सभामुखमा ओनसरी घर्ती निर्वाचित, उपसभामुखमा यादव निर्वाचित
काठमाडौँ, २९ असोज । नेपालको संविधान लागू भएपछि व्यवस्थापिका–संसद्को सभामुख पदमा एकीकृत नेकपा (माओवादी)का सांसद् ओनसरी घर्ती निर्विरोध निर्वाचित हुनुभएको छ ।
विसं. २०४६ को प्रजातान्त्रिक परिवर्तनपछि आठौँ सभामुख हुनुभएका घर्ती पहिलो महिला सभामुख पनि हुनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सो पदमा अर्का उम्मेदवार नेपाल मजदुर किसान पार्टीका सांसद अनुराधा थापामगरको उम्मेदवारी फिर्ता भएपछि घर्ती निर्विरोध निर्वाचित हुनुभएको हो । बैठकको अध्यक्षता गरिहनुभएका ज्येष्ठ सदस्य लक्ष्मण राजवंशीले घर्तीको सो पदमा एक मात्र प्रस्ताव कायम रहेकाले निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो ।
घर्ती निवर्तमान उपसभामुख हुनुहुन्छ । घर्तीको प्रस्तावकमा नेकपा (एमाले) का सांसद विद्यादेवी भण्डारी र समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का सांसद् कुन्तीकुमारी शाही र बहुजन शक्ति पार्टीका सांसद् विश्वेन्द्र पासवान हुनुहुन्थ्यो । घर्तीलाई प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि समर्थन गरेको थियो ।
व्यवस्थापिका–संसद्को उपसभामुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सांसद गङ्गाप्रसाद यादव निर्विरोध निर्वाचित हुनुभएको छ ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा सो पदमा एकमात्र उम्मेदवारी रहेकाले यादव निर्विरोध निर्वाचित हुनुभएको हो । उहाँलाई निर्वाचित गरियोस् भनी नेकपा (एमाले) का सांसद शत्रुधन महतोले प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
महतोले वडाध्यक्षदेखि सांसद हुँदै राजनीतिक अनुभव प्राप्त गर्नुभएका यादवलाई सो पदमा निर्वाचित गराउन आग्रह गर्नुभयो ।
प्रस्तावलाई समर्थन गर्दै एमाओवादीका सांसद रेखा शर्माले समावेशी र समानुपातिक आधारमा संविधानको कार्यान्वयनका क्रममा निर्विरोध रूपमा सो पदमा निर्वाचित गराउन आग्रह गर्नुभयो ।
बैठकको अध्यक्षता गरिरहनुभएका ज्येष्ठ सदस्य लक्ष्मण राजवंशीले यादवको सो पदमा एक मात्र प्रस्ताव कायम रहेकाले निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो । उहाँले नवनिर्वाचित यादवलाई बधाई दिँदै सफल कार्यकालको कामना गर्नुभयो ।
सो पदमा नेपाल मजदुर किसान पार्टीका सांसद डिल्लीप्रसाद काफ्लेले उम्मेदवारी दर्ता गराए पनि लिखितरूपमा फिर्ता लिइएकाले यादवको मात्र उम्मेदवारी कायम रहेको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उम्मेदवारी नदिएपछि निर्विरोध हुनुभएको हो ।
यही असोज २४ गते प्रधानमन्त्री पदमा निर्वाचन भए पनि आजको सभामुख र उपसभामुख निर्विरोध निर्वाचित हुनुले सत्तापक्ष र प्रतिपक्षका बीचको दूरी घट्ने अनुमान गरिएको छ ।
संसद्को अर्काे बैठक आगामी कात्तिक ७ गते शनिबार दिउँसो ३ बजे बस्नेछ । रासस