व्यावसायिक कृषि गर्नेको आम्दानी वार्षिक ७–८ लाख रुपियाँ
प्रमोदकुमार टण्डन :
त्यस्तै ७–८ वर्ष जति अघि उत्तरी मकवानपुरको घर्तिखोलाका युवा प्रकाश विष्टलाई गाउँकै काका पर्नेले अह्राए, ‘८–१० रोपनी खाली जग्गा खोजिदिनुप¥यो एक जना साथीका लागि ।’ प्रकाशले जग्गा किन चाहिएको रहेछ भनेर बुझे । अमेरिकामा बसोबास गर्दै आएको एक जना नेपालीले आफु र आफ्नो परिवारलाई पुग्ने तरकारी आफै अर्गानिक उत्पादन गरेर खाने बस्ने सोख पुरा गर्न जग्गा खोजेको रहेछ ।
त्यो व्यक्तिको सोख सुनेर उनी झसङ्ग भए । सबैले एकपटक पुगे के के न गर्छु भनेर सपना देख्ने । अमेरिका गएर सबै थोकमा सम्पन्न भैसकेको मानिसको आफैले उत्पादन गरेको तरकारी खाएर बस्ने सोखले उनको तेस्रो आँखा खोल्यो । ‘अमेरिकामा लाखौं कमाउनेले भाडामा जग्गा लिएर तरकारी रोप्ने सपना देखिरहेका छन् तर तरकारी खेतीकै प्रख्यात ठाउँका स्थानीयलाई यतातिर ध्यानै छैन ।’
त्यो मानिसको सोखले प्रकाशलाई यति धेरै छोयो कि उनले सरकारी जागिर खाने मानसिकता तत्कालै त्यागे । अनि सुरु गरे व्यावसायिक तरकारी खेती । थाहा नगरपालिका वडा न. ६, मकवानपुर घर्तिखोलामा उनले गरिआएको भन्दा व्यावसायिक रुपले आलु, काउली, बन्दा, मुला, टमाटर, भेडे खुर्सानी, गाजर, धनियाँ आदिको खेती गर्न थाले । अन्यत्र तरकारी खासै नहुने जेठदेखि कात्तिक सम्मको बेला दामन–घर्तिखोला–पालुङ क्षेत्रमा मनग्ये बेमौसमी तरकारी उत्पादन हुन्छ ।
जनजिविकाको लागि मात्रै भन्दा पनि धेरै ठाउँ छुट्याएर व्यावसायिक हिसावले तरकारी खेती गर्न तालिम गोष्ठी र कार्यक्रम छुटाएनन् उनले । सगोलको घरको ३५–३६ रोपनी जग्गामा खेती गर्दा २०६५ सालतिर वार्षिक आम्दानी ४–५ लाख रुपैंया हुन्थ्यो । अहिले व्यावसायिक खेतीको आम्दानीले समग्र जग्गा ७० रोपनी भन्दा बढि भैसकेको छ । त्यस्तै वार्षिक आम्दानी ८ लाख रुपैंया पुगेको छ । जसबाट करिव ६ लाख रुपैंया बचत हुन्छ ।
‘सिजनको मात्रै भर नपरेर बाह्रैमास चक्रिय प्रणालीमा व्यावसायीक रुपले गर्न सक्यो भने तरकारीबाट मनग्ये आम्दानी गर्न सकिँदो रै’छ’ विष्ट भन्छन् ‘व्यावसायिक सोचले गर्नु पर्यो, कृषिबाटै मासिक ३५–४० हजार कमाउन गाह्रो छैन । १५–२० हजारको लागि विदेशीनु पर्दैन ।’
५ वर्ष भयो उनका भाई–भाई भिन्न भएको । साँहिला भाई सिजनमा मात्रै नभएर बाह्रैमास व्यावसायीक तरकारी खेती र पशुपालन गर्छु भनेर दम्कीबजार भन्दा मास्तिर सरे । घर निर्माण, तरकारी खेती, बाख्रापालन, बाख्रा फार्म, रेन्बो ट्राउटको सुरुवात सबै गर्दा अहिलेसम्म नयाँ ठाउँमा करिव २० लाख रुपैंया खर्च भैसकेको उनी बताउँछन् । जम्मा ८ रोपनीमा गरिआएको व्यावसाय संचालन सबै तरकारी खेतीबाट गरेको आम्दानीबाट भएको थियो ।
हाल उनी एक्लैले वार्षिक १२ देखि १३ टन अर्थात् ३–४ लाख रुपैंयाको काउली, १० देखि १२ टन अर्थात् १.५–२ लाख रुपैंयाको आलु र अरु गरि ५ देखि ६ टन अर्थात् डेढ लाख रुपैंयाभन्दा बढीको तरकारी बिक्रि गर्दै आएका छन् । सबैभन्दा राम्रो काउली, बन्दा र सोझा मुला पोखरा पुग्दछन् । पोखरासँगै बुटवल, नारायणघाट, वीरगंज र काठमाडौंसम्म उनको तरकारी पुग्दछ ।
जिल्ला कृषि विकास कार्यालयबाट पाइने सबै प्रकारका तालिमका अलावा उनले ट्राउट माछा, कन्ये च्याउ र बाख्रा पालनको समेत प्राविधिक तालिम लिइसकेका छन् । २०६७ मा आफूसँगै युवाहरुको जमातलाई कृषिमा व्यावसायिक रुपमा आवद्ध गर्न लेकाली कृषक समूह गठन गरेर संस्थागत चेतना विस्तारमा लागेका छन् । एक छोरी सहित तिन जनाको परिवार खुसीमा रमेको छ । कुनै बेला सेनामा भर्ना हुने सपना साँचेका ३४ वर्षिय विष्ट भन्छन् ‘जागिरे भएको भए आफुले गरेको उत्पादन खाएर, बेचेर, त्यसैबाट पैसा कमाएर सधै आफ्नै घर–आगनमा परिवारसँग रमाउन कहाँ पाइन्थ्यो ?’
‘हदै भएको भए हवल्दारसम्म हुन्थेँ होला, काठमाडौंमा कतै डेरामा खुम्चिनुपथ्र्यो,’ उनले भने ‘शहरमा २–४ दिन नाकाबन्दी भए पैसा भएर पनि खान पाइन्न तर यहाँ बाहै्रमास बाहिरबाट केही नआए पनि सबथोक पाइन्छ । त्यो पनि आफैले उत्पादन गरेको अर्गानिक ।’ उनले बाख्रापालन सुरुवात गरेसँगै बारीका कान्ला र यत्तिकै खेर गैरहेको भू–भागमा ५०० गाँज अमृसो लगाएका छन् । एउटा अमृसोको गाँजबाट कम्तीमा ५ ओटा कुचो बन्छ भने घाँस बाख्रालाई आहारा बन्छ ।
उनले आलु, अदुवा, प्याजको भण्डारण र बिउको लागि २५ टन क्षमताको प्राकृतिक कोल्ड स्टोर बनाएका छन् । जसको लागि जिल्ला कृषि विकास कार्यालयबाट २ लाख ५० हजार, प्लान नेपालबाट १ लाख ५० हजार, दामन गाविसबाट ६० हजार र २० प्रतिशत बराबरको जनश्रमदान प्राप्त भएको छ । घर्तिखोला रेन्बो ट्राउटको लागि सबैभन्दा उपयुक्त क्षेत्र छ भन्ने थाहा पाएपछि उनले एक वर्ष अघि तालिम लिएर रेन्बो ट्राउट पालन सुरु गरेका छन् । त्यस्तै बाख्रापालन पनि भर्खर सुरु छ ।
अमेरिकामा मेसिनरी जीवन बिताइरहेको एक जना मानिसको ‘नेपालमा आएर आफुलाई चाहिने तरकारी आफै उत्पादन गरेर खाने’ सोखबाट प्रेरणा लिएर सामान्य खेतीकिसानी सुरु गरेका उनी दामन–पालुङदेखि मकवानपुरमै प्रख्यात कृषक भैसकेका छन् । रेन्बो ट्राउट र बाख्रापालनको व्यवस्थापन पश्चात स्थानीय उत्पादनकै परिकारमा आधारित कटेज (होटल) स्थापना गर्ने उनको सोँच छ ।
अहिलेसम्मको उपलव्धिबारे उनी भन्छन्, ‘हिँजो आफ्नो परिचय दिँदा, कृषक हुँ भन्दा सबैले नाक खुम्च्याउँथे, अचेल खोजीखोजी सफल युवा कृषक भन्दै घरमै आएर गरेको काम हेर्छन् । ३३–३४ वर्षका कोही खाडी मुलुकमा मासिक १५–२० हजारको लागि रगत–पसिना एक गर्दै होलान् । मैले आफू हुर्केको कृषि परिवेशलाई व्यावसायिक मात्र बनाएको हो । त्योबापत घरमै बसेर इज्जत र रकम दुबै कमाएको छु ।’
उच्च शिक्षा अध्ययन गर्न नपाएकोमा उनलाई कुनै गुनासो छैन । ‘धेरै पढेको भए त्यैअनुसारको जागिरको दौडमा कहाँ हराउथेँ होला, यसरी कृषि पेशालाई इज्जतिलो र गतिलो पेसा भनेर चिनाउन र चिनिन पाउन्नथेँ’ उनले भने ‘मलाई यसैमा सन्तुष्टि छ ।’
कृषि सेवा केन्द्र शिखरकोट मकवानपुर अनुसार दामन–पालुङ उपत्यकामा कृषिकै लागि दत्तचित्त भएर लाग्ने युवा करिव ३० जना छन् । त्यसमध्ये प्रकाश विष्ट जस्ता व्यावसायिक रुपमै लाग्नेहरु करिव १५ जना छन् । ‘प्रकाश विष्ट जस्ता व्यावसायिक र कृषिमा नेतृत्वदायी भूमिका खेल्ने युवाका कारण दामन–पालुङका युवा कृषिमै आकर्षित छन्’ केन्द्रका जेटिए मधुसुधन आचार्यले भने ‘अँझै यस्तै व्यावसायिक युवा थप १५–२० जना भए उपत्यकाको कृषि प्रणाली नै फेरिने थियो ।’
उनले व्यावसायिक र नेतृत्वदायी भूमिकामा कम युवा देखिए पनि सेवा केन्द्रमा आउने र सरसल्लाह लिएर नियमित धेरथोर तरकारी खेती गर्ने युवाको संख्या उपत्यकामा उल्लेख्य भएको बताए । वार्षिक करिव ३० करोडको तरकारी निर्यात हुने यस दामन–पालुङका भित्री भागहरु घर्तिखोला, बज्रबाराही क्षेत्रमा पनि युवाहरु कृषिमै सक्रिय रहेका छन् । तस्बिर : टण्डन