बाह्र ट्यांकर धुन्चे आइपुगे, चालकलाई स्वागत
रसुवा १३ कात्तिक । नेपाललाई चीनले सहयोग दिने पेट्रोलियम पदार्थ ढुवानी गर्न आएका ट्यांकर चालकलाई आज साँझ रसुवा नागरिक समाजले धुन्चेमा स्वागत गरेको छ ।
सो समाजका अध्यक्ष बाबुलाल तामाङले देशको बढ्दो इन्धन समस्या समाधान गर्न नेपाल आयल निगममार्फत आएको ट्यांकरका चालक र सहचालकको मनोबल उच्च पार्न रसुवाली नागरिकका तर्फबाट स्वागत गर्नुभयो । उनीहरुलाई खादा लगाई स्वागत गरिएको थियो ।
बाह्र हजार लि क्षमताका १२ ट्यांकर धुन्चेबाट ३० किमी उत्तर सीमावर्ती क्षेत्र रसुवागढीका लागि सदरमुकाम धुन्चेबाट अहिले साँझ नै प्रस्थान गरिसकेको प्रहरी नायब उपरीक्षक अवधेश विष्टले जानकारी दिनुभयो ।
नागरिक समाजले गरेको स्वागत र स्थानीय बासिन्दा, सुरक्षाकर्मी पत्रकारलगायत सबैले गरेको सहयोग सम्मानबाट पासाङ ल्हामु मार्गमा पेट्रोलियम पदार्थ निरन्तर रुपमा बोक्ने हौसला बढेको ना४ ख. ४२१७ का ट्यांकर चालक विवेक लामाले बताउनुभयो ।
शनिबार नेपालको उत्तरी नाका रसुवागढीमा एक कार्यक्रमका बीच चीन सरकारले नेपाललाई पेट्रोलियम पदार्थ हस्तान्तरण गर्ने कार्यक्रम तय भएको स्थानीय प्रशासनले जनाएको छ ।
सांसद्बाट स्वागत
रसुवाका सांसदद्वय जनार्दन ढकाल र छोवाङ तेन्जिङ लामाले भारतको अघोषित नाकाबन्दीबाट नेपाललाई अन्याय गरेको अवस्थामा एउटा असल मित्र राष्ट्रलाई चीन सरकारले पेट्रोलियम पदार्थ आपूर्ति गराउनु स्वागतयोग्य भएको र यसबाट छिमेकीलाई हेप्नु हुँदैन भन्ने पुष्टि भएको बताउनुभयो ।
उहाँहरुले भन्नुभयो, “भारतको अन्यायविरुद्ध विकल्प खोज्न नेपाल सरकारलाई हामीहरुले सुझाव दिएका थियौँ, प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयासबाट नेपाली जनताको हितका लागि इन्धन भित्र्याउन सफल भएकामा हामी खुसी छौँ ।” रासस