• Tuesday, April 29, 2025

कालीञ्चोकमा केबुलकार सञ्चालन; शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चार वर्षमा दश हजार पर्यटक

Cable Carजिरी, कात्तिक १७ गते । दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोकमा आजबाट व्यावसायिक रुपमा केवलकार सञ्चालनमा आएको छ ।

दशैंँअघि परीक्षण गरिएको केबुलकार आजदेखि व्यावसायिक रुपमै सञ्चालनमा आएको हो । केबलकार सञ्चालनमा आएपछि जिल्लाको कालीञ्चोक गाउँपालिकास्थित कुरी हुँदै कालीञ्चोक र कालीञ्चोक हुँदै कुरी आवतजावत गर्ने दर्शनार्थी र पर्यटकलाई सहज भएको छ ।

कालीञ्चोक केबलकारको चारवटा कार रहेकोमा एउटा कारमा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने कालीञ्चोक दर्शन लिमिटेडले जनाएको छ । त्यसमध्ये हाल एउटा कार सञ्चालनमा ल्याइएको कालीञ्चोक केबलकारका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले जानकारी दिनुभयो ।

कालीञ्चोक दर्शन लिमिटेडले साँढे दुई वर्षअघि निर्माण शुरु गरेको कालीञ्चोक केबुलकार करीब रु ४५ करोडको लागतमा सम्पन्न भएकोे हो । केबलकारमा यात्रा गर्न आउने यात्रुलाई प्रतिव्यक्ति रु पाँच सय शुल्क लिएर सेवा प्रदान गरिएको अधिकृत शिवाकोटीले बताउनुभयो ।

सर्वसाधारणलाई रु पाँच सय शुल्क लाग्नेमा कालीञ्चोक क्षेत्रका मानिसलाई भने केही सहुलियत हुने कालीञ्चोक दर्शन लिमिटेडले जनाएको छ । स्वीस प्रविधिबाट निर्माण भएको केबुलकार देशका अन्य स्थान मनकामना र चन्द्रागिरीको भन्दा फरक प्रविधिको रहेको छ ।

केबुलकार सञ्चालनमा आएपछि दोलखाको पर्यटन विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चार वर्षमा दश हजार पर्यटक

विश्वकै दुर्लभ बाह्रसिङ्गाको झुण्ड देख्न पाइने कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि हुन सकेको छैन । बितेको चार वर्षमा १० हजार ४४५ आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत गोपाल घिमिरेले जानकारी दिनुभयो ।

दुई हजार ३०० भन्दा बढी बाह्रसिङ्गा देख्न पाइने शुक्लाफाँटामा मुलुककै सबैभन्दा ठूलो ५५ वर्गकिलोमिटर फैलिएको विशाल घाँसे मैदानसमेत रहेको छ । जैविक विविधता, बाघ, गैँडा, हात्ती, चित्तललगायतका वन्यजन्तु र सयौँ प्रजातिका चराचुरुङ्गीले भरिपूर्ण यस निकुञ्जमा सोचे जति पर्यटक भने अवलोकनका लागि आउँदैनन् ।

छिमेकी मुलुक भारतको राजधानी नयाँदिल्लीसमेत दूरीका हिसाबले नजिक पर्छ शुक्लाफाँटा तर पश्चिमका गड्डाचौकी भएर नेपाल प्रवेश गर्ने पर्यटकको रोजाइ पोखरा, चितवन र बर्दियालगायतका स्थान परेपनि शुक्लाफाँटाका बारेमा पनि कमै जानकार हुने गरेको अध्यागमन कार्यालय गड्डाचौकीका निमित्त कार्यालय प्रमुख पदमराज भट्टले जानकारी दिनुभयो ।

“यहाँबाट मुलुकभित्र भित्रिने तेस्रो मुलुकका पर्यटक सोझै पोखरा, चितवन, काठमाडौँ जाने बढी हुन्छन्” उहाँले भन्नुभयो, “सुदूरपश्चिम प्रदेशका पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा कमी छ ।” यहाँका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि गड्डाचौकीमा राखिएको नेपाल पर्यटन बोर्डको कार्यालय चार वर्षदेखि प्रमुखविहीन छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज यहाँको पर्यटकीय क्षेत्र भएपनि प्रचारप्रसारको कमीले पर्यटक कम सङ्ख्यामा भित्रिने गरेका छन् । निकुञ्जले दिएको जानकारीअनुसार चालू आर्थिक वर्षको हालसम्म ३२६ जना पर्यटक शुक्लाफाँटा भित्रिएका छन् । गत आव २०७४÷७५ मा यहाँ चार हजार ७४० पर्यटकले शुक्लाफाँटाको अवलोकन गरेका थिए । त्यसैगरी आव २०७३÷७४ मा दुई हजार ६४०, आव २०७२÷७३ मा एक हजार ९२० र आव २०७१÷७२ मा ८२४ ले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अवलोकन गरेको तथ्याङ्कले देखाएको छ ।

सन् २०२० भित्र मुलुकमा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेका बेला सुदूरपश्चिम प्रदेशको मुख्यद्वारमै रहेको शुक्लाफाँटा निकुञ्जका बारेमा प्रचारप्रसार गर्नुपर्नेमा यहाँका पर्यटन व्यवसायी बताउँछन् । पर्यटन व्यवसायी परमानन्द भण्डारीले पनि विगत लामो समयदेखि शुक्लाफाँटामा पर्यटक भित्र्याउन निकै पहलरत छन् । उहाँले शुक्लाफाँटा–रारा, शुक्लाफाँटा–खप्तड प्याकेज सञ्चालन गर्नुभएको थियो ।

“भारतका थुप्रै पर्यटकीय स्थल यहाँबाट नजिक छन्, त्यहाँ आउने पर्यटकलाई यहाँ ल्याउने खालको वातावरण मिलाउन सके धेरै फलदायी हुन्छ ।” पर्यटन व्यवसायी भण्डारीले भन्नुभयो, “सरकारी तवरबाटै शुक्लाफाँटाको भरपुर प्रचारप्रसारका लागि पहल गर्नु आवश्यक छ ।” रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter