• Sunday, April 27, 2025

नागरिकता विधेयक स्वीकृत; नेपालीलाई नागरिकता–गृहमन्त्री थापा

Nepal Parliamentकाठमाडौँ, साउन २९ गते । प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाले सो विधेयक प्रस्तुत गर्नुभएको थियो ।

ती विधेयकमाथि सांसदले बसको टिकट जस्तो नागरिकता नबाँडियोस् भन्दै आमाको नामबाट नागरिकता पाउने व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन जोड दिनुभयो ।

संविधानले महिला तथा पुरुषलाई समान हक दिए पनि नागरिकता लिन बाबुकै नाम र पहिचान चाहिने व्यवस्था विभेदकारी भएकाले यसबाट कैयौँले दुःख पाएको उल्लेख गर्दै उहाँहरुले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ ले सो समस्यालाई समाधान गर्नुपर्ने बताउनुभयो ।

सांसद कृष्णभक्त पोखरेलले आफ्नै जिल्ला चितवनको उदाहरण दिँदै कैयौँ बालबालिकाको बाबुको पहिचान नखुल्दा नागरिकता नपाएकाले उनीहरु समस्यामा परेको बताउनुभयो ।

सांसद पार्वतीकुमार विशङ्खेले आमाको नाममा नागरिकता नपाएका कारण करीब नौ लाख बालबालिका पीडित भएको तथ्याङ्क पेश गर्दै समानताका आधारमा नागरिकता दिने व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

सांसद हृदयेश त्रिपाठीले पुरुष र महिलालाई समानताको हक दिइएको भए पनि आमाको नामबाट नागरिकता पाउने व्यवस्था कहिलेदेखि लागू हुन्छ भन्ने प्रश्न गर्नुभयो । उहाँले नागरिकताको विषय उठाउने बित्तिकै तराई मधेशमा संशयको नजरले हेर्ने गरिएकोमा गुनासो गर्नुभयो ।

सांसद भीमबहादुर रावलले नेपाली नागरिकले सहज रुपमा नै नागरिकता पाउने भएकाले संविधान प्रतिकूल टोली खटाएर वितरण गर्ने प्रणाली र संविधान प्रतिकूल विधेयकमा आएका विषयवस्तु हटाउन माग गर्नुभयो ।

सांसद प्रेम सुवालले नेपाल र भारतबीच खुला सिमाना भएका कारण सहज रुपमा नागरिकता दिने प्रावधान राख्नै नहुने बताउँदै “बसको टिकट बाँडेजस्तो, सिनेमाको टिकट किने जस्तो नागरिकता वितरण गरिनु हुँदैन, जन्मका आधारमा मात्रै नागरिकता दिने विषय सार्वभौमसत्ताको रक्षाका लागिसमेत मान्य हुन सक्दैन, नेपाली नागरिकले सहज रुपमा नागरिकता पाउनुपर्छ भन्नुभयो ।”

यस्तै सांसद दुर्गा पौडेलले पनि नागरिकता ‘बसको टिकट’ नभएको भन्दै जथाभावी तवरले गैरनागरिकलाई सहज रुपमा दिने प्रणालीलाई बन्द नै गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सांसद भरत शाह र घनश्याम खतिवडाले नागरिकता वितरणमा कडाइ गर्न सरकारलाई सुझाव दिनुभयो ।

सांसद देवेन्द्रराज कँडेल, अञ्जना विशङ्खे र रेखा शर्माले आमाको नाममा नागरिकता पाउने व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न माग गर्नुभयो ।

कानूनमा महिला र पुरुष समान भएको भनिए पनि व्यवहारमा कार्यान्वयन गर्न समस्या भएको उल्लेख गर्दै सांसद गगन थापाले संविधान तथा नीतिमा परिवर्तन गर्नु आवश्यक देखिए त्यसैमा संशोधन गर्न आग्रह गर्नुभयो ।

सांसद वृन्दा पाण्डे, सरलाकुमारी यादव, सरिताकुकमारी गिरी, रेखा कुमारी र शेख चाँदताराले आमाको नाममा नागरिकता दिने व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न माग गर्नुभयो ।

नेपालीलाई नागरिकता–गृहमन्त्री थापा

यसपछि गृहमन्त्री रामबहादुर थापाले नेपाली नागरिकले नागरिकता पाउने गरी सरकारले नागरिकता विधेयक ल्याएको बताउनुभयो ।

नागरिकताको विषयमा कुनै पनि प्रकारको भेदभाव र विभेद हुन नहुनेमा सरकार प्रतिबद्ध रहेको बताउँदै उहाँले यसमा समान अधिकार हुने स्पष्ट पार्नुभयो ।

गृहमन्त्री थापाले नागरिकताको विषय राष्ट्रिय पहिचान, अस्मिता र सुरक्षासँग जोडिएको उल्लेख गर्दै गैरनेपाली र विदेशीले नागरिकता नपाऊन् भन्नेमा सरकार गम्भीर रहेको बताउनुभयो ।

विगतमा रहेका कमजोरीलाई सच्याउने प्रयत्न गरिएको जानकारी दिँदै उहाँले सदनबाट प्राप्त हुने सुझावलाई अक्षरशः पालना गर्ने विश्वास व्यक्त गर्नुभयो ।

गृहमन्त्री थापाले आमाको नाममा नागरिकता दिने विषयलाई प्रस्तावित ऐनमा विशेष व्यवस्था गरिएको उल्लेख गर्दै विधेयकमा भएका कमीकमजोरीलाई परिमार्जन गरेर पारित गरिने बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter