क्वारेन्टाइन कथा: कतै बिजोग, कतै रहरलाग्दो
घोडाघोडी, असार १ गते । विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस समुदायस्तरमा फैलिन नदिन स्थानीय तहले पालिकामा रहेका विद्यालयलाई क्वारेन्टाइनका रूपमा विकास गरेर भारतलगायत विभिन्न ठाउँबाट आएकाहरूलाई व्यवस्थापन गरिरहेका छन् । कैलालीमा विभिन्न पालिकामा स्थापना गरिएका क्वारेन्टाइन मापदण्डअनुसार नहुँदा भने जोखिम पनि बढेको छ ।
स्थानीय पालिकाले मापदण्ड विपरीतका क्वारेन्टाइन निर्माण गरेर व्यवस्थापन गरिरहेको जिकिर गरिरहँदा सुदूरपश्चिममा कोरोना सङ्क्रमण देखिएकाहरू अधिकांश क्वारेन्टाइनमै बसेकाहरू रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक गुणराज अवस्थीले बताउनुभयो । निर्देशक अवस्थीका अनुसार मापदण्ड विपरीतका क्वारेन्टाइन कोरोना सङ्क्रमणको केन्द्र बनेकाले व्यवस्थित बनाउनुपर्छ ।
घोडाघोडी नगरपालिका–३ मा रहेको सरस्वती आधारभूत विद्यालयमा सञ्चालित क्वारेन्टाइनको अवस्था दयनीय छ । एउटै कोठामा १५ जनासम्म बसेका छन् । क्वारेन्टाइन स्थलमा शौचालय नहुँदा राति बाहिर गएर शौचालय गर्नुपर्ने बाध्यता छ । शुद्ध पिउने पानीको अभाव, विद्युत्, गर्मी जस्ता समस्या क्वारेन्टाइनमा रहेको छ । यो घोडाघोडी नगरपालिकाको क्वारेन्टाइनको उदाहरण मात्र हो । नगरपालिकाले पालिकाका सामुदायिक विद्यालय तथा सार्वजनिक भवनलाई प्रयोग गरेर ६५ क्वारेन्टाइन बनाएको छ ।
नगरपालिकाले सञ्चालन गरेका एकदुई क्वारेन्टाइनबाहेक हरेकमा समस्या छ । क्वारेन्टाइनको मापदण्ड पूरा नभएका कारण क्वारेन्टाइनबाटै सङ्क्रमण फैलने जोखिम पनि छ । घोडाघोडीमै केही राम्रा व्यवस्थापन भएका क्वारेन्टाइन पनि छन् । नगरपालिका वडा नम्बर १० मा रहेको कान्ति माविमा सञ्चालित क्वारेन्टाइनमा बसेकाहरू पारिवारिक वातावरणमा बस्न पाएको बताउँछन् । क्वारेन्टाइनमा बसेर भर्खरै घर फर्किनुभएका घोडाघोडी–१० का नीरज नेपाली भन्नुहुन्छ, ‘बिहानै चिया खाजा, अनि खाना दिउँसो खाजा, फेरि साँझ खाना खाइन्थ्यो क्वारेन्टाइनमा, यस्तो राम्रो व्यवस्थापनमा बस्न पाइएला सोचेकै थिएनाँै’ । स्वयंसेवकहरुको आत्मीय व्यवहारले क्वारेन्टाइन बसाइ झनै सजिलो भएको नेपालीको भनाइ छ ।
गौरीगंगा नगरपालिका–९ का तीन विद्यालयमा रहेका क्वारेन्टाइन जिल्लाका अरु ठाउँका भन्दा फरक छन् । त्यहाँका क्वारेन्टाइनको व्यवस्थापनमा युवाहरू स्वतःस्फूर्त लागेका छन् । हरेक क्वारेन्टाइनमा प्रत्येक दिन बिहान योग प्रशिक्षण गराइन्छ । मनोविमर्शकर्ताबाट क्वारेन्टाइनमै मर्नोपरामर्श दिइन्छ र प्रत्येक दिन बेलुकी शारीरिक व्यायाम गर्न प्रेरित गरिन्छ । वडामा सञ्चालित क्वारेन्टाइन व्यवस्थापनमा लागेका युवाको नेतृत्व गर्नुभएका मिलन ओली ‘विपत्को बेला सबै एकजुट भएर अघि बढ्नुपर्ने हुँदा युवाहरू मिलेर व्यवस्थापन तथा खटनपटनमा लागेका हौँ’भन्नुहुन्छ ।
क्वारेन्टाइनमा बसेकाहरूका लागि मनोविमर्शकर्ताबाटै क्वारेन्टाइन स्थलमै मनोपरामर्शको व्यवस्थापन गर्ने आफूहरु मात्र भएको जिकिर गौरिगंगा–९ का वडाध्यक्ष हरिप्रसाद तिवारी गर्नुहुन्छ ।
भारतबाट आउने क्रम बढ्नु तथा देशभित्रै अन्य स्थानबाट जिल्ला भित्रिने क्रम वृद्धिले क्वारेन्टाइनमा बस्नेको सङ्ख्या एक्कासि बढेपछि मापदण्ड कायम गर्न नसक्दा सामूहिक बसाइले जोखिम बढेको व्यवस्थापनमा लागेकाहरु नै बताउँछन् । रासस