जोखिमयुक्त ठाउँमा निसङ्क्रमण गर्दै काठमाडौँ महानगर
काठमाडाैँ, भदाै ५ गते । काठमाडाैँ महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथामका लागि निसङ्क्रमण गर्न शुरू गरेकाे छ । सङ्क्रमण देखिएका र जोखिमयुक्त क्षेत्रसँगै सार्वजनिक स्थानहरुमा निसङ्क्रमण गर्ने कार्यलाई निरन्तरता दिएको काठमाडौँ महानगरपालिकाको भनाई छ ।
काठमाडौँ महानगरपालिकाले टेकु, वीर अस्पताल, कालीमाटी फलफुल बजारलगायतका स्थानमा सुरुदेखि नै डीस–इन्फेक्टेन्ट कार्यलाई निरन्तरता दिदैँ आएको थियो । सङ्क्रमण देखिएका ठाउँ, अस्पताल क्षेत्र र सार्वजनिक क्षेत्रमा निसङ्क्रमण गर्ने कार्यलाई अहिले पनि निरन्तरता दिएको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ । यसका लागि दैनिक १० वटासम्म सवारी र उपकरण परिचालन गर्ने गरिएको पनि काठमाडौँ महानगरपालिकाको भनाई छ । महानगरले ‘प्रत्येक वडासँग समन्वय गर्न ५ वटा अनुगमन टोली समेत परिचालन गरेका छ ।
महानगरका नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाले पनि सङ्क्रमण देखिएका ठाउँ, अस्पताल क्षेत्र र सार्वजनिक ठाउँलाई निसङ्क्रमण गर्ने कार्यलाई अहिले पनि निरन्तरता दिदैँ आएको जानकारी दिनुभयो । ‘मुख्य गरेर कालीमाटी, बल्खलगायतका बढी भीडभाड हुने तरकारी बजार, महानगरीय ट्राफिक प्रहरी महाशाखा, अस्पताल क्षेत्र र कोरोना सङ्क्रमित भेटिएका ठाउँलाई प्राथमिकतामा राखेर निसङ्क्रमण गर्ने कार्यलाई निरन्तरता दिएका छौँ,’ उहाँले भन्नुभयो ।
एकसरो काठमाडौँ महानगरका ३२ वटै वडामा पुगिसकेका छाैँ । वडाबाट माग भएका ठाउँमा पठाउने गरेका छाैँ ।’ उहाँले निसङ्क्रमण गर्ने प्रचलित मापदण्डबमोजिमको रसायन प्रयोग गरेर काम गरिरहेको जानकारी दिनुभयो । ‘जनस्वास्थ्य सुरक्षाका लागि यो जरुरी छ । यसलाई हामी भाइरसको सङ्क्रमण निस्तेज नहुञ्जेल जारी राख्छाैँ,’ उहाँले भन्नुभयो ।