठूला आयोजनाको निर्माणमा विश्व बैंकले परियोजना विकासमा समेत सहयोग गर्न अनुरोध गर्नुभएको थियो ।

यस्तै भ्रमणका क्रममा अर्थमन्त्री डा खतिवडाले बैंकका कार्यवाहक प्रमुख अर्थशास्त्री शान्ता देवराजनसँग भेटवार्ता गरी नेपालले केही दशक अगाडि गरेका आर्थिक तथा वित्तीय सुधारका प्रयासबाट थप पाठ सिक्दै परिवर्तित सन्दर्भमा विभिन्न क्षेत्रमा नयाँ सुधारहरू थालनी गरेको जानकारी दिनुभएको थियो ।

तीन दिनसम्म चलेको बैंकको नेपाल सहायतासम्बन्धी उच्चस्तरीय बैठकमा अर्थमन्त्री डा खतिवडाको नेतृत्वमा अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुनकुमार कार्की र अर्थ मन्त्रालय वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख सहसचिव श्रीकृष्ण नेपालसहितको प्रतिनिधिमण्डलको सहभागिता थियो ।

भ्रमणका क्रममा अर्थमन्त्रीले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग, अन्तर्राष्ट्रिय मुद्राकोषका पदाधिकारीसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको थियो । नेपालको विकासका साझेदारसँग उनीहरूबाट प्राप्त सहयोगको समीक्षा गरी थप सहयोगका क्षेत्रमा छलफल तथा निजी क्षेत्रका लगानीकर्तासँग नेपाल सरकारको आर्थिक नीति तथा लगानीका सम्भावनाका बारेमा पनि विचारविमर्श भएको उहाँले जानकारी दिनुभयो ।

अमेरिकास्थित नेपाली दूतावासको आयोजनामा विश्व बैंकमा ‘नेपाल डे’ पनि मनाइएको थियो । विश्व बैंक समूह र अमेरिकास्थित दातृ निकायका प्रतिनिधि सो कार्यक्रममा सहभागी भएका थिए ।

नेपालले विकासको अभूतपूर्व अवसर पाएको भन्दै उहाँहरूले खुला हृदयका साथ सहयोग गर्ने बचन दिनुभएको अर्थमन्त्री खतिवडाको भनाइ छ । नेपालमा लगानीका लागि बैंक, साझेदार संस्था र अमेरिकी लगानीकर्ता उत्साहित भएको आफूले पाएको उल्लेख गर्नुभयो । अर्थमन्त्री डा खतिवडा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल यही साउन १८ गते अमेरिका गएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter